संयमित चर्च ब्वाइज, सन्तोकी थ्रीस्टार; रेलिगेसनबाट टाढिने प्रयासमा पुलिस

हिमाल प्रेस २ जेठ २०८० २२:१३
44
SHARES
संयमित चर्च ब्वाइज, सन्तोकी थ्रीस्टार; रेलिगेसनबाट टाढिने प्रयासमा पुलिस

काठमाडौँ- चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ। दशरथ रंगशालामा मंगलबार साँझ सातदोबाटो युथ क्लबलाई १-० ले हराएपछि चर्च ब्वाइजले अंक तालिकाको पहिलो स्थानमा पुनरागमन गरेको हो। चर्च ब्वाइजको खातामा १८ खेलबाट ३३ अंक जम्मा भएको छ। दोस्रो स्थानको जावलाखेल युथ क्लबसँग ३१ अंक छ।

चर्च ब्वाइजलाई जिताउन सुभाष गुरुङले दोस्रो हाफको ६३ औँ मिनेटमा गोल गरे। सुभाषले १८ यार्ड बक्सभित्र रिबाउन्डबाट आएको बललाई जाली चुमाएका थिए। सातदोबाटोका खेलाडीले चर्च ब्वाइजबाट पटक पटक भएका प्रहार क्लियर गर्न नसक्दा अन्ततः गोल भएको थियो।

आक्रमणको सुरुवात कमल श्रेष्ठको कर्नरबाट भयो। कमलको कर्नर सातदोबाटोका विदेशी मिडफिल्डर इभानले हेडरमार्फत क्लियर गरेका थिए। तर बल १८ यार्ड बक्सबाहिर रहेका साइमन लिम्बुले भेटे। त्यसपछि साइमनले गरेको प्रहार विलियाम ओपोकु एसिडेउलाई लागेर फर्कियो।

विलियामसँग डिफ्लेक्ट भएर मैदानको मध्यभागमा पुगेको बल मनोज राईले भेटे र आशिष चौधरीलाई पास दिए। आशिषले बल लेफ्ट विंगमा पुर्‍याएर क्रस गरे। उनको क्रस अन्जन विष्टले हेडर गर्दै मिलन राईका लागि पास निकालिदिए। मिलनले प्रहार गर्न नसके पनि बल गुमाएनन्। बल अन्जनले पाए। अन्जनले बल सुभाष गुरुङलाई दिए। सुभाषको पहिलो प्रयास अब्दुल लतिफ आबुबकारीले ब्लक गरे। तर रिबाउन्डमा आएको बललाई सुभाषले सातदोबाटोकै पोस्टतिर फर्काइदिए, जसलाई कसैले पनि ब्लक गर्न सकेनन्।

चर्च ब्वाइज बलियो सातदाबाटोलाई पराजित गर्दै फेरि एकपटक लिग लिडर बने पनि मुख्य प्रशिक्षक बालगोपाल महर्जन भने हौसिएका छैनन्। शीर्षस्थानमाथि दुई अंक बनाएता पनि उनी अहिल्यै लिग उपाधि दौडबारे अनुमान गर्न नसकिने बताउछन्। आगामी दुई वा तीन खेलको नतिजा नहेरी चर्च ब्वाइजलाई उपाधि दाबेदार भन्न नमिल्ने उनको भनाइ थियो।

‘अबका दुई-तीन खेलमा हामीले कस्तो नतिजा निकाल्छौँ, हेरौँ। त्यसपछि मात्र उपाधि होडबारे टिप्पणी गर्न सकिन्छ। हामी दाबेदार हो कि होइन, भन्न सकिन्छ। अहिल्यै नै टिप्पणी नगरौँ,’ जितपछि बालगोपाल महर्जनले भने।

यसपालिको लिगमा चर्च ब्वाइजले सातदोबाटोलाई दोस्रो पटक हराएको हो। यसअघि वैशाख ७ मा चर्च ब्वाइजले सातदोबाटोलाई २-१ ले पराजित गरेको थियो। दोस्रो पटक सातदोबाटोसँग भेट हुँदा चर्च ब्वाइज कप्तान तथा रक्षक अनन्त तामाङ र विदेशी मिडफिल्डर जोसेफ ओउसु बेम्पाहबिना मैदान ओर्लिएको थियो। अनन्त, उनलाई प्रतिस्थापन गर्नसक्ने अर्का रक्षक सविन खड्का र बेम्पाह तीन पहेलो कार्ड पाएका कारण एक खेल प्रतिबन्धमा थिए।

‘मुख्य खेलाडीहरु नै प्रतिबन्धमा परेका कारण हामी अप्ठ्यारोमा परेका थियौँ। तर उनीहरुको अनुपस्थितिमा बाँकी खेलाडी एक खेल भएर खेले। हामीले बाँकी खेल पनि यही मानसिकतामा खेल्न सक्नुपर्छ,’ बालगोपालले भने।

चर्च ब्वाइजले आउँदा तीन खेलमा नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ। आफ्नो २४ औँ खेलमा भने चर्च ब्वाइजले जावलाखेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यो खेलले लिगको नयाँ विजेताको निक्र्योल गर्नसक्ने अनुमान छ।

तर बालगोपालले जावलाखेलबाहेकका टिम पनि कठिन विपक्षी साबित हुनसक्ने बताए। ‘जावलाखेल मात्र होइन हामीले सामना गर्नुपर्ने सबै टिम बलिया छन्। अबको हाम्रो विपक्षी पुलिस पनि कमजोर छैन। यसकारण हरेक खेल हामीले आजकै जसरी खेल्नु पर्नेछ,’ बालगोपालले भने।

उता सातदोबाटोका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले दुर्भाग्यवश पराजय भोगेको प्रतिक्रिया दिए। ‘एकै ठाउँमा चार पटक प्रहार गरेपछि गोल भयो। यसलाई दुर्भाग्य मान्नुपर्छ। हामीलाई भाग्यले साथ दिएन। नत्र समग्रमा हामीले ठिकठाक खेलेको हो। दुवै टिमले जित्ने सम्भावना बराबर थियो,’ सनोजले भने।

यो हारका कारण सातदोबाटो उपाधि होडमा पछि परेको सनोजको भनाइ थियो। ‘अब त हामीले शीर्ष चारका लागि प्रतिस्पर्धा गर्ने हो। तर लिगमा आठ खेल्न बाँकी छ। ती खेलमा सोचेजस्तो प्रदर्शन भयो भने उपाधि होडमा फर्कने सम्भावना रहन्छ,’ सनोज आशावादी पनि देखिए। छैटौँ पराजय भोगेपछि सादोबाटो अंक पाँचौँ स्थानमा छ।

मंगलबार नै भएको अन्य खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मी एफसीले १-१ को बराबरी खेले भने नेपाल पुलिस क्लबले विभागीय डर्बीमा नेपाल एपीएफ क्लबलाई १-० ले निराश बनायो। बराबरीका कारण थ्रीस्टारले शीर्ष दुईका क्लबसँग दूरी कम गर्ने अवसर गुमायो। लगातार सातौँ खेल जित्न नसकेको थ्रीस्टार चौथो स्थानमा छ। यी खेलमध्ये ६ मा बराबरी र एकमा हारको नतिजा आत्मसाथ गरेको थ्रीस्टारसँग २६ अंक छ। जुन सातदोबाटोसँग बराबर हो भने छैटौँ स्थानको आर्मीको भन्दा एक अंक बढी हो।

दशरथ रंगशलामा दिनेश हेन्जनले ८५ औँ मिनेटमा गोल गरेपछि आर्मी हारबाट जोगिएको थियो। सब्स्टिच्युट सुदिल राईले राइट विंगबाट निकालेका लामो क्रसमा हेन्जनले हेडर गोल गरेका थिए। त्यसअघि ६९ औँ मिनेटमा थ्रीस्टार लकेन लिम्बुको गोलमार्फत खेलमा अघि बढेको थियो। आर्मीका गोलरक्षक विकेश कुथुले गरेको गल्तीको फाइदा उठाउँदै मिडफिल्डर लकेनले मैदानको मध्यभागबाट गोल गर्न सकेका थिए।

विकेशले गरेको गोलकिक सिधै लकेनले पाएका थिए। आफ्नो क्षेत्रभन्दा अलि अगाडिबाट बल रिलिज गरेका विकेश आफ्नो पोजिसनमा फर्कन भ्याइसकेका थिएनन्। त्यही मौका छोपेर लकेनको गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।

‘यस्तो गोल कै देख्न पाइन्छ। लकेनले बल पाउनसाथ प्रहार गर्ने निर्णय लिए। जसकारण हामीले अग्रता दिनसक्यौँ,’ आर्मीसँगको खेलपछि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले भने।

मेघराजले अग्रपंक्ति कमजोर हुँदा लगातार जितविहीन हुनु परिरहेको प्रतिक्रिया दिए। थ्रीस्टारले सात खेलमा जम्मा चार गोल मात्र गरेको छ। ‘अग्रपंक्तिमा हामीसँग सीमित विकल्प छ। विदेशी खेलाडीको कोटा सकिइसक्यो। टिममा धेरै खेलाडी नयाँ छन्। उनीहरुलाई विश्वास गर्दै अघि बढेका छौँ। फरक फरक संरचनामा खेलिरहेका छौँ,’ मेघराजले भने।

उनले थ्रीस्टारलाई उपाधिको दबाब नरहेको पनि प्रस्ट पारे। ‘हामीले च्याम्पियन बन्ने हिसाबले टिम निर्माण गरेका छैनौँ। मेहनत गर्दै अघि बढ्ने हाम्रो योजना हो। कुनै बिन्दूमा हामी शीर्षस्थानको नजिक पुगेका थियौँ। त्यसपछि जितविहीन भइएको छ। अब अझै निकै खेल बाँकी छन्। हामी उपाधि होडमा र्फकन सक्छौँ। तर हामीलाइ उपाधिका लागि कुनै किसिमको दबाब भने छैन,’ मेघराजले भने।

उता आर्मीका सहायक प्रशिक्षक राजु तामाङले आफ्नो टिमको उपाधि जित्ने लक्ष्य संकटमा परेको बताए। ‘नतिजा सोचे जस्तो आइरहेको छैन। बाँकी खेलमा राम्रो गर्नसके शीर्ष तीनमा पर्न सकिन्छ,’ राजुले भने।

रक्षापंक्तिमा देखिएको समस्याका कारण आर्मीको प्रदर्शनमा असर पुगेको उनको भनाइ थियो। विकास खवास घाइते भएपछि आर्मीको रक्षापंक्ति तुलनात्मक रुपमा कमजोर देखिएको हो। विकासको अनुपस्थितिलाई ‘कभर’ गर्न आर्मीले पहिलेको रक्षात्मक संरचना परिवर्तन गर्दै तीन सेन्ट्रल डिफेन्डर खेलाइरहेको छ। जसको केन्द्रमा जितेन्द्र कार्की छन्।

च्यासल रंगशालामा भएको विभागीय डर्बीमा एपीएफमाथि पुलिसलाई जित दिलाउन मोेसेस ग्याबाहले निर्णायक गोल गरे। लिगमा उनले पाँचौँ गोल गरेका हुन्। यो जितले पुलिसलाई १० औँ स्थानमा पुर्‍याएको छ। रेलिगेसनबाट बच्न संघर्षतर पुलिसले लगातार दोस्रो जित दर्ता गरेको हो। पछिल्लो खेलमा पुलिसले संकटा क्लबलाई २-१ ले हराएको थियो। त्यसअघि मनाङलाई २-२ को बराबरीमा रोेकेको पुलिससँग अब १८ खेलबाट २२ अंक भएको छ।

अरु चार क्लबले पनि २२-२२ अंक नै बटुलेका छन्। ती क्लब हुन्, सातौँ स्थानको हिमालयन शेर्पा, आठौँ स्थानको मनाङ, नवौँ स्थानको न्युरोड टिम र ११ औँ स्थानको एपीएफ। रेलिगेसन क्षेत्रमा रहेका फ्रेन्ड्स क्लब र एफसी खुमलटारसँग भने क्रमशः २० र १७ अंक छ।

प्रकाशित: २ जेठ २०८० २२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =