स्वास्थ्य बिमा भुक्तानी प्रक्रिया सरल बनाउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २५ चैत २०८० १०:४६
14
SHARES
स्वास्थ्य बिमा भुक्तानी प्रक्रिया सरल बनाउन प्रधानमन्त्रीको निर्देशन आठौँ स्वास्थ्य बिमा दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा वृद्धवृद्धालाई जेष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउन भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन्।

आठौँ स्वास्थ्य बिमा दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बिमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्।

‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, प्रविधिमैत्री बिमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौती लक्षित सुधारका योजनाहरू हुन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बिमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकांक्ष पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्र्छ। यसका लागि सरकार सधैँ प्रतिबद्ध छ।’

कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवाप्रदायक निकायबाट लिनुपर्ने महत्त्वपूर्ण कार्यभारहरूलाई पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले बिमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमा ध्यान निर्देशन दिए। उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बिमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बिम रकमलाई बढोत्तरी गरी स्वास्थ्य कार्यक्रममा आकर्षण एवं प्रभावकारिता बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने बताए।

प्रकाशित: २५ चैत २०८० १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =