लुम्बिनीको चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार

हिमाल प्रेस १५ वैशाख २०८० १९:०३
80
SHARES
लुम्बिनीको चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार

लुम्बिनी– बुद्धकालीन कालानमक धान उपहारस्वरूप कम्बोडिया पठाइने भएको छ। २५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक ‘चामल’प्रदान गर्ने भएका हुन्।

वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए।

कार्यक्रममा सहभागी हुन जानुअधि शुक्रबार उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन्। बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ।

बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व रहेको तथ्य उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले बताए।

‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्य खुसीको कुरा हो,’ भिक्षु मेत्तेयले भने, ‘हामीले राज्य उपहारस्वरूप कालानमक चामल दिन लागेका हौं।’ कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाइ छ।

बुद्धकालमा राजप्रासाद तिलौराकोटबाहिर असार पूणिर्मामा कालानमक रोपेर धान मंगलोत्सव गरिने इतिहासमा उल्लेख छ। यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले यो धानसँग बुद्धकालीन महत्त्व भएको पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताए।

कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान बुद्ध जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्नेछन्। साथै दुई देशका जनताविचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमासमेत छलफल गर्ने छन्।

खाँदा नरम, स्वादिलो र मगमग वासना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। तर, बौद्धसम्पदासँग जोडिएका कपिलवस्तु, रूपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन्।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई बुद्धकालीन यो चामलको स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले लाभ लिन सक्ने छन्। पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टिअसिक्डेन्टको मात्रा बढी हनाले यसको चामल स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कालानमक धान बुद्धकालीन मानिने उल्लेख गरेको हुँदा शुद्धोदन गाउँपालिकाले कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =