लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, खुसी व्यवसायी

हिमाल प्रेस ९ असार २०८० १३:४०
6
SHARES
लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय, खुसी व्यवसायी

पोखरा- कोरोना महामारीले थला परेको पोखराको पर्यटन व्यवसाय लयमा फर्किएको छ। व्यवसाय लयमा फर्किएसँगै यहाँका व्यवसायी खुसी भएका छन्। पछिल्लो समय यहाँ अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रम आयोजना भएसँगै पर्यटन व्यवसाय पनि लयमा फर्किएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरूको भनाइ छ। कोरोना महामारीपछि पर्यटन प्रवद्र्धनका लागि सरकारले विशेष चासो दिनुपर्ने भए पनि कुनै चासो नदिइएको व्यवसायीको गुनासो छ।

देशको आर्थिक अवस्था सुदृढ पार्न पनि पर्यटन प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको व्यवसायी बताउँदै आएका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायी खुसी भएका बताए।

व्यवसायीले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पहल गरेकाले पर्यटक आगमन बढेको उनको भनाइ थियो। पछिल्लो समय ड्रागन बोट रेस फेस्टिबल र अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय र चिनियाँ नागरिक पोखरामा उल्लेख्य आएका थिए।

उनीहरूबाट अन्य पर्यटक पनि आउने वातावरण बनेको श्रेष्ठले बताए। ‘कोरोनापछि अहिले पर्यटनले लय लिएको छ, राहत महसुस गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हामीले पनि विभिन्न देशमा गएर पर्यटन प्रवद्र्धन गर्दा नतिजा राम्रो आएको छ। भारतीय र चिनियाँ नागरिकहरूबाट पोखराको पर्यटन व्यवसायमा सहयोग पुगेको छ। ड्रागन बोट फेस्टिभलले पनि यहाँको माहोल तातेको छ।’

त्यस्तै होटल एसोसिएसन अफ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटक बढ्दा व्यवसायीमा आशा पलाएको बताए। पोखरामा पर्यटक बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरूका लागि पोखरा प्रशिक्षणस्थल बन्ने गरेको उनको भनाइ थियो।

प्रकाशित: ९ असार २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =