पर्यटनमन्त्रीले गरे गौतमबुद्ध विमानस्थलको निरीक्षण, उडान सञ्चालनका लागि पहल गर्ने

हिमाल प्रेस २२ माघ २०७९ १२:३०
104
SHARES
पर्यटनमन्त्रीले गरे गौतमबुद्ध विमानस्थलको निरीक्षण, उडान सञ्चालनका लागि पहल गर्ने

बुटवल- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पहिलोपटक सो विमानस्थल आएका किराँतीले रोकिएको अन्तर्राष्ट्रिय उडान पुनःसञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राखेका हुन्।

निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै उनले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या हल गर्ने प्रतिबद्धता जनाए।

उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने बताए। मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारतीय भ्रमणमा गौतमबुद्ध विमानस्थलको रूटको अजेन्डा राख्ने बताए।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि रूटका विषय मुख्य अजेन्डामा पर्छ, श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ,’ उनले भने। मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने उनको भनाइ छ।

निरीक्षणअघि विमानस्थलको अवस्थाबारे गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिए । उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्ध विमानस्थल सफा राख्न आग्रह गरे।

सो अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारण भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताए। उनले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए।

मन्त्री किराँतीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै पुसबाट उडान रोकेका छन्। नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन्।

विमानस्थलमा हालसम्म १५४ अन्तर्राष्ट्रिय उडान र त्यत्ति संख्यामै अवतरण भएका छन्। यस अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ।

२०७९ जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ७ महिनामै उडान रोकिएपछि निजी क्षेत्रमा गरिएको लगानी जोखिममा परेको छ।

यो पनि पढ्नुहोस्

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा अर्बौँ लगानी डुब्ने चिन्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =