नक्कली शरणार्थी प्रकरण : बुधबारसम्म अदालतमा अभियोगपत्र दायर गरिने

हिमाल प्रेस ८ जेठ २०८० १४:५८
4
SHARES
नक्कली शरणार्थी प्रकरण : बुधबारसम्म अदालतमा अभियोगपत्र दायर गरिने प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय लगिँदै।

काठमाडौँ- काठमाडौँ जिल्ला प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ। जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रहरीबाट प्रतिवेदन प्राप्त भएको बताए।

उनका अनुसार प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गर्ने बताए। उनले प्रतिवेदनको अध्ययन सकेर बुधबारसम्म जिल्ला अदालतमा अभियोगपत्र दायर गरिसक्ने बताए। उनले सरकारी वकिल कार्यालयले क–कसलाई के(के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए।

‘अदालतमा मुद्दा लाने समय जेठ १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ,’ उनले भने, ‘पक्राउ परेकाहरूलाई ठगी र संगठित अपराध र राज्यविरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको छ।

यो प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, नेपाल सरकारका सचिवलगायतका १६ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार छन्।

प्रहरीले गत चैत १२ गते सो प्रकरणमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको उजुरी परेको छ।

प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको थियो।

प्रकाशित: ८ जेठ २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =