स्वास्थ्य बिमा सबै स्थानीय तहमा पुर्‍याउन सरकारलाई निर्देशन

हिमाल प्रेस १३ असार २०८० १८:३१
2
SHARE
स्वास्थ्य बिमा सबै स्थानीय तहमा पुर्‍याउन सरकारलाई निर्देशन

काठमाडाैँ- संसद्‍काे दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बिमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच विस्तार गर्न निर्देशन दिए।

उनले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति, उपचार प्रक्रिया सरल बनाइ दक्ष जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिए। समितिले सुर्तिजन्य पदार्थमा लगाउने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था गर्न निर्देशन दिएको हाे।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा सुधार गर्न आवश्यक रहेकाे स्वीकार गरे। ‘स्वास्थ्य बिमा कार्यक्रम चुस्तदुरुस्त बनाउन नसकेको स्वीकार गर्छाैँ। कमीकमजोरीलाई सुधार गरी प्रभावकारी कार्यान्वयन गर्नेछौँ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य बिमाको दुरुपयोग रोक्न र बीमितको स्वामित्व बढाउनुपर्ने बताए। ‘बीमित आफैले बिमा रकमका लागि चिकित्सकसँग सिफारिस माग्दा दुरुपयोग बढेको छ,’ उनले भने, ‘बीमितले पनि स्वामित्व ग्रहण गर्ने गरी संयुक्त भुक्तानीको व्यवस्था गर्न आवश्यक देखिन्छ।’

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदार बसौलाले कर्मचारी अभावका कारण बोर्डको काम प्रभावित भएको बताए। उनले बीमितका लागि प्रथम सेवा बिन्दु तोक्न नसक्दा विशिष्टकृत सेवा अस्पतालमा भीडभाड बढेको बताए।

उनले ४०७ स्थानीय तहमा सेवा प्रदायक संस्था नहुँदा पनि बिमा प्रभावकारी बन्न नसकेको गुनासो गरे। बैठकमा समितिले स्वास्थ्य बिमामा दोहोरोपना, औषधि अभाव, सेवा प्रवाह चुस्त नभएको र यसप्रति घट्दो आर्कषणबारे मन्त्रालय र बोर्डसँग जवाफ मागेको थियो।

समिति सदस्य कमला पन्तले बोर्डलाई मासिक भुक्तानी दिन सुझाव दिए। सदस्य भुवनबहादुर सुनारले स्वास्थ्य बिमा झन्झटिलो बनेको भन्दै सेवा सरलीकृत गर्नमा जोड दिए।

सदस्य तुलप्रसाद विश्वकर्माले कर्मचारीले बीमितप्रति गर्ने व्यवहार सुधार गर्न कर्मचारीका लागि परामर्शको व्यवस्था गर्न सुझाव दिए। बोर्डका अनुसार स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७ सय ४९ स्थानीय तहमा विस्तार भएको छ। चार सय ५९ वटा सेवा प्रदायक स्वास्थ्य संस्था नवीकरण नहुँदा बीमित हुने र नवीकरण हुने दर घटेको हो।

चालु आवको वैशाख मसान्तसम्म २० लाख ९३ हजार १ सय ७० परिवारका ६७ लाख ६४ हजार ६ सय ४४ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएकाेमा हालसम्म ४१ लाख १७ हजार ७ सय ८ जनाले मात्रै नवीकरण गराएका छन्। स्वास्थ्य बिमा कार्यक्रम लागू भएदेखि अहिलेसम्म सेवा प्रदायक संस्थालाई ३१ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ। रासस

प्रकाशित: १३ असार २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =