फाइल तस्बिर
काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय सहयोगी, विद्यालय लेखापाल र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई पनि मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलमा मन्त्रालयले उक्त प्रस्ताव अघि बढाएको हो। चालु आर्थिक वर्षको बजेटमा अन्य शिक्षकको तलब तथा भत्ता वृद्धि गरिए पनि विद्यालय सहयोगी, लेखापाल र ईसीडी शिक्षकलाई भने महँगी भत्ताको व्यवस्था गरिएको थिएन।
आफूहरूलाई समेत महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै विद्यालय कर्मचारी र ईसीडी शिक्षकहरूले निरन्तर दबाब दिँदै आएका थिए।
उनीहरूले समान प्रकृतिको काम गर्ने अन्य कर्मचारी तथा शिक्षकको सुविधा वृद्धि हुँदा आफूहरूलाई भने छुटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
मन्त्रालयले उनीहरूको माग सम्बोधन गर्ने उद्देश्यसहित मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पठाएको हो।
मन्त्रालयका अनुसार प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै यसको औपचारिक कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।
प्रस्ताव पारित भए विद्यालय सहयोगी, विद्यालय लेखापाल र ईसीडी शिक्षकले चालु आर्थिक वर्षदेखि महँगी भत्ता पाउने बाटो खुल्नेछ।
विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकले लामो समयदेखि न्यून पारिश्रमिक र सेवा सुविधाका विषयमा आवाज उठाउँदै आएका छन्।


