शरणार्थी प्रकरण : पक्राउ परेका १८ मध्ये लक्ष्मी प्रहरी भएको खुलासा

सन्तोष अधिकारी २४ जेठ २०८० २०:३७
3.4k
SHARES
शरणार्थी प्रकरण : पक्राउ परेका १८ मध्ये लक्ष्मी प्रहरी भएको खुलासा

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना पक्राउ परेका छन्। उनीहरूको बयानपछि अहिले जिल्ला अदालत काठमाडौँमा थुनछेक बयान जारी छ। पक्राउ परेका १८ जनामा प्रहरीले १७ जनाकोमात्रै परिचय खुलाएको पाइएको छ। प्रहरीले लक्ष्मी महर्जनको भने परिचय लुकाएको पाइएको हो। लक्ष्मी नेपाल प्रहरीकी सई हुन्। उनी नेपाल प्रहरी अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित अन्य व्यक्ति पक्राउ गर्दा प्रहरीले उनीहरूको सबै परिचय खुलाएको भए पनि लक्ष्मी पक्राउ गर्दा लक्ष्मी महर्जन पक्राउ भन्नुबाहेक उनको परिचय केही पनि सार्वजनिक गरेको थिएन।
लक्ष्मी यही प्रकरणमा पक्राउ परेका हरिभक्त महर्जनकी श्रीमती हुन्। उनी आफ्नै श्रीमान्‌मार्फत यो प्रकरणमा जोडिएकी हुन्।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले लक्ष्मी प्रहरी भएको सूचना पहिले थाहै नभएको दाबी गरे। अनुसन्धानको क्रममा रकम लेनदेनमा खाता प्रयोग भएको थाहा पाएपछि उनी प्रहरी भएको खुलेको उनले बताए।

लक्ष्मी प्रहरी रहेको प्रहरीले नै किन लुकाएको भन्ने प्रश्नमा कार्कीले हिमालप्रेससँग भने, ‘लुकाउनुपर्ने कुरै छैन। पहिले हामीलाई पनि प्रहरी हो भन्ने थाहा भएन। पछि अनुसन्धान गर्दै जाँदा उसको खाता प्रयोग भएको पाइयो। प्रहरीको सई भएको जानकारी पाइयो।’

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउन उठाएको रकम आदानप्रदान गर्दा हरिभक्त र लक्ष्मीको बैंक खाता प्रयोग भएको पाइएको हो। प्रहरीले अनुसन्धानको क्रममा लक्ष्मीलाई पक्राउ गरेको थिएन। तर अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम समयमा श्रीमान् श्रीमती प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए।

ठगी गरेको रकम आदानप्रदान गर्न खाता प्रयोग भएको पाइएपछि उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, कीर्ते, ठगी, संगठित अपराधको सजाय माग गरेर मुद्दा दर्ता गरिएको छ।

यी हुन् पक्राउ परेका १८ जना

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी
सन्दीप रायमाझी
पूर्वगृहमन्त्री बालकृष्ण खाण
नरेन्द्र केसी
पूर्वगृहसचिव टेकनारायण पाण्डे
इन्द्रजित राई
पूर्वसभासद आङटावा शेर्पा
केशव दुलाल
सानु भण्डारी
टंककुमार गुरुङ
सन्देश शर्मा
सागर राई
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल
हज समिति अध्यक्ष शमशेर मियाँ
रामशरण केसी
गोविन्दकुमार चौधरी
लक्ष्मी महर्जन
हरिभक्त महर्जन

अभियोग लागेका १२ जना भने फरार छन्। नक्कली शरणार्थी प्रकरणमा जम्मा ३० जनाविरुद्ध अदालतमा अभियोग दायर गरिएको छ। उनीहरूविरुद्ध जेठ १० गते ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता भएको छ।

प्रकाशित: २४ जेठ २०८० २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =