घुम्ने ठाउँ

गण्डकीका १० पर्यटकीय गन्तव्य

विजय नेपाल २४ वैशाख २०८० ११:२६
12
SHARES
गण्डकीका १० पर्यटकीय गन्तव्य फेवातालमा रमाइरहेका पर्यटकहरू। तस्बिरः रासस

गण्डकी प्रदेश सरकारले तीन वर्षअघि १ सय १० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो। प्रदेशका ११ जिल्लामध्ये हरेक जिल्लाका १०/१० गरी १ सय १० गन्तव्य घोषणा गरिएको हो। आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको थियो। तर त्यसको केही समयपछि नै विश्वव्यापी रूपमा कोरोना संक्रमण फैलियो। त्यसको प्रत्यक्ष असर पर्यटनमा पर्‍यो। पछिल्लो समय गण्डकीसहित समग्र नेपालको पर्यटन जुर्मुराउन थालेको छ।

पोखरा

नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो, पोखरा। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगर लागिपरेको छ। फेवाताल,त्यस तालको बीचको तालाबाराही मन्दिर, तालमा देखिने माछापुच्छ्रे हिमालको छायाले पर्यटकलाई लोभ्याउँछ।

बेगनासताल, रूपाताल, विन्ध्यवासिनीमन्दिर, सेती नदी, महेन्द्र गुफा, चमरेगुफा, डेभिडफल, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको मन्दिर, सराङकोट, काहुँडाँडालगायत ठाउँ घुम्ने र आनन्द लिने गन्तव्य हुन् यहाँका।

पोखरास्थित विश्वशान्ति स्तूप। तस्बिरः पर्यटन बोर्ड।

बन्दीपुर

बन्दीपुरलाई ‘पहाडकी रानी’कोउपमा दिइएको छ। पृथ्वी राजमार्ग हुुँदै पोखरा आउने क्रममा तनहुँको बन्दीपुर पुग्न उकालो चढ्नुपर्छ। ग्रामीण पर्यटनका लागि चिनिने बन्दीपुर एक सुन्दर बस्ती पनि हो। यहाँ थुप्रै पर्यटकीय स्थल छन्। बन्दीपुरस्थित छिम्केश्वरी मन्दिर, खड्गदेवी मन्दिर, गुफा घुम्न समय बितेको पत्तै हुन्न। यहाँबाट उत्तरतर्फ देखिने हिमालको मनोरम दृश्य, मर्स्याङ्दी उपत्यकाले मनै लोभ्याउँछ।

गोरखा दरबार

गोरखा जिल्लाको सदरमुकाममा ऐतिहासिक गोरखा दरबार छ। यो दरबारको पश्चिममा देवी गोरखकालीको मन्दिर छ। यहाँको पुरानो गुफामा बाबा गोरखनाथको मूर्ति पनि रहेको छ। नेपाल एकीकरणमा योगदान पुर्‍याएका राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको एक महत्त्वपूर्ण ऐतिहासिक स्थल हो। गोरखा दरबार घुमेर चर्चित मनकामना मन्दिर दर्शन गरेर फर्किन पनि सकिन्छ। मन्दिर दर्शन गरे मनले चिताएको पुग्ने जनविश्वास रहेकोले बर्सेनि हजारौँ दर्शनार्थी मन्दिर जाने गर्छन्।

लोमान्थाङ

लोमान्थाङ उपल्लो मुस्ताङमा पर्छ। हिमालपारिको जिल्ला मुस्ताङ आफैँमा अलौकिक छ। यहाँको भौगोलिक संरचना फरकखालको छ। मुक्तिनाथ मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको बाह्रैमास भीड लाग्छ।मन्दिर दर्शन गरी अधिकांश माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ पुगर फर्किन्छन्। समुद्री सतहदेखि करिब १२ हजार फिट उचाइमा रहेको यो गाउँगाउँ किल्ला वा पर्खालभित्रको सहर भनी चिनिएको छ। यहाँको आकर्षण पुरानो दरबार र गुम्बा हुन्। मुस्ताङमा कागबेनी, कोराला नाका, मार्फा गाउँ, जोमसोमलगायत घुम्नलायक ठाउँ हुन्।

अन्नपूर्ण पदमार्ग

विश्वको उत्कृष्ट १० भित्र अन्नपूर्ण पदमार्ग पर्छ। यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइ हो। यसको प्रदेशद्वार लमजुङको बेंसीसहरबाट सुरु हँुदै खुदी, भुलभुले, स्याँगे, जगत, मनाङका ताल, बगरछाप,चामे, थोरङपास हँुदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ। कोरोनाकालमा पदयात्री घटेकोमा अहिले भने पदयात्रा गर्ने पर्यटक बढ्दै गएका छन्।

घलेगाउँ

लमजुङको घलेगाउँमा गुरुङ समुदायको बस्ती छ। पछिल्लोे समय ग्रामीण पर्यटनको रूपमा घलेगाउँ होम–स्टेका प्रसिद्ध छ। एकदुई दिनको छुट्टी मिलाएर घलेगाउँ आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ। यो ठाउँबाट माछापुच्छ्रे, मनास्लु, अन्नपूर्ण, लमजुङ हिमाल आँखै अगाडि देखिन्छ। चियाबगान, भेडीखर्क, उत्तरकन्याको मन्दिर यहाँका भ्रमण गन्तव्य हुन्।

घलेगाउँ। तस्बिरः रासस

खुमैडाँडा

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको खुमैडाँडा पछिल्लो समय निकै चर्चित छ। यहाँ दिनहुँ चार सयभन्दा बढी मानिस घुम्न आउँछन्। टिकटिकका कारण यो ठाउँ गुलजार बनेको छ। पोखरादेखि १३ किमि यात्रा गरेपछि माछापुच्छ्रे गाउँपालिका १, सरिपाखा पुग्न सकिन्छ। त्यसपछि करिब छ घण्टा पैदल हिँडेर मनोरम खुमैडाँडा आउँछ। अन्नपूर्ण, माछापुच्छ्रे हिमश्रृंखलाको सौन्दर्यसँगै हिउँमा रमाउनेहरूको भीड यहाँ लाग्ने गरेको छ।

सिरुबारी

स्याङ्जा जिल्लाको पञ्चमूलमा ग्रामीण पर्यटकीयस्थत सिरुबारी पर्छ। होम–स्टेकोसुरुवात यहीँबाट भएको हो। सिरुबारी घुम्न आउनेलाई स्थानीयले पञ्चेबाजासहित फूलमालाले स्वागत गर्छन्। गुरुङ जातिको पहिचान झल्किने संस्कृति रहेको यो गाउँमा पर्यटकको बाह्रैमास भीड लागिरहन्छ।

सिरुबारी। तस्बिरः पर्यटन बोर्ड।

पुनहिल

म्याग्दीको घोरेपानीस्थित पुनहिलबाट धौलागिरी हिमाल नजिकैबाट देख्न सकिन्छ। अन्नपूर्णको आधारशिविर पुग्न पर्यटक घोरेपानी पुनहिलको पदयात्रा गर्दै पुग्ने गर्छन्। नेपाल घुम्न आउने विदेशी पर्यटक तथा स्वदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो। घोरपानीबाट आधा घण्टा उकालो हिँडेपछि पुनहिल पुगिन्छ। घोरपानी हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ। यहाँबाट दर्जनौँ हिमाल नियाल्न सकिन्छ।

ढोरपाटन

बागलुङमा पर्ने ढोरपाटन शिकार आरक्षण अर्को पर्यटकीय गन्तव्य हो। रंगीचङ्गी फाँटमा घोडा चरिरहेको सुन्दर दृश्यले आँखा आनन्दित हुन्छ। डाँडा उक्लेर धौलागिरी, गुर्जा, चुरेन हिमालको दृश्यले जोकोहीलाई मोहित बनाउँछ। यहाँका सुन्दर फाँट अझ रमाइला लाग्छन्। यहाँ अनुमति लिएर शिकार खेल्न पाइन्छ। यो नेपालको एकमात्र शिकार आरक्षण हो। वन्यजन्तुको साम्राज्य रहेको ढोरपाटनमा ३२ थरीका स्तनधारी वन्यजन्तु तथा १ सय ६४ प्रजातिका चराचुरुङ्गी छन्।

फेरिँदो पर्यटन शैली

प्रकाशित: २४ वैशाख २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =