‘मिलिनियम ट्रेक’ नियाल्दा

सागर श्रेष्ठ १४ वैशाख २०८१ १६:१५
30
SHARES
‘मिलिनियम ट्रेक’ नियाल्दा पञ्चमुखी शिवालय धाम।

काठमाडौँ- पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरूको कथा चिनाउने माध्यम बनेको ‘मिलिनियम ट्रेक’ अर्थात् सहस्राब्दी पदयात्रा अहिले धेरैको रोजाइमा पर्न थालेको छ। तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो पदयात्रामा गुरुङ र मगरको संस्कृतिसँगै विभिन्न विभिन्न इतिहास, परम्परा, गाउँले जीवनशैलीका साथै भूगोल जान्ने अवसर पनि हो।

पदयात्राका क्रममा लाहुरबाट फर्किएर डाँडामा जीवन बिताइरहेका बुढापाकाहरू र रोजगारीको खोजीमा युवाहरू सहर र विदेश पुग्दा रित्तिएका गाउँ बस्तीका कथा पनि सुन्न पाइन्छ। ‘पानी र जवानी पहाडमा टिक्दैन’ भनेझैँ पहाडमा युवाहरूको सङ्ख्या घट्दो देखिन्छ। यद्यपि देशमै केही गर्छु भनी वैदेशिक रोजगारबाट फर्केका युवाहरू कतैकतै भेटिन्छन् पनि। यो पदमार्ग नेपालको ग्रामीण समाजको सभ्यताको चिनारी बुझ्नका लागि र प्राकृतिक एवम् सांस्कृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त गन्तव्य हो भन्न सकिन्छ।

देशभित्र र विदेशमा यस पदमार्ग गुरुङ तथा मगर संस्कृति बुझ्नका साथै मध्यनेपालका पहाडको प्राकृतिक सुन्दरतामा रमाउनका लागि उपयुक्त विकल्पका रुपमा प्रचारप्रचार पनि भइरहेको छ। यस पदमार्गमा यात्राका क्रममा कान्जिरोवा, धौलागिरि, अन्नपूर्ण, मनास्लु र गणेश हिमशिखरलगायत विभिन्न पर्वतहरूको अवलोकन गर्न सकिन्छ। करिब चार सय मिटरदेखि एक हजार आठ सय मिटरसम्मको उचाइमा पर्ने यो पदमार्ग अत्यन्तै सुमधुर पदमार्गमा पर्दछ। हिन्दू, बौद्ध र बोन धर्महरूको अभ्यास र प्रचलनलाई नजिकसँग बुझ्ने मौकासमेत यस यात्राका क्रममा गर्न पाइन्छ।

पदमार्गको अधिकांश हिस्सा विकट स्थानबाट गुज्रिए पनि कहीँकतै मोटर गुड्ने बाटो पनि भेटिने हुनाले आकस्मिक परिस्थितिका लागि पनि गाडीको सहजै व्यवस्थापन गर्न सकिन्छ। पदयात्रामा १० वर्षे जनयुद्धका क्रममा मुलुकले भागेको घटनाक्रम पनि बुझ्न सकिन्छ। साथै, राजनीतिक विकासक्रमलाई बुझ्न पनि यो पदमार्ग गन्तव्य बन्न सक्छ। पाका पुरानाहरूबाट तत्कालीन समयमा भीडन्तका कथाहरू सुन्न पाइन्छ।

त्यति मात्रै होइन, स्याङ्जास्थित माझकोट मनकामनाबाट देखिने मनमोहक दृश्यले सबैको मन लोभ्याउँछ। सङ्घीयतापछि तीनवटै तहका सरकारले गरेको विकासलाई नजिकबाट नियाल्न सकिन्छ। पूर्वाधार विकासमा भएको लगानीबाट बनेका मोटर गुड्ने बाटो, लिफ्टिङ प्रविधिमार्फत पानीको आपूर्ति र २४सैँ घण्टाको विद्युत् आपूर्तिका कारण गाउँमा पुगेको सुविधाले आएको परिवर्तनबारे जानकारी लिन पाइन्छ। पदमार्गमा झरना, खोला, गुफा, मन्दिर एवं विभिन्न भ्यू प्वाइन्टलगायतका आकर्षक पर्यटकीय गन्तव्यले थकाइ महसुस गर्न दिँदैनन्। मिलिनियम ट्रेककै नाममा नामाकरण गरिएको मिलिनियम गुफा, कैलाश गुफाजस्ता साना ठूला रमणीय गुफाहरू पदमार्गमै पर्छन्। बाइसे र चौबीसे राज्य हुँदाका दरबार र कोट तथा किल्लाका भग्नावशेष पनि पदमार्गमा अवलोकन गर्न पाइन्छ।

नेपालको आधुनिक इतिहास खण्डमा नै बाइसे–चौबीसे राज्यकाबीच हुने निरन्तर युद्ध र आक्रमणका कारण यी क्षेत्रका डाँडामा धेरै दरबार तथा किल्ला बनाइएका थिए। आज ती दरबार, कोट र किल्ला सबै यस पदमार्गबीच ऐतिहासिक धरोहरको आकर्षणको भएर ठडिएको छ। यी ऐतिहासिक र पुरातात्विक महत्वका यी भग्नावशेषलाई स्थानीयवासीको जोडबलमा संरक्षण गरिँदै आएको छ।

पदमार्गमा लोभ्याउने यस्तै ऐतिहासिक दरबार हो भीरकोट दरबार। नेपालको आधुनिक इतिहासमै सफल कुटनीतिज्ञ मानिने ऋषिकेश शाहसँग जोडिएको यस भीरकोट दरबारको भग्नावशेषहरू आज पनि देख्न सकिन्छ। राज्यरजौटा उन्मूलन हुनुपूर्व राजकाज नै सम्हालेका हुनाले यस ठाउँका बासिन्दा विशेष आत्मीयता राख्छन्। माथिल्लो किल्लाबाट स्थानान्तरण गरी तल्लो फाँटमा लगेर शाहले नयाँ दरबार निर्माण गरेको भन्ने तथ्य स्थानीयहरूले भन्न छुटाउँदैनन्।

हरिया पहाडको अत्यन्तै मनमोहक दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता नै हो। पदमार्गका कैयौँ ठाउँमा चट्टानैचट्टानले बनेका भीरहरू देख्दा जो कोहीको आङ जिरिङ हुन्छ। साहसिक पर्यटकका लागि गरिने प्याराग्लाइडिङ, क्यानोनिङ र रक क्लाइम्बिङ जस्ता गतिविधि पनि पदमात्रामा प्रशस्तै भेटिन्छन्। हाल व्यावसायिक रुपमा यस्ता गतिविधि नभए पनि साहसिक पर्यटन पारखीहरू भने ठाउँ ठाउँमा रमाइरहेको देख्न सकिन्छ।

भीरकोटको कोखे झरना र भीरकोटकै केगा देउरालीबाट हुने प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिमा रम्न सकिने स्थानका रुपमा विकास हुँदै गइरहेको देखिन्छ। यस क्षेत्रमा चाँडै नै यसले व्यावसायिक रुप लिन सक्ने पनि देखिन्छ। पदमार्गमा साइकलिङ तथा मोटरबाइक एडभेञ्चरका लागिसमेत उपयोगी छ। केही वर्ष पहिले पनि यस पदमार्गमा साइक्लिङ प्रतियोगितासमेत गरिएको थियो। त्यसैले पनि नेपाल आउने विदेशी पर्यटकमाझ पदमार्गमा यात्रासँगै साहसिक गतिविधिमा समेत संलग्न गराउन सकिने यथेष्ट सम्भाव्यता छ।

यो पदमार्ग चरा अवलोकनका लागि उच्च कोटीमा पर्दछ। त्यसो त सबै खाले पदमार्ग बर्ड बाचिङ्गका लागि अत्यन्तै उपयुक्त भए पनि तनहुँको रायपुरबाट सुरु हुने चरा अवलोकन क्षेत्र विशेष मानिन्छ। स्याङ्जाको भैँसैगौडा र चन्द्रकोट पनि चरा अवलोकनका लागि उपयुक्त थलो मानिन्छ। एक हजार चार सयदेखि एक हजार आठसय मिटरसम्मको उचाईमा रहेका टाकुरामा समेत चराचुरुङ्गीको चिरबिर, लोभलाग्दो  रङ र आकार नजिकैबाट देख्दा जोकोही मन्त्रमुग्ध नै हुने गर्दछन्।

पदमार्गको अर्को आकर्षण हो, होमस्टे ट्रेक। यस पदमार्गमा प्रायः गुरुङ र मगर समुदायको बसोबास रहेको छ। स्याङ्जा नेपालको ग्रामीण पर्यटन तथा होमस्टे सुरुआत गर्ने अग्रणी जिल्लामा परिचित छ। यही घरवास पर्यटनअर्थात होमस्टे यस पदमार्गको सबैभन्दा महत्वपूर्ण पक्ष हो। विशुद्ध गुरुङ तथा मगर बासस्थानमा पाउने आतिथ्यताले पदयात्रालाई विशेष बनाउँछ। प्रायः विदेशी यही संस्कृति र जीवनशैलीमा रम्नकै लागि यस पदमार्गमा आउँछन्। स्थानीय अग्र्यानिक उत्पादनबाटै पर्यटकलाई खानपान गराइन्छ। स्वदेशी होस् या विदेशी यस प्रकारको स्वच्छ अन्न खान पाउँदा खुसी नै हुन्छन्। पदमार्गमा पर्ने चन्द्रकोट होमस्टे र साँधखोला होमस्टेमा देखाइने विभिन्न सांस्कृतिक नृत्यु र गीतले पदयात्राको थकान मेटाउँछ। सोराठी, घाँटु नाच, सालै जो, झ्याउरे, झोर्रा नाच, कौडा नृत्य तथा कृष्ण चरित्रजस्ता संस्कृतिलाई यो ‘मिलिनियम ट्रेक’मार्फत नजिकैबाट अवलोकन र अनुभव गर्न सकिन्छ।

स्याङ्जाको कोल्माकोट र भैसेगौडा तथा सुन्तलाबारी–गहतेजस्ता स्थलमा मिलिनियम ट्रेक पदयात्रामार्फत आउने पर्यटकका साथै स्थानीयहरू पनि राम्रो उपस्थिति हुने गरेको पाइछ। यसको ज्वलन्त उद्दाहरण हो स्याङ्गजाको कोल्माकोट। यहाँ व्यावसायिक रुपमा पर्यटकीय गतिविधि फस्टाउँदै गएकाले निजी तवरबाट आधुनिक तथा सुविधायुक्त लज तथा होटलमा समेत लगानी भएको छ। पदयात्रीलाई लक्षित गरी स्याङ्गजाकै भैँसेगौडामा सामुदायिक होमस्टे भवन बनाएर अत्याधुनिक लज सरह सुविधायुक्त बासको दिइरहेको पाइन्छ। पदमार्गको विभिन्न स्थलमा विकट गाउँदेखि आधुनिक सुविधायुक्त घरबासको व्यवस्था छ।

      नेपालभित्रको मध्यपहाडी पदयात्राका रुपमा विकसित यस ट्रेकले सामुदायिक स्तरमा सकारात्मक प्रभाव छाड्न सफल भएको छ। पदमार्गका विभिन्न गाउँहरू पर्दछन्। मिलिनियम ट्रेकसँग आवद्ध भएसँगै व्यापार र आयस्रोतको बाटो मात्र खुलेको छैन, यसले स्थानीयवासीमा सरसफाइमा ध्यान दिने,  पाककला तथा शैलीमा रुपान्तरण गर्ने र विदेशी भाषा समेत सिक्ने मौका पाएका छन्। मिलिनियम ट्रेकसँग जोडिएसँगै पर्यटकीय पूर्वाधार विकासका निम्ती स्थानीय सरकार र प्रदेश सरकारको समेत नजरमा पर्ने भएको हुनाले जनस्तरमा यस पदमार्गको प्रभाव निकै सकारात्मक परेको देखिन्छ।

यसैगरी पदमार्ग भएर गुज्रने विभिन्न छहरा तथा झरनामा क्यानोनिङ र विभिन्न भीर र पाखाहरूमा रक क्लाइमिङजस्ता साहसिक पर्यटन गतिविधि समेत भइरहेको छ। प्याराग्लाइडिङ पनि यस ट्रेकमा पर्ने अर्को विशेषता हो। ढोरफिर्दी–माझकोट मनकामना ग्रामीण पर्यटन विकास समितिको सन् २००० मा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरिएपपछि यस पदमार्गको नामाकरण ‘मिलिनियम ट्रेक’ गरिएको हो। यस पदमार्गले सन् २०२५ मा रजत जयन्ती मनाउन लागेको छ। सशस्त्र युद्धकालको बीचमा सुरुआत भएको यो पदमागको प्रवर्द्धनमा त्यसपछिका दिनमा केही कम भएको समेत पाइन्छ। यद्यपि निरन्तरको प्रयास र दृढतामा जुझ्ने समुदायहरूले आजको दिनसम्म यस पदमार्गलाई सफल पार्न लागिपरेका छन्।

विदेशी पल्टनबाट अवकाश लिएर फर्केका लाहुरे बादेखि वैदेशिक रोजगारको अनुभव बटुलेर गाउँमा नै केही गर्छु भन्ने युवाका लागि मिलिनियम ट्रेक विदेशी मुद्रा कमाउने अवसर  बनेको छ। कूल ७२ किमी लामो यस पदमार्गले दिने मनमोहक अनुभव जीन्दगीभर यादगार रहने गरी छाप बसाउन सफल रहेको छ। पदमार्गले सरकारी र निजी दुवै स्तरबाट विश्व बजारमा सगरमाथा र अन्नपूर्ण पदमार्गको जस्तै बजारीकरणको अपेक्षा गरेको छ। (लेखक नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयमा कार्यरत छन्)

प्रकाशित: १४ वैशाख २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =