श्रीलंकाका राजदूतले गरे गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता

हिमाल प्रेस २१ पुष २०८० १९:१७
30
SHARES
श्रीलंकाका राजदूतले गरे गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता

लुम्बिनी- नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाएका छन्। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हाक्याल लामासँगको शनिबारको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

राजदूत पाथिरानालाई कोषका उपाध्यक्ष डा.लामाले स्वागत गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा ठूलो क्षति पुगेको र त्यसले लुम्बिनी आउने पर्यटकलाई प्रभाव पारेकोले श्रीलंकाबाट सीधा हवाई उडान गर्न आग्रह गरे।

उपाध्यक्ष लामाको आग्रहलगत्तै उनले आफू पनि गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान गर्नुपर्ने पक्षमा रहेको बताए। एअर फोर्स चिफसमेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले बुद्धजन्मस्थल लुम्बिनीजस्तो पवित्रस्थलमा आउन धेरै श्रीलंकनहरू इच्छुक हुने गरेको बताउँदै सीधा उडान गरेर आउने व्यवस्थाका लागि तत्कालै काम गर्ने बताए।

कोषका उपाध्यक्ष डा.लामाले लुम्बिनीको धार्मिक, साँस्कृतिक र पर्यटकीय विकास, संरक्षण र सम्वर्द्धनका लागि श्रीलंकासँग सहकार्य गर्ने बताए। राजदूत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन्।

कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्त्व, यसको विकासलगायतका विषयमा जानकारी गराएको बताए।

राजदूत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतले स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =