आवरण

फेरिँदो पर्यटन शैली

मस्त केसी २४ वैशाख २०८० ११:२५
74
SHARES
फेरिँदो पर्यटन शैली अन्नपूर्ण क्षेत्रमा पर्यटकहरू। तस्बिरः पर्यटन बोर्ड।

कोभिड-१९ महामारीले आममानिसको व्यवहारमा ल्याएको परिवर्तन र सूचना प्रविधिको विकासले पर्यटनको शैली फेरिँदै गएको छ।

कोरोना महामारीले लामो समय अस्तव्यस्त बनेको पर्यटन बिस्तारै चलायमान बन्दै गएको छ। नेपाल पर्यटन बोर्डका अनुसार २०२३ अप्रिलमा मात्रै ९८ हजार ७७३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। मार्चमा ९९ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए।

यससँगै सन् २०२३ को चार महिनामा कुल ३ लाख २६ हजार ५२८ जना विदेशी पर्यटक नेपाल आएका छन्। नेपालमा अहिले पर्वतारोहणको मौसम छ। यसले पर्यटकको आगमन थप बढाउने विश्वासमा व्यवसायी छन्।

कोरोना महामारीका कारण सन् २०२० र ०२१ मा निकै घटेको पर्यटक आगमनको संख्या २०२२ मा सन्तोषजनक रह्यो। २०२२ मा ५ लाख ४६ हजार विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२० मा २ लाख ३० हजार र २०२१ मा १ लाख ५१ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांक छ।

२०११ मा हवाई र स्थलमार्ग गरी १० लाख पर्यटकले नेपाल भ्रमण गरेकोमा कोरोना महामारीअघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएका थिए। जुन हालसम्मकै उच्च हो।

नेपालले सन् १९९८ मा भ्रमण वर्ष मनाएको थियो। त्यसैगरी सन् २०११ मा पर्यटन वर्ष २०११ मनायो। २० लाख पर्यटक भित्र्याउने योजनासहित नेपाल भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी भएका बेला कोरोना महामारीले विश्वभर आतंक फैलायो र अन्तिम अवस्थामा योजना स्थगित गरिएको थियो।

महामारीका कारण सीमित भूगोलमा थुनिएका मानिस निस्फिक्री घुम्न निस्कन थालेका पर्यटन बोर्डको तथ्यांकले पुष्टि गर्छ। योसँगै कोभिडपछि घुम्ने पर्यटकको शैली र व्यवहार भने फेरिँदै गएको छ।

सेज पब्लिकेसनको ‘जर्नल अफ ट्राभल रिसर्च’ मा राखिएको ‘टुरिजम ड्युरिङ एन्ड आफ्टर कोभिड–१९’ शीषर्कमा प्रकाशित लेखमा विश्वभर पर्यटनको शैली फेरिँदो रहेको उल्लेख छ।

‘कोभिड–१९ को समयमा लामो समय घरभित्र बसेका कारण आममानिसको आनीबानीमा ठूलो परिवर्तन ल्याएको छ,’ अध्ययनमा भनिएको छ, ‘यसको प्रभाव घुम्ने मानिसमा झन् परेको छ, उनीहरू खानपानदेखि हिँड्डुल र बसाइका क्रममा स्वास्थ्यप्रति बढी सजग देखिन थालेको र त्यहीअनुसारको आतिथ्य खोज्न थालेका छन्।’ यही कारण अबको पर्यटन बजारले पनि पाहुनाको स्वभाव बुझेर सोहीअनुरूपमा सेवा दिनुपर्ने अध्ययनले औँल्याएको छ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह पनि यो कुराप्रति सहमत छन्। ‘कोभिडअघि र पछि पर्यटकका व्यवहारमा धेरै परिवर्तन देखिन्छ। लगभग शतप्रतिशत पर्यटक डिजिटाइज भएका छन्’, उनी भन्छन्, ‘यसका साथै स्वास्थ्यका मापदण्ड, सरसफाइ र खानपानमा निकै सचेत छन्।’

चितवनको सौराहामा रमाउँदै पर्यटक। तस्बिरः पर्यटन बोर्ड

फेरिएको प्रचार

सूचना प्रविधिको विकाससँगै पर्यटक आकर्षित गर्न प्रचार गर्ने शैलीसमेत फेरिएको छ। कोभिड–१९ महामारीले डिजिटल माध्यमको प्रयोगलाई व्यापकता दियो। यही कारण प्रविधिको प्रयोग गर्ने शैलीलाई पछ्याएर नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जालमार्फत नेपालको पर्यटन गन्तव्यको प्रचार गर्न थालेको छ। बोर्डले कोभिड अघिसम्म स्टिकर, ब्रोसर, क्यालेन्डर, किताबलगायत सामग्री छापेर मुख्यमुख्य गन्तव्यको प्रचार गर्थ्यो। अहिले फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब तथा बेवपेजमार्फत प्रचार गर्न थालेको छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी सामाजिक सञ्जालमार्फत गरिएको पर्यटन प्रवर्द्धन बढी प्रभावकारी र सस्तो भएको बताउँछन्। ‘कुनै तस्बिर वा जानकारी अपलोड गर्नसाथ संसारभर जानकारी पुग्छ,’ उनी भन्छन्, ‘यो निकै सहज र प्रभावकारी भएको छ।’ सामाजिक सञ्जालमा तस्बिर, भिडियो हेरेरै उक्त ठाउँबारे जानकारी लिने र घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक उत्तिकै भएको उनको भनाइ छ।

प्रचारको नयाँ शैली अपनाएकै कारण बोर्डका सामाजिक सञ्जालका एकाउन्ट पछ्याउनेको संख्या बढ्दो छ। बोर्डका ट्विटर फ्लोअर्स ४८ हजार ५०० नाघेका छन्। फेसबुकमा १ लाख ८३ हजारले फ्लो गरिरहेका छन् भने इन्स्टाग्राममा ४८ हजारले पछ्याइरहेका छन्।

कमजोर पूर्वाधार

कोभिडपछि पर्यटन व्यवसायले पुरानै आकार लिन थाले पनि पूर्वाधारको कमजोरीले सोचेजस्तो प्रगति हुन नसकेको जानकारहरू बताउँछन्। हानका अध्यक्ष शाह भन्छन्, ‘पर्यटकको व्यवहार र शैली धेरै फेरिसक्यो तर भरपर्दो डिजिटल डिभाइसदेखि मुख्य गन्तव्य जोड्ने भौतिक पूर्वाधारको अवस्था नाजुक छ।’

शाहले भनेजस्तै पर्यटकका पहिलो रोजाइमा पर्ने मुख्य गन्तव्य जोड्ने भौतिक पूर्वाधारको अवस्था नाजुक छ। राजधानी काठमाडौँबाट नजिकै पर्ने नगरकोटको सडक ७ वर्षसम्म बन्न सकेको छैन। पोखरा जोड्ने सडक मार्गको हालत तीन वर्षदेखि बेहाल छ। लुम्बिनी जोड्ने नारायणघाट–बुटवल सडक खण्ड चार वर्षदेखि ध्वस्त छ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। आन्तरिक हवाई उडानको भाडा निकै महँगो छ। अन्तर्राष्ट्रिय नेपाली एयरलाइन्स कम्पनीहरू क्षेत्रीय उडानमै सीमित छन्। युरोपले त सुरक्षाका कारण देखाउँदै आफ्नो आकाशमा उड्न अनुमति नै रद्द गरेको धेरै भइसक्यो।

त्यसका साथै कोभिडपछि व्यापक रूपमा बढेको डिजिटाइजेशन पनि भरपर्दो गरी विकास भएको छैन। एटीएमबाट पैसा झिक्ने निश्चित मापदण्ड छ। पस, क्यूआरलगायत डिजिटल माध्यमबाट भुक्तानीमा बेलाबेला आउने समस्या छँदैछ। पर्यटक आउने धेरै देशका पैसा साटफेर गर्न कानुनी झन्झट उत्तिकै छ।

निजी क्षेत्रबाट बनेका तारे होटलबाहेकका संरचना छैनन् भन्दा फरक पर्दैन। विमानस्थलबाट निस्किनासाथ ट्याक्सीको मनोमानी भाडा, राजमार्गको बेहाल अवस्था, भद्रगोल सार्वजनिक यातायातलगायत पर्यटन क्षेत्रलाई नराम्रोसँग बिथोलेको छ।

यी विविध कारणले पर्यटन क्षेत्रको विकास अपेक्षाकृत नभएको हान अध्यक्ष शाह बताउँछन्। उनी भन्छन्, ‘सरकारले पर्यटन प्रवद्र्धन भनेर मात्रै हुँदैन सोअनुरुपको पूर्वाधारदेखि अन्य सेवसुविधा विस्तारमा पनि ध्यान दिनुपर्छ।’

त्यसो त सरकारले ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ कार्यान्वयन गरिरहेको छ। यसमा पर्यटन क्षेत्रको समग्र विकासका लागि ११ वटा रणनीतिक लक्ष्य तय गरिएको छ।

रणनीतिमा विश्वव्यापी रूपमा नेपालको ब्रान्ड स्थापित गर्ने, लगानी र व्यावसायिक सुधारका लक्ष्य, मानव संशाधन विकाससम्बन्धी लक्ष्य, गुणस्तर आवास, बसाइ, खाना, सुरक्षा र सार्वजनिक क्षेत्रका सेवाको सुधार ल्याउनेलगायत योजनामा समेटिएको छ।

कार्यान्वयन भने सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन्। शाह भन्छन्, ‘प्रमुख पूर्वाधार र संयन्त्रगत सुधार ल्याउन सकेमा नेपालको पर्यटन क्षेत्रमा ठूलै परिवर्तन आउनेमा शंका छैन।’

कोशी : सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनासम्म

लुम्बिनीमा कहाँकहाँ जाने?

गण्डकीका १० पर्यटकीय गन्तव्य

विविधताको संगम कर्णाली

सुन्दर सुदूरपश्चिमका पर्यटकीय स्थल

प्रकाशित: २४ वैशाख २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =