घुम्ने ठाउँ

विविधताको संगम कर्णाली

हिमाल प्रेस २४ वैशाख २०८० १७:१९
16
SHARES
विविधताको संगम कर्णाली कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल। तस्बिर : सुरेश आचार्य/रासस

भाषा, साहित्य, सांस्कृतिक, प्राकृतिक हिसाबले मात्र नभएर ऐतिहासिक रूपले पनि निकै धनी छ, कर्णाली प्रदेश। धार्मिक पर्यटकीय स्थल मानसरोवरको ‘गेट वे’ हो यो। नेपाली भाषामा लेखिएको पहिलो अभिलेख, नेपाली भाषाको उद्गम थलो, राज्यको सबैभन्दा ठूलो ताल, राज्यको सबैभन्दा गहिरो ताल, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानलगायत विविधताको संगमस्थल पनि हो। जो समृद्ध नेपाल बनाउने अभियानमा महत्त्वपूर्ण बन्न सक्छ।

सिन्जा उपत्यका।

प्रदेशको कुल क्षेत्रफल २४४५३ वर्गकिलोमिटर र कुल जनसंख्या १५,६९,३०७, परिवार संख्या २,९८,३५९ रहेको छ। प्रदेशमा हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, पश्चिम रुकुम, सल्यान, दैलेख र सुर्खेत गरी १० जिल्ला रहेका छन्। यस प्रदेशमा रहेका ७९ वटा स्थानीय तहमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन्।

हुम्ला

हिन्दूहरूको तीर्थस्थलका रूपमा प्रख्यात मानसरोवर जाने प्रमुख स्थान हो, यो। समुद्री सतहबाट २९०० सय मिटरमा उचाइमा छ सदरमुकाम सिमकोट। लिमी उपत्यका, याल्वाङ क्षेत्र, रलिंग गुम्बा, पञ्चमुखी हिमाल, लडेदह, दूधेदह, खार्पुनाथ शिवालय, थालीमालिका दूधेदह, मालिका महरीखोर, लेप्चे निग्ल, जुडे दह, मथा पर्यटन क्षेत्र, कवाडी, मदना, खौला र झाडमाण्डुलगायत धार्मिक एवं पर्यटकीय स्थल छन् यहाँ।

मुगु

रारा, मुगु जिल्लामा पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। पाँच किमि लम्बाइ, तीन किमि चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको राराको क्षेत्रफल ११ वर्गकिलोमिटर छ। छायांनाथ कोइकी हिमाल, तिहास गुम्बा, चंखेली पहाड, मच्छे पर्यटकीय केन्द्र, खेस्मा मालिका, तातोपानी कुण्ड यहाँका प्रमुख धार्मिक एवं पर्यटकीय स्थल हुन्।

रारा ताल

जुम्ला

जुम्ला बस्तीको मध्य स्थानमा चन्दनाथ मन्दिर। नजिकै बगिरहेको तिला नदी हो जुम्लाको स्वरूप। संसारकै सबैभन्दा उच्च स्थानमा धान फल्ने जिल्ला पनि हो यो। यही जिल्लाको सिञ्जाबाट खस भाषाको उत्पत्ति भएको हो।

जुम्लामा काञ्जिरोवा, पातारासी, वाक्की हिमाल, पञ्च देवल, तातोपानी, पाण्डु गुफा, विराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर हेर्नलायक छन्। त्रिवेणी दानासाँघु, पुगझुलैना मालिका, केदारनाथ, गुठीचौरलगायत धार्मिक एवं पर्यटकीय स्थल छन् यहाँ।

जुम्लाको चन्दननाथ।

कालीकोट

कालीकोट जिल्लाको मुग्राहास्थित कालिका गाँउमा अवस्थित कालीदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालीकोट रहन गएको हो भन्ने जनधारणा छ। पचाल झरना, बडिमालिका, कोट दरबार, देउरा मालिका, महाबु, पञ्चदेवल मालिका, वयल झरनालगायत यहाँका देवल तथा मष्टका थान धार्मिक हिसाबले निकै महत्त्वपूर्ण छन्।

दैलेख

दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो। श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्चतीर्थस्थल र ज्वाला दैलेखको अर्को जीवन्त परिचय हो। कोतगढी, गढी, कीर्ति खम्बा यहाँका पर्यटकीय स्थल हुन्।

दैलेखको बाइस देवल।

जाजरकोट

जाजरकोट प्राकृतिक स्रोतसाधनले धनी जिल्ला हो। जाजरकोट दरबार यहाँको मुख्य आकर्षण हो। प्राकृतिक विविधतामात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट। शिर्पा चौर, नदाई गाध कुशे जलजला पर्यटकीय क्षेत्र, पञ्चाला पर्यटकीय क्षेत्र, शिवालय पर्यटकीय क्षेत्र, मालिका सयडा वामकोट गुफालगायत धार्मिक एवं पर्यटकीय स्थल घुम्नलायक ठाउँ हुन्।

रुकुम

रुकुमकोटमा रहेको रुक्मणी देवीको नामबाट रुकुमकोट रहेको र पछि रुकुमकोटबाट रुकुम नाम रहेको जनश्रुति छ। धार्मिक तथा जडीबुटीका हिसाबले निकै प्रख्यात रहेको छ। गोतामकोट यस जिल्लाको प्रमुख पर्यटकीय केन्द्र हो। डिग्रे शाई कुमारी मन्दिर, सिस्ने हिमाल पदमार्ग, स्यार्पु ताल, रिम्ना दोभान, खराजन दह, दहबाङ्ग पर्यटकीय क्षेत्रलगायत धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् यहाँ।

सल्यान

पहाडी जिल्लामध्ये एक हो, सल्यान। कुपुण्डेदह यहाँको धार्मिक स्थलका रूपमा प्रसिद्ध छ। यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन्। घुम्नका लागि अन्य पर्यटकीय एवं धार्मिकस्थल पनि प्रशस्त छन् यहाँ।

सुर्खेत

सुर्खेत कर्णाली प्रदेशको सदरमुकाम। सुर्खेतको काँक्रेबिहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ। सुर्खेतमा देउती बज्यै, बुलबुले ताल, बराहताल, जाजुरा दह, चमेरे गुफा, गुप्ती ताल, शिवगुफा, मादले गुफा, खैरेनी खटाङ, घण्टाघर, रामजानकी हरित पार्क, दोभान पर्यटकीय क्षेत्र, तामाखानीलगायत पर्यटकीय स्थल छन्।

डोल्पाको से फोक्सुन्डो ताल।

डोल्पा

सफा, शान्त र निर्मल पानी। छिनछिनमा पानीको रङ परिवर्तन भइरहने। कहिले गाढा नीलो, कहिले मलिन हरियो। देशको सबैभन्दा गहिरो तथा दोस्रो ठूलो ताल डोल्पाको फोक्सुण्डो हो। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि पनि प्रसिद्ध छ। त्रिपुरासुन्दरी, कालीबगर, फुलोली, छलमष्ट, खनी मन्दिर, शिपुम्यान्वुवोन गुम्बा, विक्रम शाही महाराजको दरबार, मुकुटेश्वर तीर्थस्थल, कुनासा पाटन, पुवा हिमाल, ब्यास ऋषि तपोभूमि, मड्केचुला सुपाकुना गुफा, जगडुल्ला दूधकुण्डली, से गुम्बालगायत धार्मिक एवं पर्यटकीय स्थल डोल्पामा रहेका छन्।

तस्बिर स्रोत : कर्णाली प्रदेश सरकार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =