ए डिभिजन लिग : उत्तरार्द्धमा बढ्दो राप, रेफ्रीमाथि हमलाको प्रयास

हिमाल प्रेस २१ जेठ २०८० २३:३१
144
SHARES
ए डिभिजन लिग : उत्तरार्द्धमा बढ्दो राप, रेफ्रीमाथि हमलाको प्रयास रेफ्रीमाथि जाइलाग्न खोज्दै मनाङका पदाधिकारी। तस्बिर : क्लिक स्पोर्ट्स नेपाल

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग उत्तरार्द्धमा पुग्दै गर्दा रेलिगसनको लडाइँ उत्कर्षमा पुगेको छ। २४ औँ चरण सकिँदा पुछारका तीन टिमबीच दुई-दुई अंकको मात्र फरक छ। त्यसैगरी आठौँदेखि ११ औँ स्थानसम्मका टिमको समान ३०-३० अंक छ।

यस्तोमा रेलिगेसनको स्पष्ट तस्बिरका लागि लिगको अन्तिम दिनसम्मै पर्खनुपर्ने देखिएको छ। हाल रेलिगेसन क्षेत्रमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार यथावत् छन्। यी दुई टिम आइतबार दशरथ रंगशालामा ओर्लिएका थिए। साँझको खेलमा फ्रेन्ड्सले मनाङ मस्र्याङ्दी क्लबसँग १-१ को बराबरी खेल्यो भने खुमलटार संकटा क्लबसँग ३-० ले पराजित भयो।

मनाङसँगको बराबरीपछि फ्रेन्ड्सको २६ अंक भएको छ। पुछारको खुमलटारसँग २४ अंक छ। शनिबार एपीएफ फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थ्रीस्टारले फ्रेन्ड्सभन्दा दुई अंक बढी बटुलेको छ। आठौँ स्थानको एपीएफ, नवौँ स्थानको न्युरोड टिम एनआरटी, १० औँ स्थानको संकटा क्लब र ११ औँ स्थानको त्रिभुवन आर्मी फुटबल क्लबसँग ३०-३० अंक छ।

एनआरटीले आइतबार दशरथ रंगशालामै हिमालयन शेर्पा क्लबलाई १-१ को बराबरीमा रोकेको थियो। दुई टिमले तीन मिनेटभित्र गोल गरेका थिए। दिवस उराउले ५२ औँ मिनेटमा गोल गरेपछि खेलमा अघि बढेको हिमालयन शेर्पा ५५ औँ मिनेटमा गोल खान पुग्यो। एनआरटीलाई हारबाट जोगाउन दिपेश आले मगरले गोल गरे। यो सिजन सब्स्टिच्युट भूमिकामा रहेका दिपेशले दोस्रो पटक गोल गरेका हुन्। त्यो पनि मैदान प्रवेश गरेको १० मिनेटभित्रै।

पाँच खेलमा तीन बराबरी गरेको हिमालयन शेर्पा हाल सातौँ स्थानमा छ। मध्य सिजनमा रेलिगेसनबाट जम्मा एक अंकले माथि रहेका हिमालयन शेर्पाले पछिल्ला ११ खेलबाट १७ अंक बटुलेको हो। ती ११ खेलमध्ये हिमालयन शेर्पा दुई खेलमा मात्र पराजित भएको छ।

‘३२ अंक नभएका सबै टिमलाई दबाब छ’
फ्रेन्ड्सलाई हारबाट बचाउन अमित तामाङले ८६ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। चेतन कुमार थारुले उत्तम राईलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो। जसमा अमितले मनाङका गोलरक्षक दीप कार्कीलाई सजिलै बिट गरे। संयोगवश गोलकर्ता अमित र उत्तम एकैसाथ दोस्रो हाफको ६१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।

मनाङले पनि दोस्रो हाफमै गोल गरेका थियो। मनाङको गोल निरन्जन धामीको नाममा रह्यो। यो सिजन चौथो पटक मनाङको पहिलो एघारमा परेको निरन्जनले विजय श्रेष्ठको कर्नरमा हेडर गोल गरेका थिए। श्रम स्वकिृतिको अवधि सकिएकाले विदेशी खेलाडी उपलब्ध नभएपछि मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङले निरन्जनलाई अग्रपंक्तिको जिम्मा लगाएका थिए।

खेलपछि फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो रक्षापंक्ति फेरि एकपल्ट मार्किङमा चुकेको प्रतिक्रिया दिए। ‘आफ्नै गल्तीले गोल खाइयो। सामान्य तरिकाले बल क्लियर गर्न नसक्दा बल कर्नर भयो। कर्नरमा म्यान मार्किङ भएन। आज मात्र होइन, सिजनभर नै यो समस्या देखिएको छ, जति प्रयास गर्दा पनि समाधान गर्न सकिएन। अब त सिजन नै सकिन लाग्यो,’ उर्जनले भने।

उर्जनले रेलिगेसनको दबाब फ्रेन्ड्सलाई मात्र नभएर अरु टिमलाई पनि रहेको जिकिर गरे। ‘हो, हामीलाई रेलिगेसनको दबाब छ। तर अरु धेरै क्लब पनि सुरक्षित छैनन्। खासमा को रेलिगेट हुन्छ भन्ने नै टुंगो छैन। मेरो विचारमा ३२-३३ अंक नहुने सबै टिम खतरामा छन्,’ उर्जनको भनाइ थियो।

फ्रेन्ड्सले अब अन्तिम दुई खेलमा संकटा र एपीएफको सामना गर्नेछ। यसअघिका भिडन्तमा फ्रेन्ड्सले संकटालाई हराएको थियो भने एपीएफलाई बराबरीमा रोकेको थियो। उर्जनले संकटासँगको खेल आफ्नो टिमका लागि सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

‘रेलिगेसनबाट बच्ने लडाइँमा संकटासँगको खेल महत्त्वपूर्ण हुनेवाला छ। यो खेललाई लिएर हामी आत्मविश्वासी छौँ। किनभने संकटालाई हामीले पहिले पनि हराएको हो। त्यसमाथि हाम्रा विदेशी खेलाडीको पनि पुनरागमन हुनेछ,’ उर्जनले भने।

उता मनाङका मुख्य प्रशिक्षक विष्णुले आफ्नो टिम रेलिगेसनबाट सुरक्षित भइसकेको बताए। आफूले मनाङको प्रशिक्षण सम्हालेपछि खेलाडीहरुको प्रदर्शनमा सुधार आएको पनि उनको भनाइ थियो। ‘मेरो नेतृत्वमा मनाङ अपराजित छ। खेलाडीहरु पनि रणनीतिक रुपमा निखारिएका छन्। पहिलेको तुलनामा अब्बल प्रदर्शन गरिरहेका छन्,’ विष्णुले भने।

विष्णु १५ अ‍ैँ चरणबाट मनाङको मुख्य प्रशिक्षक बनेका हुन्। किरण श्रेष्ठले राजीनामा दिएपछि मनाङले उनलाई टिमको जिम्मेवारी दिएको हो। उनको प्रशिक्षणमा मनाङले १० खेल खेलेको छ। तीमध्ये आठ खेलमा बराबरी गरेको मनाङले दुई खेलमा मात्रै जित हात पारेको छ। मनाङ हाल ३२ अंकसहित छैटौँ स्थानमा छ।

मछिन्द्र हार्दा चर्च ब्वाइजलाई फाइदा
चर्च ब्वाइज युनाइटेड आइतबार मैदानमा थिएन। तर मैदान नओर्लिएको भए पनि चर्च ब्वाइजले जितेसरह भयो। यसको कारण हो, मछिन्द्र फुटबल क्लबको हार। मछिन्द्रलाई नेपाल पुलिस क्लबले २-१ ले हरायो। यो जितले पुलिसलाई तेस्रो स्थानको दाबेदार त बनायो नै, चर्च ब्वाइजलाई उपाधिनजिक पुर्यायो।

च्यासल रंगशालामा पुलिससँग हारेपछि मछिन्द्रको चर्च ब्वाइजमाथि दबाब सिर्जना गर्ने अवसर गुम्यो। शनिबार जावलाखेल युथ क्लबलाई पन्छाएको चर्च ब्वाइज र मछिन्द्रबीचको पाँच अंकको दूरी अब स्थापित भएको छ। चर्च ब्वाइजसँग ४४ अंक छ भने मछिन्द्र ३९ अंकमा अड्किएको छ। तेस्रो स्थानको जावलाखेल र चौथो स्थानको पुलिसको ३७-३७ अंक छ।

उपाधि होडमा बाँकी रहेका चर्च ब्वाइज र मछिन्द्रले दुई-दुई खेल खेल्न बाँकी छ। चर्च ब्वाइजले मंगलबार थ्रीस्टार र शुक्रबार खुमलटारको सामना गर्नेछ। उत मछिन्द्रको भेट भने हिमालय शेर्पा र मनाङसँग हुनेछ। मछिन्द्र हिमालयन शेर्पासँग बुधबार र मनाङसँग शनिबार भिड्नेछ।

सात खेलमा अपराजित रहेको मछिन्द्रलाई निराश बनाउन पुलिसका दुवै गोल मोसेस ग्यबाह टुमले गरे। उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए। अग्रता भने मछिन्द्रले पहिलो हाफको २५ औँ मिनेटमा लिएको थियो। गत मंगलबार सातदोबाटो युथ क्लबमाथिको जितमा ह्याट्रिक गरेका अफिज ओलावाले ओलाडिपोले मछिन्द्रलाई अग्रता दिलाएका थिए।

लिग उपाधि दौड उत्तरार्द्धमा पुग्दै गर्दा हार व्यहोरे पनि मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले आफ्नो टिम च्याम्पियन बन्ने सम्भावना जीवितै रहेको प्रतिक्रिया दिए। ‘अझै दुई खेल बाँकी छ। तर जे पनि हुनसक्छ। अहिलेको समीकरण नै त्यस्तै छ,’ किशोरले भने।

मछिन्द्रले पहिलो गोल फ्रिकिकमा खाएको थियो। दिवाकर चौधरीले मोसेसमाथि फाउल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो। जसमा मोसेसले सिधै गोल गरेका थिए।

दोस्रो गोल पनि मछिन्द्रले आफ्नै गल्तीका कारण खायो। मिडफिल्डमा पुजन उपरकोटीले बल नियन्त्रणमा लिँदा हेलचेक्र्याई गरेपछि मोसेसले बल पाएका थिए। १८ यार्ड बक्सबाहिर मोसेसले बल पाउँदा मछिन्द्रको रक्षापंक्ति एक्कासी दबाबमा पर्यो। आफ्नो क्षेत्रमा पुलिसका खेलाडीको संख्या बढी भएपछि मछिन्द्रका रक्षकहरु आत्तिए। त्यहीबेला मोसेसले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले भेउ नै नपाउनेगरी गोल गरे।

रेफ्रीमाथि हमलाको प्रयास
मछिन्द्र र पुलिस तथा मनाङ र फ्रेन्ड्सबीचको खेलपछि प्रशिक्षकहरुले रेफ्रीको आलोचना त गरे नै, क्लब अफिसियलहरुले भने हमलाकै प्रयास गरे। च्यासलमा खेल सकिनसाथ मछिन्द्रको पूरै बेन्च रेफ्री प्रज्वल क्षेत्री तथा सहायक रेफ्रीद्वय किशन कनैया यादव र हरिश कार्कीमाथि खनिएको थियो।

रेफ्री प्रज्वलले अन्तिम सिट्ठी फुकेपछि उनीमाथि मछिन्द्रका स्ट्राइकर ओलावाले जाइलाग्ने खोजे। ओलावालेलाई पुजन उपरकोटीले रोकेका थिए। ओलावालेलाई रोक्न पुजनलाई हम्मेहम्मे परेको थियो।

सुरक्षा गार्डको घेरामा मैदानबाहिर आउँदै गरेका रेफ्री तथा सहायक रेफ्रीहरुमाथि मछिन्द्रका मिडफिल्डर आशिष श्रेष्ठ जाइलाग्न गए। उनलाई प्रज्वलले रातो कार्ड देखाए। त्यसपछि व्यवस्थापक अनिल श्रेष्ठ, सहायक प्रशिक्षक सन्तोष न्यौपानेलगायत पनि रेफ्रीहरुमथि खनिए। हातपातको प्रयास गरे। अनिल राष्ट्रिय टिमको पनि व्यवस्थापक हुन्।

मछिन्द्रका मुख्य प्रशिक्षक किशोरले आफूहरुलाई पेनाल्टीबाट वञ्चित गरिएकाले आक्रोश व्यक्त भएको प्रतिक्रिया दिए। युता सुजुकीको प्रहार पेनाल्टी बक्सभित्र रहेका पुलिसका अन्जन राईको हातमा लागेको तर पेनाल्टी नपाएको किशोरको दाबी थियो।

उता दशरथ रंगशालामा भने मनाङका अध्यक्ष विजय घलेले नै रेफ्रीमाथि हमलाको प्रयास गरे। रेफ्री कविन व्यन्जनकारले फ्रेन्ड्सलाई पेनाल्टी दिएपछि मनाङका पदाधिकारी तथा बेन्चमा रहेक प्रशिक्षक र खेलाडीहरु आक्रोशित बनेका थिए। मनाङ अध्यक्ष विजय सुरुमा टचलाइनबाट रेफ्री तथा सहायक रेफ्रीहरुमाथि चिच्याइरहेका थिए।

त्यहाँबाट हट्न लिग निर्देशक संजिव मिश्रले सम्झाइरहे पनि विजय घले टसमस भएनन्। दशरथ रंगशालाको भीआईपी प्यारापेटमा विजयसँगै बसेर खेल हेरिरहेका अन्य व्यक्ति पनि मैदानमा झरेका थिए। खेल सकिनसाथ उनीहरुले रेफ्री कविनका साथै सहायक रेफ्रीहरु माधव खत्री र प्रवीण गौतममाथि आक्रमणको प्रयास गरे।

रेफ्रीमाथि जाइलाग्न खोज्दै मनाङका पदाधिकारी। तस्बिर : क्लिक स्पोर्ट्स नेपाल

मनाङका पदाधिकारी, अफिसियल, खेलाडीहरु रेफ्रीको टोलीमाथि जाइलागेपछि स्थिति साम्य पार्न निकैबेर लागेको थियो। त्यहीबीचमा मनाङको जर्सी तथा ज्याकेट लगाएका एक व्यक्तिले भीआईपी प्याारेपेटको एक कुर्सी निकालेर फ्रेन्ड्सका लागि छुट्याइएको प्लेयर बक्समाथि प्रहार गरेका थिए। जसकारण प्लेयर बक्सको छानामा व्वाल परेको छ।

खेलपछिको पत्रकार सम्मेलनमा मनाङका मुख्य प्रशिक्षक विष्णु गुरुङले रेफ्रीको गलत निर्णयका कारण आफूहरु आक्रोशित बनेको जिकिर गरे। उनले कतिपय रेफ्रीले फिफाको ब्याच नै लगाउन नहुने पनि बताए। ‘प्लेयर बक्समाथि कुर्सी हानिएकोप्रति भने म आफ्नोतर्फबाट माफी माग्न चाहन्छु,’ विष्णुले भने।

फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेल दौरान रेफ्रीले दिने निर्णयका कारण आक्रोशित हुनु सामान्य भए पनि प्लेयर बक्समाथि कुर्सी प्रहार गर्नु मनाङकोतर्फबाट गल्ती भएको बताए। ‘यसो गर्नु ठूलो दुर्घटना निम्त्याउनु हो। कुर्सीले प्लेयर बक्स छेडेको छ। त्यसबेला कुनै खलाडीको टाउकोमा लागेको भए के हुन्थ्यो?,’ उर्जनले प्रश्न गरे।

लिग निर्देशक संजिव मिश्रले म्याच कमिस्नरको रिपोर्ट र फुटेजका आधारमा मनाङलाई कारबाहीको सिफारिस गरिने जानकारी दिए। उनले यो घटनापछि सुरक्षा गार्डको संख्या कम महसुस गरेको र आगामी खेलमा गार्डको संख्या बढाउने पनि बताए।

प्रकाशित: २१ जेठ २०८० २३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =