चर्चामा ‘किन रुवाको‍‍’ : यस्तो छ गीत रचनागर्भ

रमेश दवाडी १० चैत २०८० १६:३५
146
SHARES
चर्चामा ‘किन रुवाको‍‍’ : यस्तो छ गीत रचनागर्भ

काठमाडौँ- नरेश खाती क्षेत्री पछिल्लो पुस्ताका व्यस्त गीतकार हुन्। उनी गायक र संगीतकार पनि हुन्। २०४७ सालमा गुल्मीमा जन्मेका नरेश दाङका हुर्किए। दाङबाट काठमाडौँमा आएर विशेष गरी लोकसंगीतमा लागेका उनले हालसम्म चार सय बढी गीत लेखेका छन्। संगीत दिएका छन्। केहीमा आवाज भरेका छन्।

उनले लेखेका धेरैजसाे गीत चर्चा छन्। दुई हप्ताअगाडि मेक्सम नरेश युट्युब च्यानलबाट सार्वजनिक ‘किन रुवाको‍‍…’ गीत अहिले युट्युबको ट्रेन्डिङमा छ। ‘किन रुवाको’ गीतमा बालगायिका पूजा देवकोटा र हिमाल परियारको आवाज छ। भिडिओ सम्पादन मनोज कार्कीले गरेका हुन्। निर्देशन पनि नरेशले गरेका हुन्। भिडिओमा पूजा र हिमाल देखिएका छन्। नरेशले यो गीत लेखनका केही प्रसंग सुनाए।

‘एक दिन साँझ किबोर्डमा बसेर प्रेमरसका शब्दहरू गुन्गुनाइरहेको थिएँ। बिस्तारै एक खालकाे कथा तयार भयाे। त्याे कथामै बगेर भावुक भएँ। अनि शब्द  मिलाउँदै जाँदा गीत तयार भयाे’, क्षेत्रीले हिमाल प्रेससँग भने, ‘यो गीत एकै दिनमा लेखेको हुँ।’

गीतको संगीत, रेकर्ड, भिडिओ सुटिङ पनि एकै दिनमा सकिएको उनले बताए। गीतमा एकअर्काकाे मायालाई गहिरोसँग दर्शाइएको छ। गीतकाे भावबारे नरेश भन्छन्, ‘एकअर्का प्रेममा परिसकेपछि जति माया थियो अहिले पनि त्यति नै छ तर पटकपटक एकअर्कालाई किन रुवाउँछौ, चोखो माया गर्दा पनि किन रुवाउँछौ, जिन्दगीमा रुन मात्रै लेखेको हो त भन्ने भाव गीतमा छ।’

सधैँ एकै बसाइमा गीत लेख्न भने नसकिने नरेश बताउँछन्। कति बेला गीत फुर्छ निश्चित हुँदैन। नरेशसँग यो अनुभव पनि छ कि उनलाई कुनै कुनै गीत लेख्न २-३ महिना लोगेको छ। उनी भन्छन्, ‘गीत लेखन मुडमा पनि भर पर्छ। कुनै गीत आधा, एक घण्टाभित्र पनि लेखेर सकिन्छ। आफूले नसोचेका शब्दहरू आउँछन्। कुनै गीत महिनौँसम्ममा पनि लेखेर सकिन्न।’

उनी गीत लेखनलाई समुद्रसँग तुलना गर्छन्। शब्द नै शब्दको भण्डारबाट गीतका शब्द चयन गर्नु वा झिक्नु कम चुनौतीपूर्ण नहुने उनको अनुभव छ। उनी भन्छन्, ‘समुद्रको कहाँनेरको पानी सफा हुन्छ, पिउन योग्य हुन्छ गीतको शब्द चयन पनि त्यस्तै हो। कहाँ कस्तो शब्द दर्शकले रुचाउँछन् त्यो सर्जकले बुझ्नुपर्ने हुन्छ।’

गीत लेख्दा धेरै कुरा सोच्नुपर्ने नरेशकाे भनाइ छ। उनले भने, ‘कुनै शब्दमा साहित्यिक भाव बढी हुन्छन्। जुन दर्शकश्रोतालाई दिमाग लगाएर सुन्ने फुर्सद हुँदैन। त्यसैले सरल शब्दमा गहिरो भाव व्यक्त गर्न सक्ने स्रष्टाको खुबी हो।’ गीतमा मानिसका जीवन भोगाइका शब्द चयन गर्दा दर्शकश्रोताले रुचाउने उनले बताए।

नरेशका सानु कहाँ छौ, माया मारेर, रुँदैरुँदै तिम्रो सहर, यो ज्यान तिम्रै नाउँमा, कसम मैले, तिमै मायाले, पिपलु र बर, देशै छोडेर, माया मर्दैन, मेरी छोरी, मेरो छोरालगायत गीतहरू बजारमा उपलब्ध छन्।

गीत हेर्नुस्

 

प्रकाशित: १० चैत २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =