ए डिभिजन लिग : उपविजेताको टुंगो लाग्यो, रेलिगेसनको अन्योल कायमै

हिमाल प्रेस २४ जेठ २०८० २३:०६
144
SHARES
ए डिभिजन लिग : उपविजेताको टुंगो लाग्यो, रेलिगेसनको अन्योल कायमै

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन निश्चित भइसक्यो। उपविजेताको पनि बुधबार टुंगो लागेको छ। तर रेलिगेसनको लडाइँ भने तन्किएको छ। लिगमा २५ औँ चरण सकिँदा चार क्लब रेलिगेसनको घेराभित्र छन्।

दशरथ रंगशालामा हिमालयन शेर्पालाई ३-१ ले हराएसँगै मछिन्द्रले उपविजेता बनेको हो। अब मछिन्द्रले एएफसी कप प्लेअफ खेल्न पाउनेछ। खासमा च्याम्पियन चर्च ब्वाइजले यो अवसर पाउनु पर्ने हो। तर एएफसी लाइसेन्स नभएपछि चर्च ब्वाइजले अवसर गुमायो।

यो सिजनको ११ औँ जित हासिल गरेपछि मछिन्द्रको ४२ अंक भएको छ। जुन तेस्रो स्थानको नेपाल पुलिस क्लबको भन्दा चार अंक कम हो। पुलिसले अन्तिम खेलमा सादोबाटो युथ क्लबलाई हराए र मछिन्द्र मनाङ मस्र्याङ्दी क्लबसँग हारे पनि यो समीकरण परिवर्तन हुने छैन।

हिमालयन शेर्पाविरुद्ध मछिन्द्रलाई जिताउन जिताउन अफिज ओलावाले ओलाडिपोले दुई गोल गरे। लिगका उच्च गोलकर्ता ओलावालेको गोल संख्या २१ पुगेको छ। मछिन्द्रको अर्को गोल विमल घर्ती मगरको नाममा रह्यो। हिमालयन शेर्पाका लागि भने पिस्टोने मुटाम्बाले एक गोल फर्काए।

खेलको उत्तरार्द्धमा दुवै टिम १०–१० खेलाडीमा सीमित भएका थिए। अबयोमी फाकुन्लेलाई लडाएवापत मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठलाई ८३ औँ मिनेटमा रातो कार्ड दिइएको थियो। विशालले फाकुन्लेलाई १८ यार्ड बक्सको ठ्याक्कै बाहिर लडाएका थिए। सुरुमा उनलाई पहेलो कार्ड दिइए पनि रेफ्री उमेश बिडारीले सहायक रेफ्रीसँग सल्लाह गरेर रातो कार्ड दिए।

तीन मिनेटपछि हिमालयन शेर्पा पनि १० खेलाडीमा झरेको थियो। मछिन्द्रका ओमोलजा नुरैन करिमसँग झगडा गरेपछि निशान लिम्बुले पनि रातो कार्ड पाएका थिए। पिस्टोने फ्रिकिकका लागि तयार हुँदै गर्दा निशानले बल बोकेका थिए। रेफ्रीको निर्णय चित्त नबुझाएका करिमले निशानले बोकेको बलमा हातले प्रहार गरे। जसकारण उत्तेजित बनेका निशान करिममाथि जाइलागेका थिए। निशानलाई उत्तेजित बनाएका करिमले भने पहेलो कार्ड पाए।

बुधबारको खेल किशोर केसीका लागि मछिन्द्रका मुख्य प्रशिक्षकका रुपमा अन्तिम हुनसक्छ। किनभने मछिन्द्र र किशोरबीचको दुई महिना लामो सम्झौता बुधबारै सकिएको छ। ‘दुई महिनाअघि आजकै दिन मैले दुई महिनाका लागि मछिन्द्रसँग सम्झौता गरेको थियो। त्यो सम्झौता सकिएको छ। क्लबले अब के निर्णय गर्छ थाहा छैन,’ किशोरले भने।

किशोरले सातौँ चरणबाट मछिन्द्रको प्रशिक्षण सम्हालेका थिए। त्यसबेला मछिन्द्र ६ खेलबाट ६ अंक बटुल्दै ११ औँ स्थानमा थियो। प्रवेश कटुवालले राजीनामा दिएपछि मछिन्द्र प्रशिक्षकविहीन थियो। राष्ट्रिय टिमको सहायक प्रशिक्षक बनेपछि प्रवेशले लिगको चौथो खेलपछि मछिन्द्रको जिम्मेवारी त्यागेका थिए। त्यसपछि मछिन्द्रले दुई खेल सहायक प्रशिक्षक सन्तोष न्यौपानेको भरमा खेल्यो। अनि मात्र किशोर मछिन्द्र पुगेका थिए। मछिन्द्रले किशोरको नेतृत्वमा १९ खेल खेलेको छ। तीमध्ये तीनमा मात्र पराजय भोगेको छ।

मछिन्द्रलाई लिग च्याम्पियन बनाउने लक्ष्य भए पनि पूरा नभएको किशोरको भनाइ थियो। ‘यो दुई महिनाको यात्रा निकै मिठो रह्यो। आरोहावरोह भोगियो। उद्देश्य त मछिन्द्रलाई च्याम्पियन बनाउने नै थियो। तर सकिएन,’ किशोरले भने, ‘असफल हुनुका केही कारण छन्। अंक तालिकामा उकालो चढ्दै गर्दा खेलाडीहरु घाइते हुन थाले। बीचमा चर्च ब्वाइजसँग हारियो। उपाधि सम्भावना रहेकै बेला पुलिससँगको पराजित हुन पुग्यौँ।’

पुलिससँग २४ औँ खेलमा हार्नुअघि मछिन्द्र र चर्च ब्वाइजबीच दुई अंकको भिन्नता थियो। तर च्यासलमा भोगेको त्यो हारले मछिन्द्रको लगातार तेस्रो पटक च्याम्पियन बन्ने सपना अन्त्य गरिदियो। पुलिसविरुद्ध मछिन्द्रले दुई विदेशी खेलाडी ओमोलाजा नुरइन करिम र आन्द्रेस निया खेलाउन पाएको थियो। अन्ततः यही कारण पुलिससँगको हारको मात्र होइन, उपाधि सम्भावना सकिनुको कारण बनेको किशोरको बुझाइ छ।

पुछारमा अनिश्चितता
च्यासल रंगशालामा बुधबार नै मनाङले न्युरोड टिम एनआरटीसँग १० को हार व्यहोर्‍यो। एनआरटीका दिपेश आले मगरले पहिलो हाफको १७ औँ मिनेटमा गोल गरे। जुन निर्णायक बन्यो। उनले लगातार दोस्रो खेलमा गोल गरेका हुन्। उनकै गोलको कारण एनआरटी हिमालयन शेर्पासँगको खेलमा हारबाट जोगिएको थियो।

यो जितपछि एनआरटी रेलिगेसनबाट सुरक्षित भयो। छैटौँ स्थानमा उक्लिएको एनआरटीसँग अब ३३ अंक छ। एनआरटी यसअघि ११ औँ स्थानमा थियो। पराजित मनाङ भने छैटौँबाट सातौँ स्थानमा झर्‍यो। मनाङसँग २५ खेलबाट ३२ अंक छ। मनाङले विष्णु गुरुङको प्रशिक्षण्मा पहिलो पराजय भोगेको हो। यसअघि मनाङ १० खेलमा अपराजित थियो।

दशरथ रंगशालामा साँझ संकटा क्लब र फ्रेन्ड्स क्लबले ११ को बराबरी खेले। यो बराबरीले संकटालाई रेलिगेसनबाट बचायो। तर फ्रेन्ड्सको भविष्य अझै अन्योलमा छ। कहिल्यै रेलिगेट नभएको फ्रेन्ड्स हाल १३ औँ स्थानमा छ। अंक बराबर (३०) भए पनि गोल अन्तरमा फ्रेन्ड्स पुछारको एफसी खुमलटारभन्दा माथि रहेको हो।

शनिबार हुने अन्तिम चरणमा फ्रेन्ड्स एपीएफसँग भिड्नेछ। खुमलटार भने एक दिनअघि नै मैदान उत्रनेछ। खुमलटारको अन्तिम विपक्षी हो, चर्च ब्वाइज। उता थ्रीस्टारको भेट जावलाखेल युथ क्लबसँग हुनेछ। यो खेल पनि शनिबार दशरथ रंगशालामै हुनेछ। तर थ्रीस्टार मैदान ओर्लनुअघि नै फ्रेन्ड्स र एपीएफबीचको खेलको नतिजा आइसक्नेछ।

रेलिगेसनबाट बच्न फ्रेन्ड्सलाई आफ्नो खेल जितेर मात्र पुग्नेछैन, थ्रीस्टार जावलाखेलसँग हार्नुपर्नेछ। फ्रेन्ड्सले एपीएफलाई हराए र थ्रीस्टार जावलाखेलसँग हारे, थ्रीस्टार बी डिभिजनमा झर्नेछ।

‘अहिलेसम्मकै प्रतिस्पर्धात्मक लिग’
फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले रेलिगेसनबाट बच्न स्वाभाविक रुपमा दबाब रहेको प्रतिक्रिया दिए। ‘तर दबाब अरु क्लबलाई पनि छ, हामीलाई मात्र होइन। हामीसँग भएको एउटै विकल्प हो, अन्तिम खेल जित्ने,’ लिगमा लगातार तेस्रो बराबरीपछि उर्जनले भने।

संकटासँग आफ्नो टिमले नहार्नेगरि खेलेको उर्जनको भनाइ थियो। विपक्षीभन्दा सुरुमा गोल गरेर जिततर्फ लम्किएको भए पनि कमजोर रक्षापंक्तिका कारण गोल खाँदै रोकिन बाध्य भएको प्रतिक्रिया उर्जनले दिए। ‘हाम्रो कमजोर पक्ष नै रक्षापंक्ति हो। रक्षापंक्ति कमजोर भएकैले गोल खाइएला कि भन्ने डर थियो। गोल नखान एकाग्र भएर खेलेको पनि हो। तर आखिरमा लक्ष्य पूरा भएन,’ उर्जनले भने।

टोरिक जेब्रिनको गोलमार्फ ५३ औँ मिनेटमा अग्रता लिएको फ्रेन्ड्सले ७० औँ मिनेटमा गोल खाएको थियो। संकटालाई हारबाट जोगाउन जुनियर एनकेंगेले गोल गरे। लिगमा दोस्रो सबैभन्दा धेरै गोल गरेको फ्रेन्ड्स सर्वाधिक गोल खाएको टिम हो। फ्रेन्ड्सले ३८ गोल गरेको छ भने ३७ गोल खाएको छ।

उर्जनले आफ्नो जीवनकालमा यसपालिको भन्दा प्रतिस्पर्धात्मक लिग पहिले नदेखेको पनि जिकिर गरे। ‘अंक तालिका हेर्दा लिग हालसम्मकै प्रतिस्पर्धात्मक हो। तर धेरै युवा खेलाडी भएकाले लिगको स्तर अरुबेलाको जस्तो छैन। योभन्दा माथिल्लो स्तरमा पुग्न समय लाग्छ,’ गत सिजन थ्रीस्टारलाई प्रशिक्षण दिएका उर्जनले भने।

प्रकाशित: २४ जेठ २०८० २३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =