एक महिनाभित्रै नागरिकता विधेयकको टुंगो लाग्छ : प्रधानमन्त्री

हिमाल प्रेस ४ जेठ २०८० १३:५३
4
SHARES
एक महिनाभित्रै नागरिकता विधेयकको टुंगो लाग्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनाभित्रै नागरिकता विधेयकको विषय टुंगो लाग्ने बताएका छन्। आज (बिहीबार) संसद्‌मा भएको प्रश्नोत्तरमा जबाफ दिँदै उनले नागरिकताको विषय चाँडै टुंगो लाग्ने बताएका हुन्।

यसअघिको दुवै सदनबाट दुईपटकसम्म नागरिकता विधेयक पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो। तर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेर राखेकी थिइन्।

‘तत्कालीन राष्ट्रपतिसँग प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यतामात्रै थियो, तर राष्ट्रपति कार्यालयले होल्डमा राखेको स्थिति छ, न फिर्ता, न खारेज न अरू बाटो,’ उनले भने, ‘त्यो विधेयक अब के हुने? नयाँ सदन र नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा अन्य बाटो छ भन्ने विषयमा छलफल चलिरहेको छ।’

प्रधानमन्त्री प्रचण्डले यस विषयमा बार एसोसियसन, संविधान र कानुनविज्ञहरूसँग छलफल गरेको पनि बताए। छलफलबाट सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न बाधा छैन भन्ने सुझाव आएको र सो सुझाव राष्ट्रपतिलाई जानकारी दिएको उनको भनाइ छ।

‘राष्ट्रपतिले संविधान र कानुनविद्हरूसँग राय लिएर टुंगो लगाउँछु भन्नु भएको छ,’ उनी भन्छन्, ‘नयाँ सदनबाट त्यसको विषयमा संकल्प प्रस्ताव वा अन्य कुनै प्रस्तावमार्फत् वा मन्त्रिपरिषद्‍बाट निर्णय गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न अनुरोध गर्ने वा त्यो खारेज गरेर अर्को नयाँ विधेयक ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ, एक महिनाभित्र टुंगो लाग्छ।’

प्रकाशित: ४ जेठ २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =