कर्णालीमा १८ सय लागुऔषध प्रयोगकर्ता

हिमाल प्रेस ११ असार २०८० १९:२६
8
SHARES
कर्णालीमा १८ सय लागुऔषध प्रयोगकर्ता

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा १८ सय ११ जना लागुऔषध प्रयोगकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले आज (सोमबार) आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको लागुऔषधविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक वर्ष कर्णालीमा लागुऔषध कारोबारी एवम् प्रयोगकर्ता थपिँदै गएको बताएका हुन्।

‘आर्थिक वर्ष २०७६/०७७ मा १०६ पुरुष, सात महिला प्रहरी नियन्त्रणमा आएका थिए भने २०७७/७८ मा १६४ पुरुष र ८ महिला हिरासतमा पुगेका थिए,’ उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्म कर्णालीका कारागारमा १५० जना पुरुष र १३ जना महिला लागुऔषध कारोबार तथा सेवनको आरोपमा हिरासतमा पुगेका छन्।’

उनले पछिल्लो समय यातायात र लागुऔषध एक अर्काको परिपूरकजस्तै भइसकेको बताए। ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोबार बढ्दै गइरहेको छ,’ उनले भने, ‘यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँदै शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।’

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जीसी जितेन्द्रले अब लागुऔषध नियन्त्रणका लागि आवश्यक कानुन, कार्यविधि तथा योजनाहरू बनाउन ढिलो गर्न नहुने बताए।

‘अब हामी सरुवा रोग जस्तो लागुऔषधलाई नियन्त्रण गर्न आवश्यक कानुन बनाउने काम गर्छौं। यसलाई न्यूनीकरण गर्नका लागि आवश्यक संयन्त्र निर्माण गर्छौं,’ प्रदेश सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘यसको नियन्त्रण गर्न लागुऔषधविरुद्ध सामाजिक अभियानकै रूपमा विद्यालय, घरपरिवार र समाजमा लैजान आवश्यक छ।’

प्रकाशित: ११ असार २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =