नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

हिमाल प्रेस ८ जेठ २०८० १३:३९
44
SHARES
नक्कली शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ। झण्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रतिवेदन आइतबार बुझाउने तयारी भए पनि कागजात अपुग भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले आज बुझाएको हो।

यो प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, नेपाल सरकारका सचिवलगायतका १६ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार छन्।

यस घटनामा १०६ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ। प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने राय  छ।

सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गर्न ८ सदस्यीय कार्यदल बनाइसकेको छ। कार्यदलले प्रतिवेदन अध्ययन गरेर सो प्रकरणको मुद्दा बिहीबारसम्म अदालतमा दायर गर्ने तयारी गरेको छ।

प्रहरीले गत चैत १२ गते सो प्रकरणमा तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको उजुरी परेको छ। प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको थियो।

प्रकाशित: ८ जेठ २०८० १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =