एमालेले कांग्रेसलाई भन्यो : सत्ता बाहिर हुँदा बेचैनी छ

हिमाल प्रेस २४ फागुन २०८० १४:२३
46
SHARES
एमालेले कांग्रेसलाई भन्यो : सत्ता बाहिर हुँदा बेचैनी छ

काठमाडौँ- सत्तासाझेदार दल नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन्। सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुबेको र चोट लागेको उनको टिप्पणी छ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस सांसद रमेश लेखकले भन्दा पछि बोलेका थिए। उनले ‘कति गहिरो पीडा र घाउ लागेको रहेछ भन्ने अभिव्यक्ति लेखकबाट आएको’ बताए।

‘घाउमा मलमपट्टी गर्नका लागि राम्रा डाक्टर साथमा लिएर सहकार्य गर्न प्रमलाई आग्रह गर्दछु र त्यो अभियानमा हाम्रो साथ चाहिए एमाले याद गर्नुहोला,’ उनले भने, ‘उहाँ (रमेश लेखक)ले यो तहको पीडा र छटपटी यो तहको आक्रोश र बेचैनी प्रहार गर्नुपर्ने थिएन।’

नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको उनले उल्लेख गरे। कुनै दलहरूका बीचमा सरकार निर्माण र सञ्चालनको कार्य सामान्य भएको उनले बताए।

‘कि त गठबन्धन बनाउन पाइन्छ केवल नेपाली कांग्रेससँग मात्र गठबन्धन गर्नुपर्छ भन्ने लेख्नुपर्दथ्यो। यो परिवर्तनलाई एउटा ओठे अभिव्यक्ति हैन, साधारण र स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्छ। त्यही रूपमा ग्रहण गर्नुपर्छ,’ उनले भने।

पौडेलले ‘एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति होला ?’ भन्दै कटाक्ष गरे। ‘३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला ?,’ उनले भने।

प्रकाशित: २४ फागुन २०८० १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one − one =