‘भक्तराज आचार्यको निधनले नेपाली गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति’

हिमाल प्रेस १५ फागुन २०८० १६:०२
24
SHARES
‘भक्तराज आचार्यको निधनले नेपाली गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसंगीतको धरोहर वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

आज नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा उनीप्रति श्रद्धाञ्जली अर्पणपछि मन्त्री किरातीले भने,‘आफ्नो जिन्दगीमा हजारौँ पराजय ब्यहोरेर पनि इतिहासले नबिर्सिने व्यक्तिका रूपमा विजय हासिल गर्नुभएको छ, हामी कहिल्यै उहाँको योगदान भुल्ने छैनौँ।’

मन्त्री किरातीले स्व.आचार्यले जीवन्त गीत गाएर छाडेकाे भन्दै उनी बाँच्नेहरूका निम्ति आदर्श व्यक्तिका रूपमा रहने बताए। उनले आचार्यका नाममा नेपाल सरकारले केही काम गर्ने प्रतिबद्धता पनि जनाए।

उनले भने,‘उहाँ र उहाँको लोकप्रिय गीतसंगीतलाई हामी कहिल्यै बिर्सने छैनौँ। उहाँको सच्चा श्रद्धाञ्जलीका निमित्त हामीले धेरै काम गर्नुपर्ने छ। नेपाल सरकार उहाँको योजना र उहाँले देखेको सपना पूरा गर्न सदैव साथमै छ।’

आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दशकअघि नै उनको गला अवरुद्ध भएको स्मरण गर्दै गाउने मान्छे गाउन नै नपाएपछि कति ठूलो पीडा भयो होला भनेर कल्पना पनि गर्न नसकिने बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्माले स्व.आचार्यको निधनले नेपाली गीतसंगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइन्। श्रद्धाञ्जली अर्पणपछि अहिले उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ।

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। वि.सं. १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा महत्त्वपूर्ण योगदान छ। आचार्यले करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन्। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीतसंगीत क्षेत्रमै छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =