सहमतिमा नआए रावलमाथि अनुशासनको कारबाही!

किरण पौडेल ८ वैशाख २०८० १८:२९
226
SHARES
सहमतिमा नआए रावलमाथि अनुशासनको कारबाही! भीम रावल र एमाले वार्ता समिति सदस्य विष्णु पौडेल।

काठमाडौँ- नेकपा एमाले संस्थापन र भीम रावल पक्षबीच वार्ता चलिरहेको छ। पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा लडेपछि रावल र ओलीबीच तिक्तता बढेको हो। २०७८ मंसिरमा सुरु भएको विवाद गत प्रतिनिधिसभा निर्वाचनमा रावललाई ओलीले टिकट नदिएपछि  चुलिएको थियो।

अहिले आएर एमाले संस्थापन (केपी शर्मा ओली) र रावलबीच वार्ता हुनुलाई दुवै पक्ष लचक बनेको टिप्पणी हुन थालेको छ। ओली र नेता रावलबीच पहिलादेखि नै सुमधुर सम्बन्ध थिएन। लामो समय ‘रिसइबी साँध्ने’ ओली र नेतृत्वको चर्को आलोचना गर्ने रावलको प्रवृत्ति छ। सोही व्यवहारका कारण सम्बन्ध बिग्रिएको एमाले नेताहरू बताउँछन्।

चैत १८ गतेको एमाले सचिवालय बैठकले रावलसँग छलफल गर्न पार्टी उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको समिति गठन गरेपछि वार्ता प्रक्रिया सुरु भएको हो। समितिमा सचिव लेखराज भट्टजी र स्थायी कमिटी सदस्य कर्ण थापा छन्।

एउटै पार्टीभित्र छलफल गर्न वार्ता समिति बनाउनु नेपाली राजनीतिमा फरक घटना हो। त्यसैले यसलाई लिएर राजनीतिक वृत्तमा एमालेको आलोचना भयो।  वार्ता समिति गठन भएपछि रावलले स्वागत गरेर आफू वार्ताका लागि तयार रहेको बताए। ‘एमालेले वार्ता समिति गठन गर्नु सही हो। म बैठकका लागि राजी छु’, उनको प्रतिक्रिया थियो। यसअघि रावल एमाले पार्टी कार्यालय जानसमेत चाहँदैनथे। उनले पार्टीका ओली पक्ष नेतालाई अन्यत्र भेट्न आग्रह गर्ने गरेका थिए। पार्टी पदाधिकारीबाट वार्ताका लागि गरिएको अनुरोध रावलले अस्वीकार गरेका थिए।

वार्ता समितिले पार्टी मुख्यालय च्यासलमा वैशाख ३ गते रावलसँग दुई घण्टा छलफल गर्‍यो। दुवै पक्षले छलफल सकारात्मक रहेको बताए। वार्ता निष्कर्षमा भने पुगेको छैन।

वार्तापछि रावलले सामाजिक सञ्जालमा लेखे, ‘आज बिहान ९ देखि ११.३० बजेसम्म नेकपा (एमाले) के.क. उपाध्यक्ष विष्णु पौडेलजी, सचिव लेखराज भट्टजी, स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरो बीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो।’ सकारात्मक परिणाम निकाल्ने गरी फेरि बस्ने सहमति गरिएको उनले जानकारी दिए।

वार्ता समितिका सदस्यहरूले पनि छलफल सकरात्मक रहेको बताए। ‘हामीले खुलस्त वार्ता गर्‍याैँ। छलफल सकारात्मक छ,’ समिति सदस्य कर्ण थापाले भने, ‘रावलजी आजसम्म अन्य पार्टीमा जानु भएन। अब पनि जानु हुन्न भन्नेमा हामी पुग्याैँ। त्यही कारण छलफल गर्‍यौँ।’

एमाले संस्थापन पक्ष पुरानै कुरा दोहोर्‍याइरहेको छ। रावल सच्चिएर आएमा फेरि सँगै रहने सम्भावना नरहेको वार्ता समितिका नेताहरू बताउँछन्। रावल भने आफूले विगतमा गल्ती नगरेको दाबी गर्दै आएका छन्।

दुवै पक्ष लचक

समस्या ओली-रावलबीचमै हो। रावलको शैलीमाथि ओली सधैँ प्रश्न गर्थे। प्रतिनिधिसभा निर्वाचनमा अछामबाट टिकट नपाएपछि ओली-रावल सम्बन्ध बिग्रिएको हो। अछाम एमालेले ‘सर्वसम्मत उम्मेदवार सिफारिस’ गरेको थियो। तर ओली आफैँ लागेर अर्कै उम्मेदवारलाई टिकट दिए। रावलले पत्रकार सम्मेलन गरेर ओलीको चर्को आलोचना गरेका थिए।

टिकट नपाएको झोंकमा रावलले एमाले छाड्ने अनुमान थियो। अन्ततः रावलले एमालेमै रहने निर्णय गरे। ‘एमालेलाई सुदूरपश्चिममा धेरै घाटा लागिसक्यो। थप क्षति व्यहोर्न चाहँदैन,’ राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘रावल पनि अब अन्यत्र जाने बाटो देख्दैनन्। उनी बरु एमालेमै संघर्ष गर्न तयार छन्।’

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार ढलेपछि ओली लचक भएको ओली निकट नेताहरू बताउँछन्। ओलीले माओवादीसँग गठबन्धन गर्दै सुदूरपश्चिम प्रदेश आफ्नो भागमा पारेका थिए। रावललाई ‘ब्याक’ राख्न अर्का एमालेले राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएका थिए।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सुदूरपश्चिममा एमालेका २४ सांसद थिए। यसपटक १० सांसद छन्। संघीय सरकारमा माओवादी केन्द्रसँग गठबन्धन भएपछि ओलीले सुदूरपश्चिम सरकार पार्टीबाट बन्नुपर्ने अडान राखे।

आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका ओलीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिच्क्याउन चाहेनन्। अनि मुख्यमन्त्रीको जिम्मेवारी पाए एमालेका राजेन्द्रसिंह रावलले।

सुदूरपश्चिममा कांग्रेस १९ सिटसहित पहिलो, माओवादी ११ सिटसहित दोस्रो हुँदा एमाले तेस्रो दल बनेको छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै दलले पनि बहुमत नल्याएपछि एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक जना मिलेर सरकार बन्यो। तर विश्वासको मत नपाउँदा रावलको मुख्यमन्त्री पद गयो।

एमालेको सरकार गुमेसँगै ओलीको आलोचना भयो। कतिपयले ओलीले रावललाई चिड्याएकै कारण सिट घटेको भनिएको थियो। भीम रावल भने पार्टी नेतृत्वलाई नै दोष दिन्थे। ‘मेरो कारण सिट घटेको भए, म शक्तिशाली रहेछु त। किन टिकट नदिएको?’ रावल प्रतिप्रश्न गर्थे। उनले पनि अन्यत्र जाने बाटो देखेनन्।

वार्तामा के भयो?

रावल र एमाले वार्ता समितिबीच एमालेको पृष्ठभूमिको चर्चा भएको थियो। एमाले संस्थापक पक्षीय स्रोतका अनुसार रावलले एमालेमा आफ्नो हक रहेको दाबी गरेका थिए।

एमाले संस्थापन पक्षले रावललाई सक्रिय जिम्मेवारीमा फर्किन आग्रह गरेको थियो। वार्तामा रावलले भने गुनासो पोखेका थिए। ‘सबै विषयमा छलफल भयो। उहाँले पनि गल्ती महसुस गर्नुभयो,’ वार्ता समिति सदस्य थापाले हिमाल प्रेससँग भने, ‘उहाँ(रावल) पनि अरूतिर जाने कुरा छैन। एमालेमै रहनुहुन्छ।’ वार्तामा रावलले पार्टीमा सक्रिय जिम्मेवारी नपाएको गुनासो पोखेका थिए।

के छ त रावलको माग?

रावल एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग हारेका थिए। अध्यक्षमा लडेको व्यक्ति स्वतः केन्द्रीय सदस्यमा उम्मेदवारी दिनसक्ने एमालेको विधानमा छ। तर रावलले भने अध्यक्षमा बाहेक आफू नभिड्ने भन्दै केन्द्रीय सदस्य बनेनन्।

एमाले स्रोतका अनुसार रावल वरिष्ठ नेताको माग गरिरहेका छन्। ‘एमालेमा अध्यक्ष हारेको व्यक्ति वरिष्ठ नेता बन्ने चलन छ। त्यो जिम्मेवारी दिनुपर्छ भन्ने कुरा छ,’ एक नेताले भने, ‘त, सहज छैन। पार्टी विधानमा पदाधिकारी मनोनीत हुने व्यवस्था छैन। निर्वाचित मात्र हो।’

रावलले एमालेको विगत सम्झाउँदै सोही पद माग गरेका हुन्। अघिल्लो कार्यकालमा पनि अध्यक्षमा हारेका ओली वरिष्ठ नेता बनेका थिए। एमाले नेता कर्ण थापाले भने पहिलो बैठकमा रावलले पद नमागेको बताए। ‘उहाँसँग पार्टीकै कुरा गर्नुभयो। पदको कुरा भएन’, मल्लले भने।

रावल पक्षीय नेता एकिन्द्र कुँवरले पनि रावलले पद नमागेको दाबी गरे। उनका अनुसार रावलले पार्टी विधानअनुसार चल्नुपर्ने र राष्ट्रका बारेमा गम्भीर बन्नुपर्ने सुझाव दिएका थिए। रावललाई उधृत गर्दै उनले भने, ‘पद भनेको आवश्यकताले निर्धारण गर्छ। मुख्य कुरा होइन’

पहिले फकाउने अनि कारबाही!

एमालेले गठन गरेको वार्ता समितिमा रावलसँग ‘राम्रो सम्बन्धन नभएका’ नेताहरू छन्। संयोजक विष्णु पौडेलसँग त केही समयअघि रावलको ‘वाक्युद्ध’ चलेको थियो।  ‘मिसन ग्रासरुट’ का लागि पौडेल सुदूरपश्चिम जाँदा रावलको विपक्षमा बोलेका थिए। रावल पक्ष कार्यकर्ताले कार्यक्रम स्थलमा तोडफोडसमेत गरेका थिए। त्यसपछि रावलले पत्रकार सम्मेलन गरेर ‘एमालेले पार्टीबाट घचेट्न खोजेको’ आरोप लगाएका थिए।

समिति सदस्य लेखराज भट्टसँग पनि रावलको खास राम्रो सम्बन्ध नरहेको एमाले स्रोतको दाबी छ। अघिल्लो कार्यकालमा सुदूरपश्चिम इन्चार्ज नदिएको भन्दै रावलले असन्तुष्टि जनाएका थिए। तत्कालीन नेकपा विभाजित बन्दा भट्ट एमालेमै बसेका थिए।

भट्ट-रावल द्वन्द्व लामो समय चर्कियो। यता कर्ण थापा समेत सुदूरपश्चिम प्रदेशकै नेता हुन्। मल्ल र रावल पार्टीमा अलगअलग गुटमा छन्। मल्ल ओलीपक्ष नेता हुन् भने रावल माधव नेपाल पक्ष नेता हुन्।

रावललाई सहमतिमा ल्याउन प्रयत्न गरिने नभए अनुशासनको कारबाही गर्ने तयारी एमालेको छ। ‘रावलजीबाट पहिले पनि अनुशासनहीन काम भएकै हुन्। अब नहोस् भन्ने छ,’ एमालेका एक पदाधिकारीले भने, ‘अहिलेसम्म पार्टीले उहाँ (रावल)लाई केही गरेको छैन। तर अब पनि यस्तो भए कारबाही गर्नैपर्ने हुन्छ।’

प्रकाशित: ८ वैशाख २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =