सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृंखला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन साहसिक गतिविधि मात्र नभई विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको प्रमुख आधार बन्दै गएको छ।
पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको सङ्ख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले यो क्षेत्रको सम्भावना अझ फराकिलो रहेको देखाएको छ।
सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा पर्वतीय पर्यटनको प्रभाव अझ स्पष्ट देखिन्छ। हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकसँगै गाइड, उच्च हिमाली कामदार, भरिया, कुक, होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन सामग्री विक्रेता तथा अन्य सेवा प्रदायकको आय जोडिएको छ। यसरी हिमालमा सुरु हुने आर्थिक गतिविधि गाउँ हुँदै राष्ट्रिय अर्थतन्त्रसम्म फैलिने गरेको छ।
कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्ला पाँच वर्षको तथ्यांक अनुसार सन् २०२१ को तुलनामा सन् २०२५ सम्म आइपुग्दा ट्रेकिङ र पर्वतारोहणका लागि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या ४७७ दशमलव १ प्रतिशत अर्थात् करिब ५ दशमलव ८ गुणाले बढेको छ।
सन् २०२१ मा कडा प्रतिबन्धका कारण केवल २८ हजार ६०० पर्यटक मात्र पर्वतीय गतिविधिमा सहभागी भएका थिए। सन् २०२२ मा अन्तर्राष्ट्रिय सीमा र हवाई सेवा खुला भएसँगै यो सङ्ख्या ११५ दशमलव ६ प्रतिशतले बढेर ६१ हजार ६६९ पुग्यो। त्यसपछि सन् २०२३ मा एक लाख एक हजार ७९२, सन् २०२४ मा एक लाख ५४ हजार ९०० र सन् २०२५ मा एक लाख ६५ हजार ५६ पर्यटक पर्वतीय क्षेत्रमा पुगे।
सन् २०२५ मा नेपाल आएका कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटकमध्ये एक लाख ६५ हजार ५६ अर्थात् १४ दशमलव २ प्रतिशतको मुख्य उद्देश्य ट्रेकिङ तथा पर्वतारोहण रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ अर्थात् नेपाल आउने करिब प्रत्येक सातमध्ये एक पर्यटक पर्वतीय गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
विश्वविख्यात पर्वतारोही स्पीडकाजी शेर्पाले पर्वतीय पर्यटनको आर्थिक प्रभाव पर्यटकको सङ्ख्या र रोयल्टीभन्दा निकै फराकिलो रहेको बताए। ‘एक जना विदेशी पर्यटक नेपाल प्रवेश गरेदेखि स्वदेश फर्किनुअघि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक दर्जनभन्दा बढी नेपालीले रोजगारी पाउँछन्,’उनले भने,‘ट्याक्सी चालकदेखि ट्रेकिङ कम्पनी, गाइड, पोर्टर, आरोहण सहयोगी, होटल तथा अन्य सेवा प्रदायकसम्म यसको लाभ पुग्ने भएकाले यसको मूल्यांकन समग्र आर्थिक प्रभावका आधारमा गर्नुपर्छ।’
पर्वतारोहणबाट सरकारले प्रत्यक्ष रूपमा रोयल्टी प्राप्त गर्दै आएको छ। सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, धौलागिरि र कञ्चनजङ्घाजस्ता हिमालबाट उल्लेखनीय राजस्व उठ्ने गरेको छ।
सरकारी तथ्यांकअनुसार नेपाल पर्वतारोहण संघमार्फत अनुमति जारी हुने २७ वटा हिमालमा सन् २०२५ मा सात हजार ५४ जनाले आरोहण अनुमति लिएका थिए। तीमध्ये ६ हजार ९०३ विदेशी र १५१ नेपाली थिए। ती हिमालबाट मात्रै १४ लाख २५ हजार ७२० अमेरिकी डलर अर्थात् करिब २० करोड रुपैयाँ रोयल्टी संकलन भएको छ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार पर्वतारोहणबाट सिर्जना हुने आर्थिक योगदानलाई रोयल्टीमा मात्र सीमित गरेर हेर्न मिल्दैन। उनले आरोहीले अनुमति शुल्कबाहेक उपकरण, लजिस्टिक, गाइड, उच्च हिमाली कामदार, खाद्यान्न, आवास, यातायात, सञ्चार र उद्धारमा गर्ने खर्च स्थानीय अर्थतन्त्रमा पुग्ने बताए।
पर्वतीय पर्यटनको आर्थिक प्रभाव बुझ्न सोलुखुम्बु महत्वपूर्ण उदाहरण बनेको छ। लुक्लाबाट सुरु हुने पर्यटन गतिविधि फाक्दिङ, नाम्चे, थामे, तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै सगरमाथा आधार शिविरसम्म फैलिएको छ। होटल, लज, रेस्टुरेन्ट, पसल, गाइड, भरिया, यातायात, सञ्चार तथा पर्यटन सामग्रीको कारोबार यही गतिविधिसँग जोडिएको छ।
सोलुखुम्बुको पर्यटन सगरमाथामा मात्र सीमित छैन। मेरा पिक, आइल्यान्ड पिक र लोबुचे इस्टजस्ता हिमालले पनि ठूलो सङ्ख्यामा आरोही आकर्षित गरिरहेका छन्।
‘नेपाल पर्यटन तथ्यांक-२०२५’ अनुसार सोलुखुम्बु क्षेत्रका मेरा पिकमा दुई हजार ६३३, आइल्यान्ड पिकमा दुई हजार ७८ र लोबुचेमा एक हजार ७७५ जनाले आरोहण अनुमति लिएका थिए। यी तीन हिमालमा मात्रै छ हजार ४८६ आरोही पुगेका थिए।
पर्वतीय पर्यटनको विस्तारका लागि अब नयाँ आरोहण गन्तव्यको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धन महत्वपूर्ण मानिएको छ। केही सीमित हिमालमा पर्यटकको चाप केन्द्रित हुँदा आर्थिक लाभ पनि सीमित क्षेत्रमा सीमित हुने गरेको छ।
कीर्तिमानी आरोही तेम्बाछिरि शेर्पाले सगरमाथाको ब्रान्डमा मात्र निर्भर नरही नेपालका अन्य हिमालको विविधता विश्वबजारमा प्रस्तुत गर्न सके पर्वतीय पर्यटन अझ प्रतिस्पर्धी बन्न सक्ने बताए।
पर्वत पर्यटनले गाइड, भरिया, कुक, होटल कर्मचारी, आरोहण सहयोगी, उद्धारकर्मी र पर्यटन व्यवसायीसहित ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको छ। तर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न दक्ष र प्रमाणित जनशक्ति आवश्यक रहेको सरोकारवालाको भनाइ छ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले सुरक्षित, व्यावसायिक र दिगो पर्वतीय पर्यटन विकासका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको बताए। उनले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरको दक्षता विकास गर्नुपर्नेमा जोड दिए।
सन् २०२५ मा सिटिइभिटीबाट स्वीकृत पाठ्यक्रमअनुसार व्यावसायिक माउन्टेन गाइड तालिम सञ्चालन गरिएको थियो। हाल संघले काठमाडौँ र कञ्चनजङ्घा क्षेत्रमा ४० दिने प्रोफेसनल माउन्टेन गाइड (पिएमजी) प्रशिक्षण सञ्चालन गरिरहेको छ। अध्यक्ष शेर्पाले यो प्रशिक्षण एक हजार ६९६ घण्टे व्यावसायिक पर्वतीय पथप्रदर्शक पाठ्यक्रमको महत्वपूर्ण हिस्सा भएको जानकारी दिए।
पर्वतीय पर्यटनको विस्तारसँगै वातावरणीय संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमतालको आकार बदलिने, हिमपहिरोको जोखिम बढ्ने र आरोहण मार्गमा परिवर्तन आउने क्रमले पर्वतीय पर्यटनको भविष्यमा चुनौती थपेको अध्यक्ष शेर्पाले बताए।
संघले वातावरणीय जिम्मेवारी, पर्वतारोहण सुरक्षा र उच्च हिमाली उद्धार क्षमतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
पर्यटक व्यवसायी बलबहादुर दर्नालले पर्वतारोहणबाट हुने खर्चको ठूलो हिस्सा स्थानीय व्यवसायी र श्रमिकसम्म पुग्ने भएकाले स्थानीय तहलाई पर्यटनको लाभसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्ने बताए।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले हिमाल आसपासका समुदायले पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ पाउने वातावरण बनाउन सके पर्वतीय पर्यटन स्थानीय विकासको प्रभावकारी माध्यम बन्न सक्ने बताए। रासस


