मुस्किलले जोगियो फ्रेन्ड्स, थ्रीस्टारको नतिजा पर्खँदै एपीएफ

हिमाल प्रेस २६ जेठ २०८० २३:१५
54
SHARES
मुस्किलले जोगियो फ्रेन्ड्स, थ्रीस्टारको नतिजा पर्खँदै एपीएफ रेलिगेसनबाट बचेपछि खुसीयाली मनाउँदै फ्रेन्ड्स क्लबका खेलाडी र अफिसियल।

काठमाडौँ- लिग जित्ने टिमले अरुभन्दा बढी गोल गर्छ। सामान्तया क्लब फुटबलमा हुने यही हो। प्रमाण युरोपका शीर्ष पाँच लिगलाई नै मान्न सकिन्छ। यसपालि त्यहाँ पाँचमध्ये चार लिगमा च्याम्पियन नै सर्वाधिक गोल गर्ने टिम बने। स्पेनी ला लिगा भने अपवाद बन्यो। जहाँ लिग विजेता बार्सिलोनाभन्दा दोस्रो स्थानको रियल म्याड्रिडले पाँच गोल बढी गर्‍यो।

अपवाद सहिद स्मारक ए डिभिजन लिग पनि बनेको छ। यहाँ उपविजेताको के कुरा, शीर्ष १० मै रहेका टिम उच्चगोलकर्ता होइनन्। बरु ११ औँ स्थानको फ्रेन्ड्स क्लब सर्वाधिक गोल गर्ने टिम हो। फ्रेन्ड्सले २६ खेलमा ४२ गोल गरेको छ। जुन च्याम्पियन चर्च ब्वाइजको भन्दा आठ गोल बढी हो।

फ्रेन्ड्ससँगै जोडिएको अर्को रोचक तथ्य पनि छ। सर्वाधिक गोल खाने टिम पनि फ्रेन्ड्स नै हो। फ्रेन्ड्सले ३७ गोल खाएको छ। गोल खाएकै आधारमा भन्दा फ्रेन्ड्स सबैभन्दा कमजोर रक्षापंक्ति भएको टिम हो। फ्रेन्ड्सले जम्मा पाँच खेलमा मात्र गोल खाएन। ती पाँचमध्ये तीन खेलमा फ्रेन्ड्सले जित हात पार्‍यो। त्यो पनि १४ गोल गरेर।

शुक्रबार अन्तिम खेल खेलेको फ्रेन्ड्सले नेपाल एपीएफ क्लबलाई ४-० ले हरायो। दशरथ रंगशालामा हासिल यो जितले फ्रेन्ड्सलाई रेलिगेसनबाट बचायो। अन्तिम खेल जितेको फ्रेन्ड्सले रेलिगेसन टार्दा एफसी खुमलटार भने बी डिभिजनमा झरेको छ। खुमलटार शुक्रबारै एन्फा कम्पलेक्सको मैदानमा चर्च ब्वाइजसँग २-० ले हार्‍यो।

रेलिगेसनमा पर्ने दोस्रो टिमको टुंगो शनिबार लाग्नेछ। दोस्रो टिम थ्रीस्टार क्लब र एपीएएफमध्ये एक हुनेछ। हाल थ्रीस्टारको २९ र एपीएफको ३० अंक छ। थ्रीस्टार दशरथ रंगशालामा जावलाखेल युथ क्लबसँग आमनेसामने हुँदैछ। यो खेलको नतिजाले थ्रीस्टारको मात्र नभई एपीएफको पनि भविष्यको निक्र्योल गर्नेछ।

हाल चौथो स्थानमा रहेको जावलाखेललाई हराए थ्रीस्टार रेलिगेसनबाट बच्नेछ। थ्रीस्टार जोगिनु भनेको एपीएफ घटुवा हुनु हो। तर थ्रीस्टार बराबरीमा रोकिए वा पराजित भए एपीएफ ए डिभिजनमै रहनेछ। किनभने हेड-टु-हेडमा एपीएफ थ्रीस्टारभन्दा अगाडि छ।

मुस्किलले जोगिएको फ्रेन्ड्स
यसपालि फ्रेन्ड्सले नवप्रवेशी खुमलटारसँग हार भोग्दै लिगको सुरुवात गरेको थियो। दोस्रो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको फ्रेन्ड्स तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजित भयो। चौथो खेलमा पुगेर पहिलो जित हात पार्‍यो। जित जावलाखेलमाथि थियो। पाँचौँ, छैठौँ र सातौँ खेलमा फ्रेन्ड्स लगातार पराजित भयो।

आठौँ खेलमा चर्च ब्वाइजलाई बराबरीमा रोकेको फ्रेन्ड्सले नवौँ खेलमा हिमालयन शेर्पाविरुद्ध ६-० को जित दर्ता गर्‍यो। १० औँ खेलमा संकटा क्लबलाई पन्छाएपछि फ्रेन्ड्स १० औँ स्थानमा उक्लियो। त्यसबेलासम्म फ्रेन्ड्सले ११ अंक बटुलिसकेको थियो।

लिगमा १० औँ चरण सकिँदासम्म फ्रेन्ड्सलाई रेलिगेसनको दाबेदार मान्न थालियो। किनभने त्यसबेला फ्रेन्ड्स र रेलिगेसन क्षेत्रबीच मात्र एक अंकको दूरी थियो। लगातार अस्थिर प्रदर्शन गरेको फ्रेन्ड्स त्यसपछि अधिकांश समय संघर्षरत रह्यो।

लिगका आधा खेल सकिँदा ११ औँ स्थानमा रहेको फ्रेन्ड्स त्यसपछि लगभग रेलिगेसन क्षेत्रमा अड्कियो। लिगको १४ औँदेखि २६ औँ चरणको बीचमा फ्रेन्ड्स जम्मा दुई पटक मात्र रेलिगेसनबाट बाहिर रह्यो। फ्रेन्ड्स रेलिगेसनबाट दोस्रो पटक बाहिर भएको शुक्रबार मात्र हो।

उसो त फ्रेन्ड्स यसपालि मात्र मुस्किलले रेलिगेसनबाट जोगिएको होइन। गत सिजन पनि एक खेल बाँकी रहँदा फ्रेन्ड्सले ए डिभिजन हैसियत जोगाएको थियो। १३ औँ चरणमा सीमित लिगमा फ्रेन्ड्स ११ खेल खेलिसक्दा पनि रेलिगेसन क्षेत्रमै थियो। १२ औँ चरणमा च्यासल युथ क्लबलाई हराएपछि भने फ्रेन्ड्स ए डिभिजन लिगमै रहने पक्का भएको थियो।

‘अर्को सिजन च्याम्पियन बन्ने लक्ष्य राख्छौँ’
गत सिजन मुख्य प्रशिक्षक रहेका मृगेन्द्र मिश्र यसपल्ट फ्रेन्ड्समा प्राविधिक निर्देशकको भूमिकामा थिए। मुख्य प्रशिक्षकको जिम्मा उर्जन श्रेष्ठलाई दिइएको थियो। उर्जन गएको सिजन थ्रीस्टारमा थिए। उर्जन मुख्य प्रशिक्षक भए पनि मृगेन्द्र खुम्चिएनन्। प्रत्येक खेलमा उर्जन जत्तिकै टचलाइनमा देखिनु यसको प्रमाण हो।

एपीएफसँगको खेलपछि पत्रकार सम्मेलनमा मृगेन्द्र नै आए। हाँसिलो मुद्रामा प्रस्तुत भएका मृगेन्द्रको प्रारम्भिक प्रतिक्रिया थियो, ‘अन्तिम खेल जित्दै रेलिगेसनबाट जोगिन्छौँ भन्नेमा विश्वस्त थिए।’

‘मैले हिजो मात्र एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएको थिएँ। त्यही मैले भनेको हो, फ्रेन्ड्स रेलिगेट हुँदैन भनेर। नपत्याए त्यो अन्तरवार्ता हेरे हुन्छ,’ प्रफुल्लित मृगेन्द्र रोकिएनन्।

शीर्ष श्रेणीको लिगमा हैसियत जोगाएकाले मृगेन्द्र अरुबेलाभन्दा उत्साहित हुनु स्वाभाविक थियो। त्यही मेसोमा उनले अर्को सिजनको योजना सुनाए। क्लबको व्यस्थापनमाथि गुनासो पनि पोख्न भ्याए।

‘मैले त यसैपालि राष्ट्रिय टिमका चार खेलाडी ल्याउन खोजेको हो। किनभने लक्ष्य च्याम्पियन बन्ने थियो। तर व्यवस्थापनसँग कुरा मिलेन। अर्को वर्ष चाहिँ च्याम्पियन बन्नेगरी टिम निर्माण गर्ने हो,’ मृगेन्द्रले भने, ‘क्लबको वार्षिक आम्दानी ६०-७० लाख छ। बलियो टिम बनाउन बजेट पुग्छ। फ्रेन्ड्स भोको बाघ हो, च्याम्पियन नबनी छाड्दैन।’

रेलिगेसनको संघारमा एपीएफ
शीर्ष तीनको लक्ष्य राखेर लिगमा होमिएको एपीएफले मिश्रित सुरुवात गरेको थियो। संयोगवश पहिलो खेलमा थ्रीस्टारलाई हराएको एपीएफले सुरुवाती पाँच खेलबाट सात अंक बटुलेको थियो। त्यसपछि एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र गत सिजनको च्याम्पियन मछिन्द्र क्लबलाई हरायो भने यसपालिको च्याम्पियन चर्च ब्वाइजलाई बराबरीमा रोक्यो।

१० खेल खेलिसक्दा आठौँ स्थानमा रहेको एपीएफ लिगका आधा खेल सकिँदा शीर्ष ६ मा थियो। तर एपीएफले सिजनको दोस्रो भागमा भने खराब प्रदर्शन गरिरह्यो। यसको उदाहरण हो, दोस्रो भेटमा पुलिस, मछिन्द्र र चर्च ब्वाइजसँगको हार। पछिल्ला १३ खेलमध्ये एपीएफले तीनमा मात्र तीन-तीन अंक बटुल्यो।

लिगको पहिलो भागमा १३ खेलबाट १८ अंक बटुलेको एपीएफ दोस्रो भागमा त्यति नै खेलबाट १२ अंक मात्र जोड्न सक्यो। २२ खेल खेल्दा छैठौँ स्थान ओगटेको एपीएफ रेलिगेसन क्षेत्रबाट पाँच अंकले टाढा थियो। कसिलो अंक तालिका भए पनि एपीएफलाई रेलिगेसन अरु धेरै टिमको जस्तो रेलिगेसनको त्रास थिएन। तर त्यपछिका चार खेलमा तीन हार व्यहोरेपछि भने एपीएफ रेलिगेसनको संघारमा पुगेको हो।

शुक्रबार फ्रेन्ड्ससँगको खेलमा खाएको गोलसमेत गरेर एपीएफले चार खेलमा १२ गोल खाएको छ। यी खेलमा एपीएफले फर्काएको गोल संख्या चार मात्र हो। यो बीचमा पुछारको एपीएफ शीर्षस्थानको चर्च ब्वाइजसँग ४-१ र पुछारको खुमलटारसँग ३-१ ले हार्‍यो। अनि थ्रीस्टारविरुद्ध भने १-१ को बराबरी खेल्यो। पछिल्ला चार खेलमा गरेको प्रर्दशनका कारण एपीएफ रेलिगेसननजिक पुगेको हो।

‘यो सिजन हामीले निकै उतारचडाव भोग्यौँ। सुरुवात राम्रै गरेको भए पनि बीचमा हाम्रो प्रदर्शन स्थिर भएन। फेरि पछिल्लो समय तीन खेलमा हार्न पुग्यौँ। थ्रीस्टारसँगको बराबरीले पनि घाटा भयो,’ एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले भने।

अब रेलिगेसनबाट बच्ने सम्भावना गणितीय मात्र रहेको रत्नकाजीको स्वीकारोक्ति थियो। ‘रेलिगेसनबाट बच्न हामीले दुई खेल जिते पुग्ने थियो। तर अब अर्को टिममा भरपर्नु पर्ने स्थिति आइपरेको छ,’ रत्नकाजीको भनाइ थियो।

२०६२ बाट ए डिभिजन लिग खेलेको एपीएफ त्यसपछि रेलिगेसनमा परेको छैन। आफू खेलाडी हुँदा लिग खेल्न थालेको क्लब अहिले आफैँ प्रशिक्षक भएका बेला रेलिगेसन नजिक पुग्दा दुःख लागेको रत्नकाजीले बताए। ‘यो स्थितिमा आइपुगिन्छ भन्ने सोचेको थिएनौँ। सायद मैले आफ्नो जिम्मेवारी सही ढंगमा पूरा गर्न सकिन। यसका लागि माफी माग्न चाहन्छु,’ रत्नकाजीले निराशा पोखे।

प्रकाशित: २६ जेठ २०८० २३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =