स्वास्थ्य उपचारमा ललितपुर महानगरको नयाँ कदम, पाटन अस्पतालसँग समझदारी

हिमाल प्रेस २५ पुष २०८० १२:२९
1.8k
SHARES
स्वास्थ्य उपचारमा ललितपुर महानगरको नयाँ कदम, पाटन अस्पतालसँग समझदारी

ललितपुर– ललितपुर महानगर पालिकाले स्वास्थ्य बिमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ।  समझदारीपत्रमा ललितपुर महानगरमा बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरका पदाधिकारीबीच हस्ताक्षर भएको हो। पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. पारसकुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा महानगर प्रमुख महर्जनले स्वास्थ्य क्षेत्र महानगरको प्राथमिकतामा रहेको बताउँदै बिमितहरूले अब्बल स्वास्थ्य सेवा प्राप्त गर्ने बताए। स्वास्थ्य क्षेत्रमा विशेष पहिचान बनाएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा खुसी भएको पनि प्रमुख महर्जनले बताए।

उनले भने, ‘स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रममा धेरै राम्रो हुने विश्वास लिएको छु।’ ललितपुर महानगरले नागरिकको जीवनस्तर सहज बनाउने कार्यक्रम र योजनालाई प्राथमिकता दिँदै आएको जानकारी महर्जनले दिएका छन्।

उनले भने, ‘स्वास्थ्य क्षेत्रमा हामीले गरेको खर्च पुगेको छैन।अब हामी बढाउनेछौँ।’ ललितपुर महानगरले गरेका असल अभ्यासलाई मुलुकका अन्य पालिकाले पनि अनुकरण गरिरहेको उनको भनाइ छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई योग्य ठानेर मौका दिएको भन्दै महानगर प्रमुखलाई धन्यवाद दिए। उनले भने, ‘महानगरको स्वास्थ्य बिमा कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुलुककै जेठो नगरपालिका ललितपुर महानगरले पाटन अस्पताल जस्तो विशेष छवि बनाएको संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए।

ललिपुर महानगरले महानगरको १०५ औँ स्थापना दिवसका दिन अपांगता भएका दुई व्यक्तिलाई बिमा कार्ड प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो।

महानगरले वडाबाट बिमितहरूको तथ्यांक संकलन गर्न दर्ता सहयोगी छनोट गरिसकेको छ। दर्ता सहयोगीले तालिमपछि नाम संकलन गर्नेछन्। फागुन १ गतेदेखि बिमा कार्यक्रम सबैका लागि लागू हुने महानगरपालिको जनाएको छ। समझदारीपत्रअनुसार पाटन अस्पतालले विशेषज्ञ चिकित्सकसहितको बहिरंग सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा,रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउनेछ।

स्वास्थ्य बिमाअन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिएबमोजिमको ढाँचामा राख्ने र स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ। समझदारीको अवधि १० वर्षसम्म रहने जनाइएको छ।

प्रकाशित: २५ पुष २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =