भारतले जनकपुरमा धर्मशाला बनाउन दिएको रकममा रंगशाला बनाउन ‘राजनीति’

नेहा झा १८ जेठ २०८० ११:३२
14
SHARES
भारतले जनकपुरमा धर्मशाला बनाउन दिएको रकममा रंगशाला बनाउन ‘राजनीति’

जनकपुरधाम– जनकपुरधामको गोपाल धर्मशालालाई अत्याधुनिक बनाइने भएको छ। करिब सय वर्ष पहिले निर्माण गरिएको गोपाल धर्मशालालाई भारतीय दूतावासको पहलमा अत्याधुनिक बनाइने भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमण आएको बेला १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको रकमको विषयमा अन्यौलता बढेपछि भारतीय दूतावासले आफैं सो रकम धर्मशालालाई अत्याधुनिक बनाउनमा खर्च गर्ने गरी योजना अगाडि सारेको हो।

यसका लागि दूतावासले प्रपोजलका साथै नाप नक्सासमेत तयार पारेको छ। सो नक्सा डेढ वर्षअगाडि नै तयार पारिए पनि धर्मशालाको काम अगाडि बढ्न सकेको छैन।

अब दूतावास आफैं अग्रसर भई सरकारी स्तरमासमेत प्रस्ताव अगाडि बढाइएको श्रोतले जनाएको छ। तयार पारिएको नक्साअनुसार धर्मशालामा ४ वटा ब्लक निर्माण गरिने छ।

पहिलो ब्लकमा पसल तथा व्यापारिक प्रतिष्ठानहरूलाई व्यवस्थापन गरिनेछ। दोस्रो ब्लकमा अत्याधुनिक धर्मशाला, तेस्रो ब्लकमा स्वयम्वर हल र चौथो ब्लकमा मिथिला सांस्कृति संग्रहालय बनाउने लक्ष्य राखिएको छ।

यसका साथै २ सयभन्दा बढी सवारी साधन पार्क हुन सक्ने गरी बेसमेन्टकोसमेत निर्माण गरिने बताइएको छ।

गोपाल धर्मशाला सञ्‍चालक समितिका उपाध्यक्ष निर्मल चौधरीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको सो रकमको विषयमा अन्यौलता बढेपछि दूतावास आफैंले यस विषयमा अग्रसरता देखाएको र आफूहरूले उक्त रकम सदुपयोग होस भन्ने अभिप्रायले तदारुकता देखाएको बताए।

उनका अनुसार भारतीय दूतावासका प्रतिनिधिहरू जनकपुरधाम आएर मणिमण्डप, धनुषाधाम, गोपाल धर्मशाला भ्रमण गरेपश्चात मात्रै यहाँ रकम लगाउन इच्छुक देखिएका थिए।

यसका साथै धर्मशालामा ५ सयभन्दा बढी कोठा रह्ने चौधरीले बताए। उनका अनुसार पसलहरूमाथी बनाइने कोठा निम्न वर्गका व्यक्तिहरू रह्ने गरी निर्माण गरिने र अत्याधुनिक कोठाहरूसमेत निर्माण गर्ने लक्ष्य राखिएको छ।

२ बिघा १९ कट्ठा १० धुर १ कनमामा फैलिएको अहिलेको गोपाल धर्मशालासमेत भारतीय व्यक्तिले नै निर्माण गराउन लगाएका थिए।

गोपाल धर्मशालालाई अत्याधुनिक धर्मशालाको रूपमा परिणत गर्न डेढ सय करोड खर्च लाग्ने अनुमान गरिएको र अपुग हुने रकमसमेत भारत सरकारले ब्यहोर्ने बताइएको छ।

भारतीय स्वामित्वमै रहेको सो धर्मशालाको स्तरोन्नत्तिपछि स्वामित्वलाई लिएर विवाद हुन सक्ने विषयमा समितिका उपाध्यक्ष चौधरीले यस विषयमा दूतावासलाई नै कुनै ठोस निष्कर्षमा पुग्न सुझाएको बताए।

‘धर्मशालाको स्वामित्व भारतीय व्यक्तिकै हातमा छ, निर्माण गर्न लागिएको धर्मशालामा पनि भारतीय पक्षकै लगानी रहन्छ त्यसैले यो अडचन फुकाउन दुवै पक्षबिच छलफलले नै सहज हुने भएकाले आफूले यस्तो सुझाव दिएको छु,’ उनले भने।

मोदीले घोषणा गरेको सो सहयोग रकम धर्मशाला निर्माणमा उपयोग गर्ने तयारी गरिरहेको बेला सो रकमलाई लिएर लामो समयदेखि जनकपुरधाममा अस्वस्थ राजनीति हुँदै आइरहेको छ।

मधेशका मुख्यमन्त्री सरोज यादवले जनकपुरधाममा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको रामजानकी रंगशाला निर्माणमा सो रकम प्रयोग गर्ने वातावरणको निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

यस्तै पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केही समयअघि महेन्द्रनारायण निधि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै सो रकम धर्मशालाको स्तरोन्नतिमा प्रयोग गर्ने निश्चित नरहेको आशय प्रकट गरेका थिए।

‘जनकपुरधामको विकासका लागि रंगशाला र धर्मशाला दुवै निर्माण हुनु आवश्यक छ। म दुवै बनोस चाहन्छु यसका लागि सबै पक्षले पहल गर्नुपर्छ,’ उनको भनाइ छ। जनकपुरधामस्थित राममन्दिरको छेउमै ९७ वर्षअगाडि गोपाल धर्मशालाको निर्माण गरिएको थियो।

१९८३ सालमा भारतको कलाकत्ताका रामबहादुर बलदेव दास रामेश्वर नाथानीले सो धर्मशालाको निर्माण गराउन लगाएका थिए। धर्मशाला निर्माणको सम्पूर्ण खर्च नाथानी ट्रष्टले व्यहोरेको थियो।

धर्मशाला निर्माणमा त्यति बेला साढे ५ लाखभन्दा बढी रुपैयाँ खर्च लागेको थियो। अहिलेको २ तले धर्मशालाको पहिलो तलामा १९ वटा र दोस्रोमा सभाकक्ष, बैठक कक्ष र अन्य गरी १० वटा कोठा छन्।

प्रकाशित: १८ जेठ २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =