पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा

हिमाल प्रेस १० जेठ २०८० १०:२४
4
SHARES
पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा

पर्वत– स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन। पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन्।

राष्ट्रिय जनगणना, २०७८ का अनुसार पर्वतको कुल जनसंख्या एक लाख ३२ हजार ३ सय ५२ रहेको छ। यीमध्ये २४ प्रतिशतले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्डको सम्पर्क कार्यालयका संयोजक तथा जनस्वास्थ्य निरीक्षक टीका श्रीसले जानकारी दिइन्।

कुश्मा नगरपालिकाको कुल जनसंख्या ३८ हजार सात सय ७४ रहेकामा ११ हजार ७३ जनाले बिमा गरेका छन् भने महाशिला गाउँपालिकाका ८ हजार २ सय ३३ जनामध्ये एक हजार ६३ जनाले बिमा गरेका छन्। बिहादी गाउँपालिकाको जनसंख्या १२ हजार पाँच सय २१ रहेकामा तीमध्येका १ हजार ६ सय ७४ जनाले बिमा गरेका छन्। जुन त्यहाँको जनसंख्याको १३ प्रतिशत हो।

जलजला गाउँपालिकामा भने बिमा गर्ने धेरै छन्। सातवटा स्थानीय तहमध्ये तेस्रो धेरै स्वास्थ्य बिमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन्। जलजलाको जनसंख्या २१ हजार ३ सय ७५ रहेकामा तीमध्येका पाँच हजार चार सय २९ जना बिमाको पहुँचमा आएका छन्।

मोदी गाउँपालिकाका नागरिक बिमा गर्नेको प्रतिशतको दोस्रो स्थानमा रहेका छन्। अठार हजार १८ जनसंख्या रहेको मोदी गाउँपालिकामा चार हजार सात सय ९८ अर्थात् झण्डै २७ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन्। पैयुँ गाउँपालिकाका १२ हजार सात सय पाँच नागरिकमध्ये ३ हजार ६४ जनाले अर्थात् २४ प्रतिशतले बिमा गरेका छन्।

यस्तै २० हजार सात सय २६ जनसंख्या रहेको फलेवास नगरपालिकाका २३ प्रतिशत अर्थात् चार हजार सात सय ९६ जनाले स्वास्थ्य बिमा गरेका श्रीसले जानकारी दिनुभयो। नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकताअनुसार सूचित गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाको क्षेत्रमा काम गर्ने कर्मचारीले बताएका छन्।

वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीलाई तालिम अभावका कारण सेवाग्राहीले बिमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहजरूपमा बिमितले उपचार सेवा र औषधि नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयमा आवश्यक जनशक्ति अभाव, वडामा कार्यरत स्वास्थ्य बिमा दर्ता सहयोगीको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएकोलगायत कारणले समस्या भइरहेको उनीहरूको भनाइ छ। -रासस

प्रकाशित: १० जेठ २०८० १०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =