घुम्ने ठाउँ

सुन्दर सुदूरपश्चिमका पर्यटकीय स्थल

पदमराज भट्ट २४ वैशाख २०८० १७:२०
30
SHARES
सुन्दर सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड क्षेत्र।

सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल हिमाल यहीँ छन्। दुर्लभ डल्फिन सुदूरपश्चिम पुगेपछि हेर्न पाइन्छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै दर्जनभन्दा बढी यस्ता ठाउँ छन्, जहाँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ।

राज्यकै दृष्टिबाट दूर रहेको सुदूरपश्चिम पर्यटकको हिसाबमा ‘फुल प्याकेज’ हो। भौतिक संरचनादेखि अन्य पूर्वाधारका काम अपेक्षाकृत रूपमा हुन नसके पनि पर्यटककै कारण सुदूरपश्चिमको आर्थिक विकास सहज भएको छ। तीनै तहका सरकारले यसतर्फ ध्यान दिन आवश्यक देखिन्छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटा अर्थात् वन्यजन्तुको सुरक्षित आश्रयस्थल। बाघदेखि बँदेलसम्म, मृगदेखि मयुरसम्मले विचरण गर्ने स्थल हो यो। वन्यजन्तु हेर्न होस् वा तिनलाई नजिकबाट अध्ययन गर्न शुक्लाफाँटा एक खुला संग्रहालय हो।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रूपमा स्थापना भएको थियो। २०३२ सालमा १५५ वर्ग किमि क्षेत्रफललाई समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको हो। २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किमि क्षेत्रफललाई विस्तार गरी आरक्षको क्षेत्रफललाई ३०५ वर्ग किमि बनाइएको थियो।

२०७३ साल फागुन ९ मा शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बदलिएको थियो। यो १७४ मिटरदेखि १३८६ मिटरको उचाइमा पर्छ। यो निकुञ्ज विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिंगा पाइने स्थानको रूपमा समेत चिनिने गरेको छ। अन्य दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिको लागि पनि यो ठाउँ प्रसिद्ध छ।

प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको यस निकुञ्जमा ठूलो घाँसेमैदान छ। जहाँ हुने बाह्रसिंगाको झुण्डले पर्यटकको मनै लोभ्याउँछ। नेपालको तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाइने क्षेत्र पनि हो यो। क्षेत्रफलका हिसाबले सानो भए तापनि दुर्लभ वन्यजन्तु तथा पक्षी बढी पाइने ठाउँ हो। खरमयुर र कृष्णसारको पुनर्स्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र हो शुक्लाफाँटा।

निकुञ्जमा सन् २०१८ को गणनाअनुसार १६ वटा बाघ रहेका छन्। मौसमी हात्ती ४०÷५० को झुण्ड आउने गरेको भए पनि चारवटा रैथाने हात्ती रहेको निकुञ्ज कार्यालयले जनाएको छ। सन् २०१७ को गणनाअनुसार १७ वटा गैँडा रहेको निकुञ्जमा सन् २०१४ को गणनाअनुसार २३०१ बाह्रसिंगा र ७४ कृष्णसार रहेको तथ्यांक छ।

१२ प्रजातिका घस्रने वन्यजन्तु निकुञ्जमा छन्। २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजाितका पुतली, सन् २०१३ को गणनाअनुसार ८०–९० नीलगाई र ४ सय २४ प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि शुक्लाफाँटामा रहेका छन्।

स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाति रहेका छन्। जसमा पाटेबाघ, एकसिंगे गैँडा, हात्ती, बाह्रसिंगा, कृष्णसार, सालक, नीलगाई, चितुवा, रतुवा, खरायो, बँदेल आदि रहेका छन्।

झिलमिला ताल

प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत पर्वत शृंखलाको कान्छो पहाडको मध्यभाग। चारैतिर घना जंगल। बीचमा सफा सुन्दर र शान्त ताल। स्निग्ध वातावरण। चारैतिर देवीदेवताका थान। तालको पानी कञ्चन छ। न त्यहाँ रूखका पात खसेका छन्, न पानीको कुनै निकास छ। अलौकिक सौन्दर्य नियालेर हेर्ने हो भने पानीका फोका झिल्काजस्ता देखिन्छन्। जसले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

भीमदत्त नगरपालिका–९, चुरे पहाडमा रहेको झिलमिला ताल स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ। हिन्दूहरूको प्रमुख काव्य ग्रन्थ ‘महाभारत’मा पनि यस तालको अलौकिक शक्तिको वर्णन छ। किंवदन्तीअनुसार पाण्डव वनवासमा हुँदा द्रौपदीलाई तिर्खा लाग्यो। युधिष्ठिरले पानी खोज्न कान्छो भाइ सहदेवलाई अह्राए। धेरै बेरसम्म सहदेव नफर्किएपछि क्रमशः नकुल, अर्जुन र भीमलाई पठाए। तर कोही फर्केनन्। अन्त्यमा उनी आफैँ पानी खोज्न हिँडे।

हिँड्दै जाँदा ताल छेउमा सबै भाइ लडिरहेको देखे। त्यहीँ बेला तालबाट निस्केको अदृष्य शक्तिले युधिष्ठिरलाई प्रश्न सोधे। उनले प्रश्नको जवाफ दिएपछि उनलाई एउटा भाइ जिउँदो माग्ने वर माग्न लगाइयो। युधिष्ठिरले सौतेलो भाइ नकुललाई जिउँदो बनाइदिन माग गरे। त्यसपछि त्यो अलौलिक शक्तिले युधिष्ठिरका सबै भाइलाई जिउँदो बनाएको थियो।

डेढ किलोमिटर लामो ताल चार बिघामा फैलिएको छ। १७ मिटर गहिरो छ। ताल चारैतिरबाट घना जंगलले ढाकिएको छ। तालको चारैतिर परिक्रमा गर्ने बाटो बनाउन थालिएको छ।

तालको चार दिशामा देवीदेवताका मन्दिर छन्। दक्षिणतिर झिलमिला माताको मन्दिर छ। सुरुमा झिलमिला माताको दर्शन गरी ताललाई दाहिने गरी दर्शनार्थीले ताल परिक्रमा गर्छन्। मन्दिरनजिक सिद्ध बैजनाथको मन्दिर छ। पश्चिमी किनारमा काली अर्थात् दुर्गा माता र अर्को छेउमा पूर्णागिरीको मन्दिर छ। दर्शनार्थी देवीदेवताको पूजापाठ गरी फर्किने गर्छन्।

बेदकोट ताल

कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। अहिले कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो ताल पर्न थालेको छ।

पूर्व–पश्चिम महेन्द्रराजमार्गस्थित दैजी चौराहाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको उक्त ताल अवलोकन गर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन्। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ बेदकोट ताल। तालको वरपर रूखैरूख छन्। तर तालमा अहिलेसम्म कहिल्यै पात परेको देखिँदैन। दैवीय शक्तिका कारण तालमा पात नपरेको स्थानीयहरूको विश्वास छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बेदकोट नगरपालिकाको आर्थिक सहयोगमा निर्मित छ तले भ्यु–टावर बेदकोट ताल क्षेत्र आउने पर्यटकका लागि नयाँ आकर्षक बनेको छ। ६० फिट अग्लो त्यस भ्यु–टावरबाट कञ्चनपुरको तराईको दृश्यावलोकन गर्न सकिन्छ।

घोडाघोडी सिमसार क्षेत्र

विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिको चराचुरुंगी पाइने गरेका छन्। यो सिमसारमा साइबेरिया, मंगोलियालगायत विभिन्न ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउँछन्। यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपक्षी छन्। यसैगरी १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन्। कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइन्छ।

सिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ। २०७८ फागुनमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र घोडाघोडी नगरपालिकाको संयुक्त आयोजनामा बर्ड सेन्चुरी घोषणा गरिएको हो।

गोदावरी धाम

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ। वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्त्व पनि छ। यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ।

यो क्षेत्रमा पश्चिम नेपालकै सबैभन्दा अग्लो ५१ फिटको हनुमानको मूर्ति रहेको छ। धनगढीदेखि करीब २० किमी उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्रमा गोदावरी नदी, छेउमा मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन्। मकर सङ्क्रान्तिका दिन यो क्षेत्रमा मेला लाग्छ।

कैलालीको गोदावरी धाम पछिल्लो समय धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ। गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ।

रामारोशन क्षेत्र

अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित छ, रामारोशन क्षेत्र। यहाँको जयगढदेखि करिब ४० किलोमिटरको कच्ची सडक छिचोल्दै रामारोशन क्षेत्र पुग्न सकिन्छ। १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय अनुकूल मानिन्छ। यहाँ सानाठूला गरी १२ वटा ताल (बाह्र बण्ड) र १८ वटा रमणीय मैदान (अठार खण्ड) छन्। स्थानीय भाषामा यसलाई बाह्र बण्ड अठार खण्ड पनि भन्ने गरिन्छ।

रहरलाग्दा जमिनका फाँट, मनमोहक ताल, अनेक थरीका फूल, तालमा पौडिरहेका जलहाँस, राष्ट्रिय पछी डाँफे, मुनाल, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरको उपस्थिति नै यस जिल्लाको पर्यटन विकासको स्तम्भ हो।

कसैले यसलाई ‘प्रकृतिकी रानी’ भन्छन् भने कोहीले यसलाई ‘प्रकृतिको स्वर्ग’ पनि भन्छन्। दुर्गम पहाडी खोँचभित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशनमा ताल, मैदान, झरना, पाटन, हरियाली जंगल, पहाडी चुचुरा, जंगली जनावर, चराचुरुंगी, फूल, जडीबुटी र गुफा छन्।

रामारोशनको नामका सम्बन्धमा विभिन्न मत सुनिन्छन्। एकथरी भनाइअनुसार रामारोशन क्षेत्रभित्र आधा घण्टाको फरकमा रामे र रोशन नामका दुइटा मैदान छन्। परापूर्वकालमा रामे नामको एक जना गोठालाले सबैभन्दा पहिले रामे मैदानमा गोठ बनाएकाले त्यस ठाउँको नाम रामे र अर्को रमाइलो, रसिलो भएकाले रोशन रहन गएको हो। पछि दुवै स्थानलाई जोडेर रामारोशन हुन गएको हो।

परापूर्वकालमा शिव र पार्वतीले यस क्षेत्रमा रोशन र रामाका रूपमा वास गरेकोले त्यसको नाम रामारोशन रहेको हो। तेस्रो भनाइअनुसार रामारोशनलाई दुई भागमा विभाजित गरेर हेर्दा रामा भनेको भगवती दुर्गा, पार्वती, लक्ष्मी आदि देवी र रोशन भनेको अत्यन्त सुन्दर उज्यालो मनमोहक रमणीय ठाउँ (देवी भगवतीको क्रीडास्थल) हो।

मेलौली भगवती मन्दिर

बैतडीको मैलौली नगरपालिका मेलौली भगवतीको मन्दिर हाल शिखर शैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्माण गरिएको छ। काँडा बजारस्थित शिखर शैलीको शिवमन्दिर नजिकको टोल र गाउँमा मष्टा, गैसरे, बामनी, सिद्ध, भूतनाथ, लाटो, रतनपुरी आदि देवस्थान र माण्डौ खुला देवस्थानका रूपमा स्थापित गरिएका छन्।

विभिन्न पर्वमा आआफ्नो जातीयपरम्पराअनुसार पूजाआजा गर्ने चलन छ। यी देवीदेवतालाई मेलौली भगवतीका सहयोगी शक्तिका रूपमा लिने गरिन्छ। यस मन्दिर परिसरबाट एकदुई घण्टाको पैदल दूरीमा रहेका प्रसिद्ध मन्दिरमा शिवनाथ, महारुद्र, ठाकुर मन्दिर उदयदेव, ग्वाल्लेक केदार, गंगेश्वर, आदि दर्शनीय धार्मिक स्थल छन्। यस मन्दिरको पश्चिममा पर्ने अम्चोराभन्ने ठाउँमा देवतालसमीप गणमेश्वर शिवको सुन्दर मन्दिर निर्माण गरिएको छ।

खप्तड राष्ट्रिय निकुञ्ज

सुुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा खप्तड राष्ट्रिय निकुञ्ज रहेको छ। निकुञ्ज सन् १९८४ सालमा स्थापना भएको हो। यो निकुञ्ज २२५ वर्ग किमिमा क्षेत्रफलमा फैलिएको छ। यस राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्छ। जहाँ सल्ला, खसुर र निगालोको जंगलका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसेमैदान छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चरा पनि पाइन्छन्।

अपी हिमाल।

समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको १२ हजार फिट अग्लो खप्तड लेक यहाँको आकर्षण हो। खप्तड क्षेत्रभित्र त्रिवेणी धाम, सहस्र लिंग, बाबा आश्रम, बाबा कुटी, घोडा दाउन पाटन, डाँफेकोट, गणेश पाटन, नागढुंगा, छित्रेपानी आदि छन्। जो पर्यटकका लागि आकर्षक गन्तव्य हुन्। त्यसबाहेक यस क्षेत्रमा २२ वटा ठूला पाटन र ५२ वटा झोता (रूखका थुम्का) छन्। गंगा दशहरा मेला र जनै पूर्णिमामा लाग्ने खप्तड जात्रा प्रसिद्ध छ। यहाँको मौसम सामान्यतया चिसो हुने गर्छ। चैतदेखि असार मसान्त यहाँ घुम्नका लागि उपयुक्त समय हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =