रेलिगेसन क्षेत्रतिर धकेलिँदै थ्रीस्टार, सातदोबाटो पनि असुरक्षित

हिमाल प्रेस १४ जेठ २०८० १९:१४
14
SHARES
रेलिगेसन क्षेत्रतिर धकेलिँदै थ्रीस्टार, सातदोबाटो पनि असुरक्षित

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले सात खेलको जितविहीन शृंखला अन्त्य गरेको छ। एन्फा कम्पलेक्सको मैदानमा आइतबार दिउँसो भएको खेलमा मनाङले थ्रीस्टार क्लबलाई १–० ले हरायो। मुख्य प्रशिक्षक विष्णु गुरुङको प्रशिक्षणमा मनाङले पहिलो जित हासिल गरेको हो।

आइतबार नै च्यासल रंगशालामा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ ले स्तब्ध बनायो। लिगमा एनआरटीको यो लगातार दोस्रो जित हो भने सातदोबाटोको तेस्रो हार। मनाङलाई थ्रीस्टारमाथि जित दिलाउन चेतन कुमार थारुले ३८ औँ मिनेटमा गोल गरे। गोल ‘सेटपिस’का कारण सम्भव भएको थियो। थ्रीस्टारका दीपेश गुरुङले रोशन राना मगरलाई लडाएपछि मनाङले फ्रिकिक पाएको थियो। त्यसपछि मिडफिल्डर डिया डियानेले फ्रिकिक प्रहार गरे।

फ्रिकिकबाट आएको बललाई चेतनले वान टच गोलमा परिणत गर्ने प्रयास गरेका थिए। तर उनको प्रहार पोस्टमा लागेर फर्कियो। बल शाहिद अजिजले नियन्त्रणमा लिए र चेतनकै लागि पास मिलाइदिए। यसपालि भने चेतन चुकेनन्।जितपछि मनाङ ११ बाट १० औँ स्थानमा उक्लियो। २२ खेलमध्ये ६ मा जित हात पारेको मनाङसँग २८ अंक भएको छ। मनाङले अब रेलिगेसन क्षेत्रबाट चार अंकको दूरी कायम गरेको छ। यद्यपि मनाङ रेलिगेसनबाट पूर्ण रुपमा सुरक्षित नभइसकेको मुख्य प्रशिक्षक विष्णुको भनाइ छ।

‘रेलिगेसनको डर अझै छ। अब पाँच खेल बाँकी छन्। यो बीचमा हामी रेलिगेसनबाट बच्न संघर्ष गर्न तयार छौँ,’ विष्णुले भने। सर्वाधिक आठ पटक लिग जितेको मनाङले अब एफसी खुमलटार, फ्रेन्ड्स क्लब, एनआरटी र मछिन्द्र क्लबको सामना गर्न बाँकी छ। खुमलटार र फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा छन् भने मछिन्द्र शीर्ष दुईमा छ।

थ्रीस्टार लगातार चौथो हार व्यहोरेको थ्रीस्टार भने ११ औँ स्थानमा झरेको छ। ११ खेलयता जितविहीन रहेको थ्रीस्टारसँग २६ अंक छ। जुन १३ औँ स्थानमा रहेको फ्रेन्ड्सको भन्दा दुई अंकले मात्र बढी हो। १३ औँ चरण सकिँदा दोस्रो स्थानमा रहेको थ्रीस्टार त्यसपछिका खेलमा लगातार खराब प्रदर्शन गरिरहेको छ। थ्रीस्टारको खस्एिको लयले मुख्य प्रशिक्षक मेघराज केसीलाई भने आश्चर्यमा पारेको छैन।

‘यो टिम निर्माण गर्दा नै थाहा थियो, हामी लिगमा संघर्षरत रहनेछौँ भनेर। बीचमा हामीले अंक बटुलिरहेको त हो। तर जितेका खेलमा गोलअन्तर धेरै थिएन,’ मेघराजले भने, ‘लिगको सुरुवात गर्दा हामी अंक तालिकामा माथि हुन्छौँ भन्ने सोचेको पनि थिएन। लिगमा टिक्न मेहनत धेरै गर्नुपर्छ भन्ने नै थियो। त्यसकारण आत्तिएका छैनौँ।’

लगातारको हार र बराबरीले नआत्तिए पनि मेघराज टिमको मुख्य कमजोरीबारे भने जानकार छन्। ‘यसअघिका धेरै खेल बराबरीमा सकिनुका कारण खराब फिनिसिङ हो। आज पनि हामीले निकै अवसर खेर फाल्यौँ। खासमा हामीले मनाङले भन्दा धेरै सिर्जना गरेको हो। तर फिनिसिङ टच भएन। मनाङले एउटा मौका पायो, गोल गर्‍यो,’ मेघराजले थपे।

च्यसालमा एनआरटीलाई विजयी बनाउन निकोलस सङ र सोनम लिम्बुले एक-एक गोल गरे। सङले ६३ औँ मिनेटमा एनआरटीको गोलको खाता खोलेका थिए। त्यसको चार मिनेटपछि सोनमले अग्रता दोब्बर बनाए। सातदोबाटोका लागि शिव सुवेदीले ७७ औँ मिनेटमा एक गोल फर्काए। तर त्यसपछि गोल थप्न नसक्दा सातदोबाटो पराजित भयो।

सातदोबाटोलाई हराएपछि एनआरटी आठौँ स्थानमा उक्लियो। लिगमा लगातार दोस्रो जित हात पारेपछि एनआरटीले २९ अंक पुर्‍याएको छ। सुरुका १३ खेलमध्ये चारमा मात्र जित दर्ता गरेपछि एनआरटीलाई रेलिगेसनको दाबेदार मानिएको थियो। तर पछिल्ला नौ खेलबाट १३ अंक बटुलेपछि एजआरटी अंक तालिकाको मध्यभागमा पुगेको हो।

यो सिजन लिगमा बलियो सुरुवात गरेको सातदोबाटो आधा खेल सकिँदा तेस्रो स्थानमा थियो। १३ खेलबाट २२ अंक बटुलेको सातदोबाटोलाई लिग उपाधि दाबेदार पनि मान्न थालिएको थियो। त्यसबेला शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबभन्दा दुई अंकले मात्र पछाडि रहेको सातदोबाटो अब रेलिगेसन क्षेत्रनजिक पुगेको छ।

सातदोबाटोले पछिल्ला नौ खेलमध्ये ६ मा हार भोगिसकेको छ। हाल २९ अंक जम्मा गरेको सातदोबाटो र शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडबीच नौ अंकको दूरी छ। १३ औँ स्थानको फ्रेन्ड्ससँग भने सातदोबाटो पाँच अंकले माथि छ।

प्रकाशित: १४ जेठ २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =