उपाधि होडमा चर्च ब्वाइज र मछिन्द्र मात्र बाँकी

हिमाल प्रेस २० जेठ २०८० २२:४९
48
SHARES
उपाधि होडमा चर्च ब्वाइज र मछिन्द्र मात्र बाँकी

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा १७ औँ चरण सकिँदा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेडको अंक बराबर थियो। दुवैले ३०-३० अंक बटुलेका थिए। यद्यपि गोल अन्तरमा अगाडि भएकाले जावलाखेलले शीर्षस्थान आगटेको थियो।

त्यसपछिका सात खेलका नतिजाले भने यी दुई टिमबीच दूरी बढाइदियो। चर्च ब्वाइज शीर्षस्थानमा रहिरह्यो भने जावलाखेल तेस्रोमा झर्यो, त्यही अड्कियो। अब त चर्च ब्वाइजले जावलाखेलमाथि सात अंकको अग्रता कायम गरेको छ। यत्तिको अग्रता चर्च ब्वाइजले शनिबार जावलाखेललाई ३-० ले पराजित गरेपछि कायम भएको हो। अब चर्च ब्वाइजको ४४ अंक भएको छ भने जावलाखेसँग ३७ अंक छ।

अंकको अर्को संयोग, १७ औँ चरणपछि जावलाखेलले जम्मा सात खेलमा सात अंक मात्र थपेको छ। जबकि चर्च ब्वाइजले त्यसको ठ्याक्कै दोब्बर, मतलब १४।

दशरथ रंगशालामा जावलाखेलमाथिको जितमा चर्च ब्वाइजका आशिष चौधरीले दुई तथा अन्जन विष्टले एक गोल गरे। पहिलो हाफ सएिकपछि थपिएको समयमा अन्जनले चर्च ब्वाइजको पहिलो गोल गरेका थिए। गोल पेनाल्टीका कारण सम्भव भयो। अन्जन आफैँले प्रहार गरेको पेनाल्टी जावलाखेलका गोलरक्षक इश्वर गुरुङले ब्लक गरेका थिए। तर रिबाउन्डमा आएको बललाई अन्जनले जाली चुमाए।

आशिषले चर्चब्वाइजको अग्रता ८८ औँ मिनेटमा दोब्बर बनाए। कमल श्रेष्ठले राइट विंगबाट दिएको क्रसमा आशिषले हेडर गोल गरेका थिए। आशिष त्यतिमा रोकिएनन्। थपिएको समयमा फेरि गोल गरे। एरिक विष्टको कर्नरबाट आएको बल जावलखेलका गोलरक्षक इश्वरले सुरुमा खुट्टाले छेकेका थिए। त्यसपछि बल कप्तान सीमान्त थापाले पाए तर उनले क्लियर गर्न सकेनन्। त्यही स्थितिको फाइदा उठाउँदै आशिषले चर्च ब्वाइजको तेस्रो गोल गरे।

यो हारपछि जावालखेल उपाधि होडबाट बाहिरिएको छ। आगामी दुई खेलमा सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लबलाई हराए पनि जावलाखेल च्याम्पियन बन्ने स्थितिमा छैन। ‘हामी अब उपाधि होडबाट बाहिरिएका छौँ। अब हामी अन्तिम दुई खेलमा केन्द्रित हुनेछौँ,’ पाँच खेलमा एक जित हात पारेको जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भने।

श्रमस्वीकृतिको अवधि सकिएका कारण जावलाखेलका कुनै पनि विदेशी खेलाडी मैदान उत्रिन पाएनन्। टिमका उच्च गोलकर्ता एन्टोको मासोअबी, अर्का फरवार्ड फोडे फोफाना, मिडफिल्डर अब्दुल मजिद शामाटे र अब्दुलअजिज निशोनभइभको श्रम स्वकिृतिको अवधि सकिएको हो। पहिलो एघारका चार खेलाडी टिममा नहुनु नै हारको कारण बनेको सुनिलको जिकिर थियो।

‘पहिलो रोजाइका चार खेलाडी नभएपछि ठूलो असर प¥यो। फेरि यी खेलाडी खेल्न नपाउने भन्ने खबर हिजो राति मात्र पाए। अलिक अगाडि थाहा पाएको भए फरक किसिमको तयारी गरिन्थ्यो,’ सुनिलले दुखेसो पोखे।

ती चार खेलाडीको अनुपस्थितिमा टिम सेट हुन नसकेको र बाँकी खेलाडीले खराब प्रदर्शन गरेको सुनिलको भनाइ थियो। ‘खेल हो, हारजित हुन्छ। स्वाभाविक हो। तर यत्तिको खराब खेलिएला, यत्तिको अन्तरले हारिएला भनेर सोचेको थिइनँ,’ सुनिलले भने।

जावलाखेलले जस्तै चर्च ब्वाइजले पनि १० नेपाली र एक भारतीयलाई पहिलो एघारमा राखेको थियो। पहिलो रोजाइका गोलरक्षक यभेस प्रिसोको स्थान रेम्बो चौधरीले लिएका थिए भने रक्षक फ्रान्किलन टल्ला नुहँदा शुसिल शाहलाई रक्षापंक्तिमा झारिएको थियो।

विदेशी खेलाडीको अनुपस्थितिमा पनि जित दर्ता गर्न सकेको भन्दै चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्ना खेलाडीको तारिफ गरे। ‘विदेशी खेलाडी थिएनौँ, त्यही अनुसार योजना बनाएको थियौँ। खेलाडीहरुले योजना अनुसार खेले। सुरुवातबाटै बल पोसेसन राख्यौँ। तर दोस्रो हाफमा भने यसमा केही कमी आयो,’ बालगोपालले भने, ‘आखिरमा तीन अंक बटुल्न सकियो। पछिल्लो समय खेलाडीहरु आत्मविश्वासी भएका छन्। बेन्चका खेलाडी पनि आएर राम्रो खेलिरहेका छन्।’

बालगोपालले चर्च ब्वाइज च्याम्पियन बन्ने पक्का नभइसकेको बताए। दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको नतिजाले मात्र उपाधि सम्भावनाबारे टिप्पणी गर्न सकिने उनको भनाइ थियो।

मछिन्द्र आइतबार चौथो स्थानको पुलिससँग च्यासल रंगशालामा आमनेसामने हुँदैछ। यो खेलमा मछिन्द्र पराजित भए, चर्च ब्वाइज उपाधिको नजिक पुग्नेछ। लिगमा सबैभन्दा बलियो लयमा रहेको पुलिससँगको खेल जिते मछिन्द्रले उपाधि आशा कायम राख्नेछ।

पुलिसपछि मछिन्द्र हिमालय शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नेछ। चर्च ब्वाइजको अन्तिम दुई खेल भने तुलनात्मक रुपमा सजिलो छ। लिग लिडरले रेलिगेसनबाट बच्न संघर्षरत थ्रीस्टार क्लब र एफसी खुमलटारसँग प्रतिस्पर्धा गर्ने तालिका छ। चर्च ब्वाइजले अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र एफसी खुमलटारसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबार नै मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब, न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा तथा खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यी खेलका नतिजाले रेलिगेसनको रुपरेखा कोर्नेछ। हाल खुमलटार २४ अंकसहित पुछारमा छ भने एक अंक बढी भएको फ्रेन्ड्स १३ औँ स्थानमा छ।

एनआरटी र संकटा क्रमशः २९ र २७ अंक बटुलेर १० औँ र १२ औँ स्थानमा छन्। ११ औँ स्थानमा थ्रीस्टार छ। शनिबार एपीएफ क्लबसँग १-१ को बराबरी खेलेपछि थ्रीस्टारको खातामा २८ अंक छ। एपीएफ भने ३० अंक बोकेर नवौँ स्थानमा छ। खुमलटारसँग खेल्न लागेको हिमालयन शेर्पा हाल आठौँ स्थानमा छ। हिमालयन शेर्पासँग पनि ३० अंक नै छ।

प्रकाशित: २० जेठ २०८० २२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =