संसद्‍मा अर्थमन्त्रीले पढ्न छुटाएको बजेटको पेजमा के छ?

हिमाल प्रेस १६ जेठ २०८० १७:२४
38
SHARES
संसद्‍मा अर्थमन्त्रीले पढ्न छुटाएको बजेटको पेजमा के छ?

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१को बजेट संसद्‍मा प्रस्तुत गर्दा शिक्षा क्षेत्रको एउटा पेज पढ्न छुटाएका थिए। शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रको बजेट समेटिएकाे पेज पढ्न छुटाएपछि उनले म‌ंगलबार स्पष्टीकरण दिए। मंगलबार बजेटबारे उठेका प्रश्नको जवाफ दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोबारे मन्त्री महतलाइ प्रश्न साेधियाे। साे क्रममा उनले स्पष्टीकरण दिए।

पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रमा गरिएका व्यवस्था गरिएको वक्तव्यको पढ्न छुटाएको पेजबारे प्रश्न उठेपछि उनले हाँस्दै जवाफ दिए। ‘पेज टाँसिएकाले पढ्न छुटेको हो,’ उनले भने, ‘त्यस पेजमा झन राम्रो राम्रो कुरा छ। बूढानीलकण्ठजस्ता स्कुल सबै प्रदेशमा सञ्चालनमा ल्याउने भनेर गृहकार्य अघि बढाएको कुरा त्यसमा छ।’

सोमबार बजेट वक्तव्य प्रस्तुत गर्दा उनले बजेट वक्तव्यको पेज नम्बर ४२ र ४३ पढ्न छुटाएका थिए। सो पेजमा काठमाडौँको बूढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटीअनुसार शैक्षिक गुठीमार्फत अन्य स्थानमा पनि सम्भाव्यता अध्ययनको काम अघि बढाइने उल्लेख छ।

बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार बूढानीलकण्ठक स्कुलकै मोडालिटीअनुसार शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेलधुरामा एकएक नमूना स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका काम अघि बढाइने बजेटमा उल्लेख छ।

त्यस्तै दरबन्दी नभएका माध्यमिक र आधारभूत विद्यालयमा अंग्रेजी, गणित र विज्ञा विषयका शिक्षकको व्यवस्था गर्न ३ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ। त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत स्थानीय विद्यार्थी संख्याको आधारमा विद्यालयका भौतिकपूर्वाधार बनाइने, सबै स्थानीय तहमा प्राविधिक र व्यावसायिक शिक्षाको पहुँच विस्तार गरिनेलगायतका बुँदा उल्लेख छन्।

त्यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र योगमाया आयुर्वेदिक विश्वविद्यालय सञ्चालनमा ल्याइने, नेपाल विश्वविद्यालयसम्बन्धी कानुन तर्जुमा गर्ने लगायतका बुँदा सोमबार पढ्न छुटाइएको पेजमा उल्लेख छन्।

बजेट कार्यान्वयनमा दृढ बन्रे

प्रत्येक निर्वाचन क्षेत्रका सांसदले पाउने गरी विनियोवजन गरिएको बजेटको आलोचना भएपछि अर्थमन्त्री महतले बचाउ गरेका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सांसदलाई दिइने रकम भनेर विश्लेषण गरिएको बताए।

कुल ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको सांसद विकास कोषको रकम सांसदको सिफारिसमा सम्बन्धित मन्त्रालयबाट ठेक्का प्रक्रिया गरिने बताए। त्यस्तै बजेटको स्रोतको रूपमा लिइने वैदेशिक ऋण तथा अनुदान पनि प्राप्त हुने उनको भनाइ थियो। अनुदानदाताहरूले नेपाललाई विश्वास गरेको तर नेपालले खर्च गर्न नसकेको मन्त्री महतले बताए। ‘अन्तर्राष्ट्रियदाताहरूसँग मेरो कुरा भइरहेको छ,’ उनले भने, ‘दाताहरू अनुदान दिन तयार छन्। हामीले खर्च गर्ने क्षमता बढाउनुपर्छ।’

त्यस्तै मन्त्री महतले विद्युतीय सवारी करबारे भ्रम फलाइएको बताए। ‘विद्युतीय गाडीलाई निरुत्साहिन गर्न खोजिएको भन्ने अर्थ लगाइएको छ,’ उनले भने, ‘विद्युतीय गाडीलाई निरुत्साहित गर्न खोजिएको पटक्कै होइन। बरु विद्युतीय सवारी आयातकर्ताले बढी नाफा लिइरहेकाले त्यसलाई कम गर्नतिर लाग्छौँ।’

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि जुन उद्देश्य लिएर बजेट आएको त्यो उद्देश्य पूरा गर्न सरकार लाग्ने बताए। राजस्व संकलनमा दृढ बन्ने, पर्यटन पूर्वाधार निर्माणमा जोड दिइने उनको भनाइ थियो। चालु आर्थिक वर्षकै आधारमा हेर्दा राजस्व नउठ्ने देखिए पनि आगामी आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसार राजस्व उठाउने अर्थमन्त्री महतले प्रतिबद्धता गरे।

महतले मंगलबार आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरेका थिए। आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.२५ प्रतिशत हो। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको ६५.२० प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.५५ प्रतिशत रकम हो। चालु आर्थिक वर्ष २०७९/८०को तुलनामा उक्त बजेट न्यून हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको थियो।

प्रकाशित: १६ जेठ २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =