घुम्ने ठाउँ

कोशी : सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनासम्म

विवेक विवश रेग्मी २४ वैशाख २०८० १८:४४
78
SHARES
कोशी : सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनासम्म ताप्लेजुङको पाथीभरा मन्दिर र कुम्भकर्ण हिमशृंखला।

कोशी प्रदेशमा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। नेपालका आठ हजार मिटरभन्दा अग्ला पाँच वटा हिमाल यहाँ छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु र चोयु हिमाल यहाँका आकर्षण हुन्। पाथीभरा मन्दिर, नमस्ते झरना, जलजले क्षेत्रलगायत पनि कोशी प्रदेशका घुम्नलायक ठाउँ हुन्। प्राकृतिक र जैविक विविधताले भरिपूर्ण यो प्रदेशमा घुम्नलायक थुप्रै ठाउँ छन्।

ताप्लेजुङ

ताप्लेजुङ भन्नेबित्तिकै धेरैले पाथीभरा देवीलाई सम्झन्छन्। धार्मिक पर्यटकका लागि ताप्लेजुङ आकर्षक गन्तव्य हो। ३०९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने भक्तजनको विश्वास छ।

कञ्चनजंघा हिमाल पनि धेरैजसो पर्यटकको आकर्षणको केन्द्र हो। कतिपयले पाथीभरा मन्दिरबाट कञ्चनजंघालाई हेर्ने गर्छन। आफ्ना आँखाको लेन्समा कैद गर्ने गर्छन्।
त्यस्तै ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झरना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन्। तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङको ओलाङ्चुङगोला पनि यही जिल्लामा पर्छ।

पाँचथर

पाँचथरमा घुम्नका लागि जिल्ला सदरमुकाम फिदिमदेखि ऐतिहासिक महत्त्व बोकेको हिलिहाँङ दरबारसम्म छन्। काबेली, तिम्बुपोखरी, जोरपोखरी, पानावा झरना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, स्वर्गपुरी मन्दिर, लब्रेकुटीलगायत यहाँका घुम्नलायक ठाउँ हुन्। पाँचथरको लेकमा चौरी चरिरहेको दृश्यले जोकोही पर्यटकलाई लोभ्याउँछ।

इलाम

बादलुको घुम्टोले इलाम बजार छोपिँदा
मैले सबलाई बिर्सेछु, तिमीलाई सम्झिँदा

बुद्ववीर लामाको शब्द तथा यम बरालको स्वरमा रहेको यो गीत इलाम पुगेपछि धेरैले गुनगुनाउँछन्। इलाम चियाको राजधानी हो। इलामलाई कतिपयले ‘प्रकृतिको रानी’ पनि भन्छन्। एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने। जुनसुकै बेला पनि चिसो बतास चलिरहनु यहाँको विशेषता हो।

इलामको श्रीअन्तु।

इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन्। यहाँको श्रीअन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको दृश्य हेर्न सकिन्छ। पछिल्लो समय श्रीअन्तुमा पर्यटकको भीड लाग्ने गरेको छ। होम-स्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ। कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुरलगायत पनि घुम्नका लागि आकर्षक ठाउँ हुन्। पशुपतिनगर हुँदै दार्जिलिङ जाने नाका कारण पनि पछिल्लो समय बाह्य पर्यटक बढ्दै गएका छन्।

संखुवासभा

सभापोखरी र गुफापोखरीका लागि चर्चित छ, संखुवासभा। मकालु वरुण राष्ट्रिय निकुञ्ज, मिल्के डाँडा यहाँका पर्यटकीय गन्तव्य हुन्।

संसारकै होचो अरुण उपत्यका, विश्वको पाँचौँ र नेपालको चौथो अग्लो मकालुलगायत हिमशृंखला रहेका छन् यहाँ। लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पर्छ।

धनकुटा

तराईका जिल्लाबाट गर्मीयाममा जान मन लाग्ने ठाउँ हो, धनकुटा। गर्मी छल्न धेरै मान्छे धनकुटाको भेडेटार पुग्ने गर्छन्। सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४३० मिटर उचाइमा छ। यहाँको हुस्सु, चिसो बतासले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।

२०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन)ले विश्वका उत्कृष्ट घुम्नलायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि धनकुटामा पर्यटक बढ्दै गएका हुन्।

होम-स्टे र अर्गानिक खाना खान पाइने भएकाले पनि नाम्जेमा पर्यटकको चहलपहल बढेको हो। धनकुटा एभोकाडो फलको लागि पनि चर्चित जिल्ला हो। जिल्लामा पाख्रीबास, हिले, धनकुटा बजार, डाँडाबजार, छिन्ताङ, विश्रान्ति मन्दिर, राजारानी, नमस्ते झरना आदि पर्यटकीय गन्तव्य छन्।

भोजपुर

भोजपुर जिल्ला खुकुरीका लागि प्रसिद्ध छ। त्यसबाहेक प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक जिल्लाका रूपमा पनि यो परिचित छ। ट्याम्के डाँडा, मैयुङ डाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, षडानन्दको जन्मभूमि दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, हतुवागढी आदि भोजपुरका पर्यटकीय गन्तव्य हुन्।

खोटाङ

खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन्। भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवता हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छन्। खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोशी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने जनविश्वास छ।

खोटाङको हलेसी।

हलेसीबाहेक तुवाचुङ जायजुम, मुढे डाँडा, रूपाकोट डाँडा, मझुवागढी, ताराखसे डाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पनि यहाँका घुम्नलायक ठाउँ हुन्।

ओखलढुंगा

ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो हो। साहित्यका लागि उर्वर भूमि मानिने ओखलढुंगा विविधताले भरिपूर्ण छ।

मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए। उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको किंवदन्ती छ। ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण श्रेष्ठको पार्कसमेत बनाइएको छ। ओखलढुंगामा रुम्जाटारले पनि चर्चित छ।

सोलुखुम्बु

विश्वकै सर्वोच्च शिखरमा रहेको सगरमाथा सोलुखुम्बुमा अवस्थित छ। हिमाली भेगको यात्रा गर्न चाहनेको पहिलो गन्तव्य नै सोलुखुम्बु हो। विश्वकै सर्वोच्च शिखर सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन्।

सर्वोच्च शिखर सगरमाथा।

त्यस्तै लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो। नाम्चे बजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ। दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्ताले डाँडा यहाँका चर्चित ठाउँ हुन्। विदेशी पर्यटकका लागि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो।

उदयपुर

उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण प्रख्यात छ। उदयपुरमा जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्ष, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी बेलकालगायत पर्यटकीय गन्तव्य छन्।

सुनसरी

सुनसरी कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र भएकाले चर्चित छ। त्यसो त यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधाम पनि छन्। सप्तकोसी नदी पनि यही जिल्ला हुँदै बग्ने भएकाले धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुन सक्छ। कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको लागि उचित बासस्थान हो। आरक्षमा अर्ना, मृग, जरायो, नीलगाई, जंगली हात्तीलगायत अन्य वन्यजन्तु नियाल्न पाइने भएकाले सुनसरीको कोसीटप्पु आकर्षक गन्तव्य हो।

विदेशी मूर्तिकारद्वारा निर्मित विभिन्न मूर्तिले भरिपूर्ण इटहरीको तालतलैया पनि यहाँको अर्को आकर्षक गन्तव्य हो। विभिन्न ताल, पोखरी, बर्जु तथा धरानको चिण्डेडाँडा पनि यहाँको घुम्ने ठाउँ हो।

मोरङ

कोशी प्रदेशको एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ। औद्योगिक सहरका रूपमा परिचित विराटनगरमा विभिन्न ठाउँ अवलोकन गर्न सकिन्छ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको आकाशमा उडिरहेका हाँस प्रजातिका पर्यटक चरा। तस्बिर : रासस

मोरङको कर्णाली भनेर चिनिँदै आएको जेफाले पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो। जेफाले डाँडाबाट विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ। केराबारी, मिक्लाजुङ डाँडा, बेलबारीको बेतना सिमसार, बेतिनी सिमसार, सुन्दरहरैँचाका विभिन्न पार्क यहाँ छन्।

झापा

झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ हो। झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ। झापाको बिर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले कोशी प्रदेशको मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ।

झापामा अर्जुनधारा, कचनकवल, सतासीधाम, कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढी, कृष्ण थुम्की, जामुनखाडी सिमसार क्षेत्र आदि घुम्नलायक ठाउँ हुन्। नेपालको सबभन्दा होचो ठाउँ मानिने केचना झापाको कचनकवल गाउँपालिकामा पर्छ।

तीनजुरे, मिल्के, जलजले क्षेत्रमा फुलेका लालीगुराँस।

तेह्रथुम

तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ। तीनजुरे, मिल्के, जलजले (टस्एमजे) क्षेत्रका रूपमा प्रसिद्ध रहेको तेह्रथुममा २८ प्रजातिका गुराँस पाइन्छन्। खास गरी चैत, वैशाखमा तेह्रथुममा विभिन्न प्रजातिका गुराँस हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।

नेपालकै अग्लो ह्यात्रुङ झरना छ। त्यस्तै ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चिया बगानले पनि पर्यटकलाई लोभ्याउँछ। त्यस्तै मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथीभरा तेह्रथुमका धार्मिक पर्यटकीय गन्तव्य हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =