गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा १ खर्बभन्दा बढी लगानी जोखिममा

हिमाल प्रेस २ असार २०८० २१:४९
2
SHARE
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा १ खर्बभन्दा बढी लगानी जोखिममा फाइल तस्बिर।

भैरहवा- व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा निजी क्षेत्रले आफ्नाे ८० अर्ब रुपैयाँ लगानी डुब्ने चिन्ता व्यक्त गरेको छ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भएर हालसम्म पनि पूर्ण रूपमा सञ्चालन नहुँदा व्यवसायी चिन्तित बनेका हुन्।

उद्घाटन हुँदा निकै खुसी र आशा देखिए पनि पछिल्लो समय सञ्चालन नहुँदा चिन्ता उत्पन्न भएको व्यवसायीले बताएका हुन्। विमानस्थल उद्घाटन भएको एक वर्षसम्म पनि  अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्रले निराशा व्यक्त गरेको हो।

तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल, पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताए। निजी क्षेत्रले लगानी गरे पनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश बनेको उनले बताए।

विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरूमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ थियो।

ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी उनले गरे। सञ्चालनमा आए दैनिक २० हजार मानिसको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीले लगानी वृद्धि गरे पनि लगानी अलपत्र रहेको गुनासो शर्माको थियो।

अध्यक्ष शर्माले प्रधानमन्त्रीको भारत भ्रमणबाट राम्रो संकेत प्राप्त गरेको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याएर निजी क्षेत्रको लगानी संरक्षण गर्न आवश्यक रहेको बताए। विमानस्थल निर्माणमा ४० अर्ब रुपैयाँ सरकारले लगानी गरेको भन्दै उनले विमानस्थललाई लक्षित गर्दै निजी क्षेत्रले ८० अर्ब रुपैयाँ लगानी गरेको दोहोर्‍याए।

पूर्ण रूपमा विमानस्थल सञ्चालनमा नआउँदा १ खर्ब रुपैयाँभन्दा बढी लगानी जोखिममा रहेको शर्माको भनाइ थियो। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरेकाले विमानस्थल सञ्चालनमा आउने आशा देखिएको बताए।

विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरूले धेरै ठूलो लगानी भएकाले तत्कालका लागि जोखिम देखिएको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिले केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको अध्यक्ष ढकालले बताए।

विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी १४६ होटल सञ्चालनमा छन्। विमानस्थल पूर्ण रूपमा सञ्चालन नभएपछि अपेक्षित रूपमा होटेल व्यवसाय चल्न सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =