टेपले धानेको ए डिभिजन लिग

हिमाल प्रेस २६ वैशाख २०८० २२:४७
90
SHARES
टेपले धानेको ए डिभिजन लिग

काठमाडौँ- जावालखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ। मंगलबार साँझ दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएसँगै जावलाखेल फेरि पहिलो स्थानमा पुगेको हो। लिग लिडर जावलाखेल पाँचौँ खेलमा पहिलो जित दर्ता गरेको हो। हिमालयनका शेर्पाका अमृत श्रेष्ठले २३ औँ मिनेटमा गरेको आत्मघाती गोल जावलाखेललाई जिताउन पर्याप्त रह्यो।

जावलाखेलसँग अब १६ खेलबाट २७ अंक छ। जुन दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडसँग बराबरी हो। तर गोलअन्तरमा जावलाखेल अगाडि छ।

उसो त जावलाखेलबाट शीर्षस्थान बुधबार खोसिन सक्छ। यसो हुन चर्च ब्वाइजले मछिन्द्र फुटबल क्लबलाई हराउनु पर्नेछ। यी दुई क्लब एन्फा कम्पलेक्सको मैदानमा आमनेसामने हुँदैछन्। चर्च ब्वाइज हारे तीन क्लबको समान २७-२७ अंक हुनेछ। हाल चौथो स्थानमा रहेको मछिन्द्रसँग १५ खेलबाट २४ अंक छ।

मंगलबार दिउँसो न्युरोड टिम एनआरटीलाई पन्छाएको भए थ्रीस्टार क्लबको पनि २७ अंक हुने थियो। एनआरटीसँग गोलरहित बराबरीमा रोकिएपछि थ्रीस्टारसँग २५ अंक छ। हाल थ्रीस्टारले तेस्रो स्थान ओगटेको छ।

उसो त शीर्षस्थान नजिक पुग्ने मौका सातदोबाटो युथ क्लबले पनि गुमायो। सातदोबाटोलाई मंगलबार दिउँसो च्यासल रंगशालामा संकटा क्लबले २-० ले निराश बनायो। पाँचौँ स्थानमा यथावत् सातदोबाटोसँग २३ अंक छ। उता संकटा २० अंक बटुलेर नवौँ स्थानमा छ।

अंक तालिका रोमाञ्चक देखिए पनि लगभग सबै क्लब समस्याग्रस्त छन्। यसको मुख्य कारण हो, अव्यवस्थित क्यालेन्डर। प्रशिक्षकहरूका अनुसार पर्याप्त आरामबिना खेल्नु पर्दा धेरै खेलाडीहरू घाइते भइरहेका छन्। घाइते नभएका खेलाडीको प्रदर्शन पनि आराम नपाएकै कारण खस्किएको उनीहरूको भनाइ छ।

‘हामीले एकैनाशको प्रदर्शन गर्न सकेका छैनौँ। पर्याप्त आराम नपाएका कारण खेलाडीहरूले स्थिर प्रदर्शन गर्न नसकिरहेका हुन्। त्यसमाथि कयौँ खेलाडी घाइते छन्। पूर्णरूपमा फिट नभएकालाई पनि खेलाउनु परिरहेको छ,’ जावलाखेलका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले हिमालयन शेर्पा क्लबमाथिको जितपछि भने।

अरू क्लबले जस्तै जावलाखेलले दुईदेखि चार दिनसम्मको विश्राम पाउँदै आएको छ। जावलाखेलले शुक्रबार एफसी खुमलटारसँग ४-२ को पराजय भोगेको थियो। त्यसको दुई दिनअघि नेपाल पुलिस क्लबसँग २-१ ले पराजित भएको जावलाखेललाई बैशाख १६ गते संकटाले १-१ को बराबरीमा रोकेको थियो।

जावलाखेल १२ औँ चरणमा हिमालयन शेर्पासँग २-१ ले पराजित भएको थियो। हिमालयन शेर्पासँग जावलाखेल यस्तो बेला हारेको थियो जति बेला तीन खेलमा अपराजित थियो। अब भने हिमालयन शेर्पालाई हराएर जावलाखेलले जितविहीन शृंखला टुंग्याएको हो।

हिमालयन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमको ८० प्रतिशत खेलाडी पूर्ण रूपमा फिट नरहेको बताए। ‘पहिलो रोजाइका धेरै खेलाडी घाइते छन्। उनीहरूको स्थानमा आउने खेलाडीहरूले उही स्तरको प्रदर्शन गर्न सक्दैनन्। यसकारण फिट नरहेको पहिलो रोजाइका खेलाडीलाई टेपिङ गरेर भए पनि खेलाउनु परिरहेको छ,’ सुमनले भने।

खुट्टाका विभिन्न भागमा टेप टाँसेर खेल्ने खेलाडीको संख्या निरन्तर बढिरहेको छ। जावलाखेलको पहिलो एघारमा परेका मिडफिल्डर सुनिल खड्का र फुलब्याक राहुलको घुँडामा टेप टाँसिएको थियो। हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ, फरवार्ड निशान लिम्बु, रक्षक म्यानुएल नाना आग्योमाङ लगायतका खेलाडीले पनि घुँडाबाट तलैसम्म टेप टाँसेर खेलेको देखिन्थ्यो।

मंगलबार नै मैदान ओर्लिएको थ्रीस्टार पनि चोटले पिरोलिएको छ। पहिलो रोजाइका गोलरक्षक मोहम्मद ताहा फ्रेन्ड्ससँगको खेलमा घाइते भएका थिए। एनआरटीसँगको खेलमा थ्रीस्टारका स्ट्राइकर अजायी मार्टिन्स, रक्षक पिटर सेगुन लगायतका खेलाडी घुँडामा टेप टाँसेरै खेलिरहेका थिए।

एनआरटीसँगको बराबरीपछि मुख्य प्रशिक्षक मेघराज केसीले पनि आफ्ना कयौँ खेलाडी घाइते रहेको बताए। ‘अनुभवी खेलाडीहरू घाइते छन्। उनीहरूको सट्टामा युवा खेलाडीहरूलाई मौका दियो, टिमको समग्र प्रदर्शन नै खस्किन्छ। लगातार खेलिरहनु परेकाले युवा खेलाडीहरूलाई दोष दिन पनि मिल्दैन,’ मेघराजले भने।

खेलाडीको चोटका कारण चिन्तित अर्को क्लब हो, मछिन्द्र। मुख्य मानिएका कयौँ खेलाडी घाइते भएपछि मछिन्द्रले लिगको सुरूवाती पाँच खेलमध्ये एकमा मात्र जित हासिल गरेको थियो। पहिलो खेलमा जावलाखेलसँग हार्दा मछिन्द्रका सबै विदेशी खेलाडी टिमबाहिर थिए। मुख्य स्ट्राइकर ओलावाले अफिज चौथो र मिडफिल्डर आन्द्रेस निया सातौँ खेलबाट मैदान ओर्लिए।

सातौँ चरणबाट मछिन्द्र लयमा फर्कनुको एक कारण लगभग सबै खेलाडीको उपलब्धता थियो। तर पछिल्लो समय मछिन्द्रका मुख्य खेलाडी धमाधम घाइते भइरहेका छन्। विमल घर्ती मगर कुर्कुच्चाको चोटका कारण केही साता मैदानबाहिर रहने बताइएको छ। उनी गत आइतबार एपीएफसँगको खेलमा घाइते भएका थिए।

एपीएफविरूद्ध मुख्य रक्षक देवेन्द्र तामाङ खेल्न सकेनन्। उनको स्थान लिएका सुरज विक त्यही खेलमा घाइते भए। सुरजको ठाउँमा मैदान छिरेका दिवाकर चौधरीको घुँडामा टेप टाँसिएको थियो। अर्का रक्षक करिम ओमोलाजा पनि टिमबाहिर र भित्र भइरहेका छन्। भुटानका चेन्चो ग्याल्ट्सन त चोटकै कारण घर फर्किइसकेका छन्। ओलावाले र निया खेलिरहेका त छन्। तर उनीहरूको घुँडाबाट पनि टेप निकालिएको छैन।

‘खेलाडीको चोटका कारण हामी फेरि समस्यामा परिरहेका छौँ। सब्स्टिच्युट खेलाडी नै घाइते भइरहेका छन्। फिट नभई नभई पनि उनीहरूलाई खेलाउनु परिरहेको छ। खेलाडीहरू समयमै फिट भए मात्र उपाधिको लक्ष्य बलियो बन्नेछ,’ एपीएफलाई हराएपछि मछिन्द्रका मुख्य प्रशिक्षक किशोर केसीले भनेका थिए।

प्रकाशित: २६ वैशाख २०८० २२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =