गौतम बुद्ध विमानस्थल सुनसान हुनुमा यस्ता छन् कारण

विनोद परियार २७ माघ २०७९ ९:३५
94
SHARES
गौतम बुद्ध विमानस्थल सुनसान हुनुमा यस्ता छन् कारण

लुम्बिनी– जेठ २ गते सञ्चालनमा आएको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पुस ६ गतेदेखि एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन। आन्तरिकका साथै क्षेत्रीय उडानका लागि बनाइएको विमानस्थल सुनसान हुनुमा एयर रुट, जनशक्तिदेखि छेउछाउका सिमेन्ट उद्योगसम्म कारण बनेका छन्।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा भएका अवरोध पहिचान गरी सुुझाव दिन महाप्रबन्धक गोविन्दप्रसाद दाहालको संयोजकत्वमा सुुझाव समिति गठन गरेको थियो। समितिले अन्तर्राष्ट्रिय उडान ठप्प हुनुको पछाडि दर्जन समस्या पहिचान गरेको छ। त्यसमा एयर रुट मुख्य कारण मानिएको छ।

भैरहवाका लागि गोरखपुर रुट सबैभन्दा उपयुक्त मानिन्छ। तर भारतले उक्त रुट नदिएका कारण भैरहवा आउने विमानले सिमराको रुट प्रयोग गर्न बाध्य हुनुपरेको छ। यसले नेपाल भित्रिने विमानको रुट लामो मात्रै बनाएको छैन, सञ्चालन खर्चसमेत बढाउँछ।

माघ २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थल निरीक्षणका क्रममा ‘हवाई रुट’का विषयमा भारत सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मुख्य विषय भैरहवाको हवाई रुट हुने उनको भनाइ छ।

त्यसो त यसअघिका मन्त्री जीवनराम श्रेष्ठले पनि हवाई रुटका लागि पहल गर्ने प्रतिबद्धता नजनाएका हैनन्। तर विमानस्थल सञ्चालन भएको सात महिनासम्म प्रगति शून्य छ।

गौतम बुद्ध विमानस्थलको निरीक्षण गर्दै पर्यटनमन्त्री सुदन किराँती।

अर्घाखाँची सिमेन्टको चिम्नी

गौतमबुुद्ध विमानस्थलमा ठूला विमानको उडान–अवतरणमा अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीले पनि बाधा पुर्‍याएको बताइएको छ। विमानस्थलबाट करिब ३.२ किमि दूरीमा रहेको सिमेन्ट उद्योगको अग्लो चिम्नीले विमान उडान र अवतरणमा जोखिम निम्त्याएको छ।

विमानस्थलका प्रबन्धक एवम् प्रवक्ता सुवास झाले अर्घाखाँची सिमेन्टको चिम्नी अग्लो हुँदा समस्या देखिएको बताए। ‘विमान होल्ड गर्नुपरेमा त्यसले प्रत्यक्ष असर पार्ने भएकाले हटाउन पटकपटक पत्राचार गरिएको छ’, उनले भने, ‘तर उद्योगले टेरेको छैन।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार विमानस्थल रनवेको करिब ४ हजार मिटर क्षेत्रमा ४५ मिटरभन्दा अग्ला संरचना रहनु हुँदैन। त्यसकारण सिमेन्ट उद्योगको चिम्नी तत्काल हटाउनुपर्नेछ। साथै विमानस्थल वरपर रहेका केही इँट्टा उद्योगको चिम्नीले समेत हवाई रुटमा बाधा पुर्‍याएका छन्।

विमानस्थलमा जडित आईएलएस अर्थात् इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (उपकरणको मद्दतबाट विमान अवतरण गर्ने प्रणाली) पनि सञ्चालनमा आउन सकेको छैन। यसले गर्दा सामान्य हुस्सु लागेको बेलासमेत उडान अवरुद्ध हुँदै आएको छ।

आईएलएस प्रयोगमा आउँदा राति वा सामान्य हुस्सु लागेको बेला पनि विमान अवतरण गर्न मिल्छ। यसका लागि भैरहवामा ८०० मिटरसम्मको भिजिबिलिटी भए पुग्छ। तर आईएलएस प्रयोग नहुँदा १५०० मिटरको भिजिबिलिटीमा मात्रै विमान अवतरण गर्दै आइरहेका छन्।

अत्यावश्यक सेवा अभाव

यसअघि नियमित उडान गरेको जजिरा र केही दिन चार्टर्ड उडान गरेको हिमालयन एयरलाइन्सले यात्रु नपाएकै कारण उडान बन्द गरे। जजिराले गौतमबुुद्धबाट विशेषगरी वैदेशिक रोजगारीमा जानेहरूलाई सेवा दिँदै आएको थियो। काठमाडौँबाट गाडीमा भैरहवा लिएर सेवा दिएको जजिराले पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा छुट पाउँदासमेत ५ महिनामै उडान रोक्यो।

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति, भिसा सेन्टर, स्वास्थ्य परीक्षणजस्ता सेवा आवश्यक पर्छ। त्यसका साथै भैरहवा, बुटवल क्षेत्रमा म्यानपावर कम्पनीसमेत छैनन्।

वैदेशिक रोजगारीका लागि आवश्यक यस्ता कार्यालय नहुँदा यात्रु अभाव भएको समितिले जनाएको छ। महाप्रबन्धक एवम् समितिका संयोजक दाहाल भन्छन्, ‘सामान्य सेवासमेत नहुँदा यात्रु अभाव भएका छन्।’

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड, सुरक्षालगायतका निकायको सहकार्य पनि उत्तिकै जरुरी छ।

यसका अतिरिक्त भन्सार, अध्यागमन, स्वास्थ्य, पारवहन तथा गोदाम व्यवस्थापन गर्ने निकाय, बैंक पनि अत्यावश्क मानिन्छ। तर गौतम बुद्ध विमानस्थलमा यीमध्ये कुनै निकायले सेवा दिन सकेका छैनन्। कार्गो आयातनिर्यात लागि भन्सार एजेन्टलगायतको पनि प्रबन्ध छैन।

पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन र हुलाकको स्थापनाका लागि पटकपटक पत्राचार गर्दा पनि कार्यालय स्थापना हुन नसकेको विमानस्थलका प्रवक्ता झा बताउँछन्। त्यस्तै विमानस्थलमा ह्याङ्गर, विमान परीक्षणका लागि प्राविधिक, उपकरण र औजार छैनन्। चमेनागृह, ब्यागेज र्‍यापिङलगायतका सेवा पनि उपलब्ध छैन। यस्ता सेवा प्रवाहका लागि विमानस्थल कार्यालयले तीन पटकसम्म टेन्डर सूचना निकाल्यो। तर एउटा पनि आवेदन परेको छैन।

नेपाल चेम्बर अफ कमर्स लुुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल विमानस्थलसँगै यात्रुका लागि आवश्यक सेवा विस्तारमा सरकारले तुरुन्तै पहल गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘हवाई रुटको कारण देखाएर उडान हुन नसकेको भन्ने तर आफूले गर्नुपर्ने कामसमेत नगर्नु दुःखद हो।’

यसरी बनाउन सकिन्छ चलायमान

जानकारहरूका अनुसार सरकारले तत्काल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पहिचान गरेका समस्या र चुनौतीलाई सम्बोधन गर्नुपर्छ। त्यसका साथै विमानस्थललाई गौतमबुुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटकलाई सीधा उडानको सुविधा दिँदा चलायमान हुन सक्छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय)ले विश्वभरका बौद्धमार्गीलाई लुम्बिनीमा आकर्षित गर्दा मात्रै पनि विमानस्थल सहज रूपमा चल्न सक्छ। उनी भन्छन्, ‘यसको उद्देश्यसमेत बुद्धस्थलको प्रचार हो।’

त्यसका साथै भारत सरकारसँग उच्चस्तरीय पहल गरेर भारतीय पर्यटक भित्र्याउने योजना सरकारले ल्याउनुपर्छ। यसो हुँदा विमानस्थलमा थप चहलपहल हुने र उडानका लागि नयाँ एयरलाइन्स कम्पनीको आकर्षण बढ्ने व्यवसायीहरू बताउँछन्।

सस्तो हवाई इन्धनको व्यवस्था, पर्यटक प्रहरीको व्यवस्था, २४ घण्टा ट्याक्सी सुविधा पनि भैरहवा तत्काल व्यवस्था गर्नुपर्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी धेरैजसो काम उडान नियमित भएसँगै सुधार हुने खालका भएको बताउँछन्। ‘उडान नहुँदै राख्दा सञ्चालन खर्च धान्न पनि समस्या हुन्छ,’ उनी भन्छन्, ‘यात्रुको संख्या र उडान बढेसँगै सबै समाधान हुँदै जान्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =