लिगमा ‘सरप्राइज प्याकेज’ बनेको जावलाखेल

हिमाल प्रेस २८ वैशाख २०८० २२:३४
72
SHARES
लिगमा ‘सरप्राइज प्याकेज’ बनेको जावलाखेल

काठमाडौँ- लिगको मज्जा तब हुन्छ जब सम्भावित विजेताको अनुमान लगाउनै सकिँदैन। यसपालिको सहिद स्मारक ए डिभिजन लिग पनि त्यस्तै अनिश्चितताले भरिएको छ। न त सम्भावित च्याम्पियनबारे अनुमान गर्न सकिएको छ, न त रेलिगेसनका दाबेदारको।

वर्तमानको कुरा गर्ने हो भने लिगको शीर्षस्थानमा जावलाखेल युथ क्लब छ। जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको अंक बराबर छ। यी दुवैले ३०-३० अंक बटुलेका छन्। चर्च ब्वाइजभन्दा एक खेल बढी खेलेको जावलाखेल बिहीबार फ्रेन्ड्स क्लबलाई ४–१ ले हराएर शीर्षस्थानमा फर्किएको हो।

जावलाखेल नवौँ चरणमा पहिलो पटक शीर्षस्थानमा पुगेको थियो। १४ औँ चरणसम्म त्यही रह्यो। नेपाल पुलिस क्लब र एफसी खुमलटारसँग हारेपछि भने जावलाखेल दोस्रो स्थानमा झरेको थियो। अब चाहिँ जावलाखेल फेरि एकपटक लिग लिडर बनेको छ।

यद्यपि शीर्षस्थानमाथिको उसको पकड सुरक्षित छैन। यसको मुख्य कारण चर्च ब्वाइज हो। जसले एक खेल कम खेलेर जावलाखेलकै जति अंक बटुलेको छ। आउँदो शनिबार चर्च ब्वाइज त्रिभुवन आर्मी फुटबल क्लबसँग हारे, जावलाखेलको पकड कम्तीमा एक चरणका लागि भने सुरक्षित रहनेछ।

लिगको १७ औँ चरण बिहीबारबाट सुरु भएको हो। नयाँ चरणमा खेलिसक्ने टिम जावलाखेल र फ्रेन्ड्स मात्र हुन्। चर्च ब्वाइजबाहेक शीर्ष पाँचका अरु टिमले आउँदा खेल जिते पनि जावलाखेललाई भेट्ने छैनन्। तेस्रो स्थानको थ्रीस्टार क्लबले शनिबार मछिन्द्र क्लबलाई हराए २८ अंक हुनेछ। बुधबार चर्च ब्वाइजसँग हारेको मछिन्द्रको २४ अंक छ। अंक तालिका यति कसिलो छ कि तेस्रो र छैटौँ स्थानका क्लबबीचको दूरी जम्मा तीन अंकको छ।

नेपाली फुटबलमा जावलाखेलको इतिहास गहिरो छ। ललितपुरे क्लब अहिले ५१ औँ वर्षमा हिँड्दैछ। यो जावलाखेलको औपचारिक उमेर हो। के भनिन्छ भने जावलाखेल राणाकालमै सक्रिय थियो। तर औपचारिक स्थापना मिति भने २०२९ हो। भलै जावलाखेल ए डिभिजन लिगको पहिलो संस्करण (२०११ मा भएको) कै सदस्य थियो।

यति पुरानो क्लब, सफल हुने दौडमा भने सधै पछाडि रहिरह्यो। अहिलेसम्म एकैपटक पनि लिग जितेको छैन। जावलाखेलले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता भनेकै दोस्रो स्थान हो। २०३७ र ३९ को लिगमा जावलाखेल उपविजेता बनेको थियो। दोस्रो पटक उपविजेता बन्दा जावलाखेलका महत्त्वपूर्ण खेलाडी थिए, किशोर केसी। जो लामो समय जावलाखेलको प्रशिक्षक रहे। क्लब अध्यक्ष नै बने। उनी हाल मछिन्द्र सम्हालिरहेका छन्।

कुनै पनि टिम दुईपल्ट उपविजेता बनेपछि नयाँ लक्ष्य उपाधि जित्ने बनाउँछ। तर जावलाखेल सधै औसत टिमकै परिचयमा रमायो। लगभग सधैँ यस्तै भइरह्यो, सिजनको सुरुवातमा रेलिगेसनको दाबेदारका रुपमा देखिने। आखिरमा रेलिगेसनबाट बच्ने। अंक तालिकाको मध्यस्थानमा पुग्नुलाई अधिकतम सफलता मान्ने। यसपालि भने जावलाखेल फरक देखिएको छ। मैदानमा गरिरहेको प्रदर्शन र अंक तालिका हेर्दा भन्न कर लाग्छ, जावलाखेल उपाधि दाबेदार हो। तर यसमा मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ सहमत छैनन्।

सुनिलले अहिलेसम्म उपाधि होडसँग जावलाखेललाई जोड्न मानेका छैनन्। उपाधिबारे नसोचिसकेको दाबी गर्दै आइरहेका छन्। जबकि जावलाखेल सुरुवातबाटै शीर्ष चारभित्र छ। बिहीबारको जितपछि उनले दिएको प्रतिक्रिया त झनै अचम्मलाग्दो छ। ‘हामी अब चाहिँ रेलिगेसनबाट सुरक्षित भएका छौँ। एउटा जोन पार गरेका छौँ, यसले हामीलाई राहत दिएको छ। अब हामी टप पोजिसनका लागि प्रतिस्पर्धा गर्नेछौँ,’ सुनिलले भने।

यसपालिको लिगमा जावलाखेलको सुरुवात नै अप्रत्याशित रह्यो। लगातार दुई सिजन लिग जितेको मछिन्द्र फुटबल क्लबलाई ३-१ ले पराजित गर्यो। त्यो पनि १-० को स्थितिलाई उल्टाएर। यो त केवल सुरुवात थियो। जावलाखेलले दोस्रोदेखि १३ औँ चरणसम्म पुग्दा जम्मा तीन खेल मात्र हारेर सबैलाई छक्क पार्यो। लिगका आधा खेल सकिँदा जावलाखेलले जेजस्तो नतिजा निकाल्न सक्यो, त्यसको सन्देश स्पष्ट थियो, जावलाखेल पक्का उपाधि दाबेदार हो।

तर जब लिग मध्यान्तरबाट अघि बढ्यो, तब जावलाखेलको प्रदर्शन खस्कियो। १४ औँ र १५ औँ चरणमा क्रमशः नेपाल पुलिस क्लब र एफसी खुमलटारसँग हार्यो। यी दुई नतिजापछि जावलाखेलको क्षमतामाथि शंका हुन थाल्नु स्वाभाविक थियो। तर त्यसपछिका दुई खेल जितेपछि जावलाखेलले आफू उपाधि दौडमै रहेको सन्देश दिएको छ। भलै सुनिल अझै पनि आफ्नो टिमलाई उपाधि दाबेदार मान्न तयार छैनन्।

‘खुमलटारसँगको खेल हाम्रा लागि यो सिजनकै सर्वाधिक खराब थियो। ती दुई खेल (खुमलटार र पुलिसविरुद्ध) नहारेको भए अहिले हामी शीर्षस्थानमै भइरहन्थ्यौँ। अब नौ खेल बाँकी छन्। सबै खेलमा मेहनत गरेर खेले हामी माथि पुग्ने नै छौँ,’ फ्रेन्ड्समाथिको जितपछि सुनिलले भने।

च्यासल रंगशालामा जावलाखेललाई जिताउन एन्कोटो सिनोस मासओबी एक्लैले दुई गोल गरे। बाँकी दुई गोल राुहल र फोडे फोफानाको नाममा रहे। पहिलो गोल राहुलले २५ औँ मिनेटमा गरेका थिए। अब्दुलअजिज निशोनबाएभको कर्नरमा राहुलले हेडर गोल गरेका थिए। दोस्रो गोल पनि अब्दुलअजिजको ‘सेटपिस’ मा सम्भव भयो। अब्दुलअजिजको फ्रिकिकबाट आएको बललाई मासओबीले वान टच गोलमा परिणत गरे।

दोस्रो हाफमा पनि जावलाखेलले दुई गोल थप्यो। अन्जल महर्जनलले ह्यान्ड गरेपछि जावालाखेलले पेनाल्टी पाएको थियो। जसलाई मासओबीले सहजै गोलमा परिणत गरे। चौथो गोल चाहिँ निर्धारित समय सकिएपछि भयो। सब्स्टिच्युट फोफानाले यो गोल मासओबीको पासमा गरेका थिए। फ्रेन्ड्सका लागि भने श्यामबाबु क्यापचिकीले ८० औँ मिनेटमा गरे।

जावलाखेलसँग घरेलु फुटबलका स्थापित स्टार छैनन्। उनीहरुको आवश्यकता जावलाखेललाई परेको पनि छैन। खासमा विदेशी खेलाडीले आवश्यकता महसुस हुन नदिएका हुन्। यो तर्कलाई फ्रेन्ड्सविरुद्ध मासओबी, फोफाना, अब्दुलअजिज, राहुल र अब्दुल मजिद शामातेले गरेको प्रदर्शनले बलियो बनाउँछ।

मासओबी त लिगको उच्च गोलकर्ता बन्ने दौडमै छन्। उनले हालसम्म १२ गोल गरिसकेको छन्। उनीभन्दा बढी गोल गर्ने खेलाडी मेसुके ओलोमौउ मात्र हुन्। उनको नाममा १४ गोल छ। विंगर फोफानाले पनि बलियो गोल लय देखाइरहेका छन्। उनले आठ गोल गरिसकेका छन्।

जावलाखेलको अग्रपंक्तिमा दुई अफ्रिकी फरवार्ड चम्किँनुको एक कारण नेपाली खेलाडी हिसुब थपालिया पनि हुन्। होचो कदका हिसुबले तीन गोल गरेका छन्। जावलाखेलमा उनको योगदान गोलमा मात्र सीमित छैन। उनी यो टिमका अघोषित प्लेमेकर हुन्। सेन्ट्रल फरवार्डको भूमिकामा देखिने हिसुब ‘विथ बल’ र ‘विथआउट बल’ उत्तिकै प्रभावशाली देखिन्छन्। साथी फरवार्डका लागि बल होल्ड गर्ने, स्पेस सिर्जना गर्ने मामलामा त हिसुब सिपालु छन् नै, ‘प्रेसिङ’ मा उनी जत्तिको प्रभावकारी फरवार्ड लिगमा कमै छन्।

जावलाखेल मिडफिल्डमा अनावश्यक रुपमा मिडफिल्डमा बल होल्ड गरिरहँदैन। बल पाउनसाथ तुरुन्त आक्रमणमा उत्रने प्रयास गर्छ। ‘ट्रान्सिजन’ र काउन्टर अट्याकमा आक्रमण बुन्न जावलाखेल माहिर छ। यसको कारण तीन फरवार्ड हुन्। तीव्र गतिमा खेल्नसक्ने फरवार्ड भएकाले जावलाखेल मिडफिल्डमा बल राखिरहनेभन्दा आक्रमण बुनिहाल्ने रणनीतिमा मैदान उत्रन्छ। जावलाखेलको यो रणनीति सफल बनाउन राहुल र कप्तान सिमान्त थापाको ‘ओभरल्याप रन’ उत्तिकै जिम्मेवार ठहरिएको छ।

लिगमा उपाधि दाबेदार मानिएका क्लबहरुका खेलाडी घाइते हुने क्रम बढ्दो छ। गत सिजन शीर्ष दुईमा रहेका मछिन्द्र र आर्मी अरुभन्दा बढी पीडित देखिएका छन्। जावलाखेल भने यो समस्याबाट अलि कम पीडित छ। मुख्य प्रशिक्षक सुनिलका अनुसार घाइते भएका खेलाडी पनि टिममा फर्किरहेका छन्। सुनिल खुसी हुने अर्को कारण पनि छ। त्यो हो, बाँकी खेलका खेलस्थान। जावलाखेलले आठ खेल दशरथ रंगशाला र एक खेल च्यासलमा खेल्नेछ।

‘एन्फा कम्पलेक्सको ‘एस्ट्रो टर्फ’ मा खेल्दा खेलाडीको प्रदर्शनमा स्वतः ह्रास आउँछ। अब हामीले खेल्ने सबै खेल दशरथ र च्यासल रंगशालमा छन्। त्यहाँ स्वाभाविक खेल देखाउन सकिने आशा छ,’ प्रफुल्लित सुनिलले भने।

यसपालिको लिगमा कुनै टिम ‘सरप्राइज प्याकेज’ छ भने त्यो जावलाखेल नै हो। नेपाली खेलाडी सरुवाबजारमा हल्लाखल्ला नगरी टिम निर्माण गरेको जावलाखेल अनुशासित प्रशिक्षकको नेतृत्वमा छ। अनुशासनको परिभाषा फगत शारिरीक हाउभाउमा मात्र सीमित छैन। सुनिलको रणनीतिमा पनि ‘ट्याक्टिकल डिसिप्लिन’ झल्किन्छ। आफूसँग भएका खेलाडीको उच्चतम उपयोग जसरी गर्न सकिन्छ, त्यही अनुसारको रणनीति उनी अपनाइरहेका छन्।

एकेडेमीको गुरु हुँदा व्यवसायिक फुटबलमा जस्तो ‘ट्याक्टिस’ को उच्चतम प्रयोग गर्न नपाइन सक्छ। फलतः लामो समय एन्फा एकेडेमीका किशोरहरूलाई फुटबल सिकाउँदा सुनिल सायद गुम्सिएका हुनसक्छन्। ए डिभिजन लिगमा भने उनी गुम्साइबाट मुक्त छन्। तब त उनी लिग परीक्षामा अब्बल साबित हुने बाटोमा अघि बढेका छन्।

प्रकाशित: २८ वैशाख २०८० २२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =