लुम्बिनीमा संकलन भएका विभिन्‍न देशको मुद्रा साटियो

हिमाल प्रेस ६ असार २०८० ९:४७
48
SHARES
लुम्बिनीमा संकलन भएका विभिन्‍न देशको मुद्रा साटियो

लुम्बिनी– लुम्बिनी विकास कोषले दानवापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ।

वर्षौंदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा पहिलो पटक सटही भएको हो।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो। कोषले मुचुल्का उठाएर श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआइएमबी बैंक सिंगापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए।

लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको उनले जानकारी दिए।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिंगापुरस्थित सीआइबी बैंकबाट राष्ट्र बैंकको खातामा ५४ लाख २९ हजार सात सय ३१ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेको भनाइ छ।

केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताए। सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले जनाए।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुन्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्ति पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =