पुलिसमा विदेशी खेलाडी : प्रभाव देखियो, तालमेल देखिएन

हिमाल प्रेस २५ वैशाख २०८० २२:१७
48
SHARES
पुलिसमा विदेशी खेलाडी : प्रभाव देखियो, तालमेल देखिएन नेपाल पुलिस क्लबका खेलाडीकाे सामूहिक तस्बिर

काठमाडौँ- नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्रमै छ। कुल १६ खेल खेल्दा पुलिसले जम्मा गरेको अंक १६ नै हो। १६ मध्ये १० अंक पुलिसले पछिल्ला पाँच खेलमा जोडेको हो। जबकि पहिलो अंक बटुल्न पुलिसले पाँचौँ खेलसम्म पर्खनु परेको थियो।

एन्फा कम्प्लेक्सको मैदानमा सोमबार मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको भए पुलिस रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन्थ्यो। भलै पुलिसका लागि यो राहत दिर्घकालीन नहुन सक्थ्यो। किनभने ११ र १२ औँ स्थानका नेपाल एपीएफ क्लब र संकटा क्लबले पुलिसभन्दा एक-एक खेल कम खेलेका छन्।

उसो त वर्तमान अंक तालिकाले पुलिसले कस्तो प्रदर्शन गरिरहेको छ भन्ने जनाउ दिँदैन। पुलिसले ६ खेलमध्ये एकमा मात्र हार व्यहोरेको छ। यो ‘रेलिगेसन लय’ होइन। लिगमा अझै १० खेल खेल्न बाँकी रहेकाले पुलिसका मुख्य प्रशिक्षक चेतन घिमिरे रेलिगेसनबाट बच्नेमा विश्वस्त देखिन्छन्। यो आत्मविश्वासको कारण के? पुलिसले किन एकाएक सुधारिएको प्रदर्शन गरिरहेको?

यी दुई प्रश्नको जवाफ एउटै छ, विदेशी खेलाडी। पुलिसले विदेशी खेलाडी सातौँ चरणबाट मात्र मैदान उतार्न थालेको हो। सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-१ ले हराउँदा घानाका जो आइडो र मोसेस ग्याबाह टुमले डेब्यु गरेका थिए। मोसेस पहिलो खेलमै गोलकर्ता बने।

पुलिसले त्यसपछिका दुई खेलबाट चार अंक बटुल्यो। आफ्नो १० औँ खेलमा जावलाखेल युुथ क्लबसँग ६- १ ले पराजित हुँदा पुलिसले तीन विदेशी खेलाडी खेलाएको थियो। गत मंगलबार जावलाखेलसँग दोस्रो पटक भिड्दा पुलिस २-१ ले विजयी भयो। पुलिसलाई विजयी बनाउन मोसेस र एहमद हिजाजीले गोल गरे।

खासमा पुलिसका लागि विदेशी खेलाडी वरदान साबित भइरहेका छन्। उनीहरुको अनुपस्थितिमा पुलिस सन्तुलित भएको छ। एहमद हिजाजी र मोसेसको प्रभाव त झनै गहिरो छ। गोल संख्याले उनीहरुको प्रभाव पुष्टि गर्छ। हिजाजीले पाँच गोल गरिसकेका छन्। पुलिसले सोमबार मनाङसँग २-२ को बराबरी खेल्दा दुवै गोल उनको नाममा रह्यो। मोसेसले पनि आफ्नो नयाँ क्लबका लागि तीन गोल गरिसकेका छन्।

मोसेस ग्याबाह टुम

टिममा तत्काल प्रभाव पार्नसके पनि विदेशी खेलाडीबीच तालमेल भने मिल्न सकिरहेको छैन। विशेषगरी अग्रपंक्तिका हिजाजी र मोसेसबीबीच संयोजनको कमी देखिएको छ। मनाङसँगको खेलकै कुरा गर्ने हो भने, हिजाजी र मोसेसले ‘कम्युनिकेट’ नगरी खेले। पाएका मौकालाई प्रहारमा बदल्न सिपालु हिजाजीले मिडफिल्डबाट पनि पर्याप्त बल पाएनन्। उता मोसेसले भने पाएका धेरैजसो बललाई ‘गोल मुभ’ मा परिणत गर्न सकेनन्। ‘गोल मुभ’ बनिहाले उनका प्रहार फितलो साबित हुन्थे।

मुख्य प्रशिक्षक चेतनले विदेशी खेलाडीबीच तालमेलको अभाव देखिएको स्वीकारे। ‘हिजाजी टिममा आइसकेपछि तालमेल बिग्रिएको छ। आजको खेलमा त उनले खासै बल पास पनि पाएनन्। यो पक्षमा हामी सुधार गर्नेछौँ,’ चेतनले भने।

यस्ता समस्या देखिए पनि विदेशी खेलाडीको प्रदर्शनका कारण पुलिस आत्मविश्वासी भनेको छ। यस्तोमा एउटा काल्पनिक प्रश्न सोध्न करै लाग्छ। त्यो हो, पहिलो खेलबाटै पुलिसले विदेशी खेलाडी खेलाउन पाएको भए? अनुमान गरे जवाफ जस्तो पनि आउन सक्छ। तर सत्य के चाहिँ हो भने, विदेशी खेलाडी ढिलोगरी ल्याएकोमा चेतनलाई थकथकी छ।

हुन त विदेशी खेलाडीको अनुबन्धन चेतनको एकल प्रयासमा हुन सम्भव थिएन। चेतन र क्लब व्यस्थापनबीचको कुराकानी तन्किरह्यो। सुरुवाती चरणहरुमा निरन्तर पराजित भइरहेपछि चेतन विदेशी खेलाडी ल्याउन क्लब व्यवस्थापनसँग कुरा भइरहेको बताउँथे। विगागीय क्लब, त्यसमाथि पहिलो पटक विदेशी खेलाडीको अनुबन्धन, प्रक्रिया छोटो हुने कुरै थिएन।

‘समयमै विदेशी खेलाडी ल्याउन नपाएकोमा अवश्य पनि पछुतो छ। उनीहरु सुरुबाटै टिममा भएको भए आज हाम्रो अवस्था फरक हुने थियो,’ मनाङसँगको खेलपछि चेतनले भने, ‘सुरुमा त युवा खेलाडीलाई मौका दिने भन्ने भयो। तर यो रणनीतिले नतिजा दिएन। विदेशी खेलाडी अनुबन्धन गर्न व्यवस्थापनसँग कुरा गरेर प्रक्रिया अघि बढाउँदा ढिलो पनि भयो।’

यसपलिको ए डिभिजन लिगको अंक तालिका कसिलो छ। शीर्ष चारमा मात्र होइन रेलिगेसन क्षेत्रमा पनि प्रतिस्पर्धा उत्तिकै कठिन छ। कतिसम्म भने दोस्रोदेखि चौथो स्थानसम्मका क्लबसँग २४- २४ अंक छ। शीर्षस्थानको चर्च ब्वाइज युनाइटेड ती तीन क्लबभन्दा मात्र तीन अंकले माथि छ।

त्यसैगरी ११ औँ देखि १३ औँ स्थानसम्म रहेका क्लबले १७- १७ अंक बटुलेका छन्। नवौँ र १० औँ स्थानका क्लबको पनि अंक बराबर छ (१९÷१९)। अनि सातौँ र आठौँ क्लबबीच पनि दूरी छैन। यस्तोमा एक टिमले लगातार दुई- तीन खेल जिते अंकतालिकामा मज्जाको उँधोउँभो हुने स्थिति छ। यो परिदृश्यबारे चेतन बेखबर छैनन्।

‘आजको यो नतिजापछि पनि हामी रेलिगेसन क्षेत्रमै छौँ। रेलिगेसनबाट बच्न यति अंक पर्याप्त छैन। तर दुई तीन खेल जित्यौँ भने हामी अंक तालिकाको मध्यभागमा पुग्नेछौँ। आशा छ अबका खेल जित्न सकिनेछ,’ चेतनले भने।

पुलिसले अब तीन दिनको विश्रामपछि मैदान फर्कनेछ। पुलिसले आफ्नोे १७ औँ खेलमा संकटा क्लबको सामना गर्नेछ। दशरथ रंगशालामा हुने यो खेलपछि पुलिसको भेट लिग लिडर चर्च ब्वाइज र विभागीय प्रतिद्वन्द्वीसँग हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =