भैरहवाको हवाई रुटमा भारतले पुनर्विचार गरोस् : मन्त्री किराँती

हिमाल प्रेस २२ मंसिर २०८० २०:३९
30
SHARES
भैरहवाको हवाई रुटमा भारतले पुनर्विचार गरोस् : मन्त्री किराँती

लुम्बिनी- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सरकारलाई सकारात्मक हुन आग्रह गरेका छन्। भारतीय दूतावास काठमाडौंले बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले हवाई रुटका कारण अन्तर्राष्ट्रिय उडानमा समस्या भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि हवाई रुटमा पुनर्विचार गर्न आग्रह गरेका हुन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा भएको कार्यक्रममा मन्त्री किराँतीले राजदूतमार्फत रुटमा पुनर्विचार हुने अपेक्षा गरे। ‘नेपालको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिममार्फत फेरि नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुनर्विचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् भन्ने  हाम्रो अपेक्षा छ,’ उनले भने।

आर्थिकरूपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफूहरू पक्की पुल बन्न चाहेको बताए। ‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो। हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सीता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो,’ मन्त्री किराँतीले भने।

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतविचको इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण बनेको बताए। उनले लुम्बिनीको पर्यटनमा सांस्कृतिक कार्यक्रमले एउटा इँटा थप गरेको बताए। भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको बताए। सांस्कृतिकरूपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको बताए।

कार्यक्रममा नेपाली शास्त्रीय संगीत, थारु नृत्य र अन्य विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो। सांस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरूको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो। मण्डलाको मन्त्री किराँतीले उद्घाटन गरे। यस्तै कार्यक्रमलगत्तै विभिन्न जातीय परिकारहरू अतिथि र सहभागीहरूलाई चखाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =