एउटा विशेष जित

हिमाल प्रेस ५ वैशाख २०८० २२:४९
312
SHARES
एउटा विशेष जित मनाङविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै आर्मीका खेलाडी

काठमाडौँ- घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी क्लब जत्तिको सफल अरु छैनन्। सहिद स्मारक ए डिभिजन लिग सर्वाधिक आठ पटक जितेकाले, मनाङलाई सबैभन्दा सफल भन्न धक मान्नु पार्दैन। कम्तीमा लिगको दुई कालखण्डमा मनाङको जगजगी थियो। पहिलो कालखण्ड भनेको २०४० को दशक। अनि दोस्रो कालखण्ड चाहिँ छरिएको छ।

२०४० को दशकमा लगातार तीन पटक लिग जितेको मनाङ २०५७, २०६० र २०६२ मा पनि च्याम्पियन बन्यो। त्यसपछि लिग विजेताका रुपमा मनाङ २०७० मा मात्र फर्कन सक्यो। पाँच वर्षपछि भएको लिग पनि मनाङले उचाल्यो।

जे होस्, नेपाली फुटबलमा मनाङको स्वर्णिम इतिहास छ। मनाङको इतिहास त्यसबेलाका खेलाडीहरूबिना किन कोरिन्थ्यो र। मनाङको इतिहासलाई एक महाकाव्य मान्ने हो भने, एउटा खण्ड लेखनको श्रेय नवीन न्यौपानेलाई पनि जान्छ।

नवीन लामो समय मनाङबाट खेले। नक्साल युवा मण्डलबाट करियर सुरु गरेका उनी २०५५ मा मनाङसँग जोडिएका थिए। २०६३ सम्म निरन्तर मनाङबाट खेले। बीचमा न्युरोड टिम एनआटी र हिमालयन शेर्पा क्लब पुगे। अनि २०६९ मा भने मनाङ नै फर्किए। २०५७, ०६०, ०६२ र ७० मा मनाङलाई लिग च्याम्पियन बन्न याेगदान गरेका नवीनको प्रशिक्षण करियरको सुरुवात पनि त्यहीबाट भएको हो।

नवीन खेल्दा खेल्दै प्रशिक्षक बने। खासमा उनलाई यो बाध्यता आइलाग्यो। २०७० को लिग दौरान रेफ्री सुदीश पाण्डेलाई हात हालेको आरोपमा एक वर्ष निलम्बनमा परेपछि उनीसामु बाँकी विकल्प प्रशिक्षक बन्ने नै थियो। प्रशिक्षक बन्नसाथ उनको पहिलो प्रतियोगिता थियो, एएफसी प्रेसिडेन्ट कप।

विशेष परिस्थितिमा प्रशिक्षण करियर सुरु गरेका नवीनको काँधमा अहिले त्रिभुवन आर्मी फुटबल क्लबको जिम्मेवारी छ। २०७३ देखि उनी त्यही छन्। आर्मीलाई उनले लिग जिताउन सकेका छैनन्। तर उनको नेतृत्वमा आर्मी उपविजेता भने पटक पटक भइसकेको छ।

गत सिजन आर्मी उपाधि दाबेदार थियो। त्योभन्दा अघिल्लो सिजन पनि। यसपालि भने आर्मी दाबेदार होइन। यसको मुख्य कारण, टिममा भएको परिवर्तन हो। मुख्य खेलाडीहरू विदेशीएपछि आर्मी पहिलेभन्दा कमजोर बनेको छ। नवीन आफैँले पनि भनेका छन्, ‘आर्मी यसपालि उपाधि होडमा कमजोर छ।’

नयाँ सिजनको सुरुवात आर्मीले मजबुत ढंगमा गरेको होइन। आर्मीले सुरुवाती पाँच खेलमध्ये दुईमा मात्र जित हात पार्न सक्यो। पाँचौँ चरणमा फ्रेन्ड्सलाई हराउन आर्मीले आतिरिक्त समयमा मात्र निर्णायक गोल गरेको थियो। त्यसपछि आर्मी थ्रीस्टार क्लब र खुमलटार युवा क्लबसँग पराजित भयो।

नवीनको पूर्वक्लब मनाङको भने लिगमा सुरुवात बेजोड रह्यो। उसले सुरुका पाँच खेलमध्ये तीन खेल जितेको थियो। सातौँ चरणसम्म अपराजित मनाङ आठौँ चरणबाट भने ओरालो लाग्न थालेको हो। सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबसँग हारेको मनाङ मंगलबार आर्मीसँग १–० ले हार्‍यो। निर्णायक गोल सुदिल राईले गरे। जितपछि आर्मी चौथो स्थानमा उक्लियो। मनाङ भने पाँचौँ स्थानमा झरेको छ। भलै यी दुई क्लबको अंक बराबर छ।

‘मनाङ ठूलो टिम हो। यस्तो ठूलो टिमबाट तीन अंक खोस्दा विशेष अनुभव भइहाल्छ,’ नवीनले भने। नवीनका लागि यो जित विशेष किन पनि थियो भन्दा उनले लिगमा प्रशिक्षकका रुपमा मनाङलाई पहिलो पटक हराएका हुन्।

उता मनाङको व्यथा आफ्नै खालको छ। मनाङ आफ्नो इतिहासमा दोस्रो पटक सर्वाधिक खराब लयमा छ। किनभने मनाङले दोस्रो पटक मात्र लगातार तीन खेल हारेको हो। यसअघि मनाङ सरासर तीन खेलमा पराजित भएको २०६६/६७ मा मात्र हो। त्यसबेला मनाङले आरसीटी, आर्मी र नेपाल पुलिस क्लबसँग सरासर हार व्यहोरेको थियो।

कुरा नवीनकै। नवीनका लागि मनाङ फगत ठूलो क्लब मात्र होइन। करियरको ऊर्जाशील आठ वर्ष त्यही बिताएकाले मनाङ नवीनका लागि क्लब मात्र पनि होइन। यो त उनको घर हो। जहाँको स्मृति उनले भुलेका छैनन्। फेरि यो यस्तो स्मृति हो, जुन सफलताले भरिएको छ। यसकारण उनलाई सोध्न करै लाग्यो, पूरानो क्लबलाई हराएको भावनालाई ठूलो क्लबलाई हराएको भावनामा सीमित गर्न मिल्छ त?

यसमा उनको जवाफ कूटनीतिक थियो। सायद व्यावसायिक फुटबलमा यो जायज पनि होला। ‘आज खेलाडी नै हुन्थेँ भने त अर्कै किसिमको भावना आउँथ्यो होला। तर म त प्रशिक्षक हो। यसकारण मैले सोच्ने प्रशिक्षक भएरै हो। त्यही भएर मैले भनेको हो, मनाङ जस्तो ठूलो क्लबलाई हराउँदा विशेष महसुस हुन्छ,’ नवीनले भने।

मनाङका मुख्य प्रशिक्षकले सुरुमा भनेकै हुन्, यसपालि लक्ष्य उपाधि होइन। कारण पनि पटक पटक दोहोर्‍याइएकै छ, मनाङमा अहिले घरेलु स्टार छैनन्। यो क्लब युवा नेपाली खेलाडी र विदेशी खेलाडीमा निर्भर छ। नेपाली खेलाडी शारीरिक रुपमा कमजोर देखिन्छन्। होचा पनि छन्। यसकारण ‘फिजिकल गेम’ खेल्नु परे मनाङ विदेशी खेलाडीमाथि भर पर्छ। तर मनाङले यो सिजन ‘फिजिकल’ होइन ‘टेक्निकल गेम’ मा ध्यान दिएको छ। यो उसका लागि बाध्यता हो।

भलै मनाङले आर्मीविरुद्ध आफ्नो रणनीति परिवर्तन गर्‍यो। यसपटक लामा पास र काउन्टर अट्याकको रणनीति अपनायो। तर सफल भएन। किरण आफैँले पनि यो कुरा स्वीकार गरे। उसो त थ्रीस्टार, सातदोबाटो र जावलाखेलसँगको हारमा पनि मनाङको रणनीतिले काम गरेको होइन।

नवीनलाई मनाङको पक्कै माया लाग्दो हो। भलै उनी मनाङमाथिको जितपछि उज्ज्यालो देखिए। हुन त उनी मनाङलाई हराएकै कारण प्रशन्न देखिएका होइनन्। बरु ठूलो टिमबाट तीन अंक खोसेका कारण रमाएका हुन्। फेरि यो जितले उनलाई राहत पनि दिएको छ। ‘१० खेलबाट १५ अंक पुग्यो। बल्ल अलि ढुक्क भएको छ,’ नवीनले भने।

जब नवीन मनाङबाट खेल्थे, त्यसबेला मनाङ लगभग राष्ट्रिय टिमसरह हुन्थ्यो। पहिलो एघारमा मात्र होइन, बेन्चमा पनि राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन्थे। एकसेएक स्टारले भरिने मनाङ यसपल्ट फरक छ। मुख्य प्रशिक्षक किरण आफैँले पनि भनेका छन्, ‘यसपालि टिम फरक रणनीतिका साथ बनाइएको छ।’

नवीन किरणसँग सहमत छन्। ‘मनाङ हामीले खेल्ने बेलाको जस्तो छैन। यसपालि औसत टिम छ। तर नतिजा भने राम्रो निकालेको छ,’ उनले पूर्वक्लबको प्रशंसा गर्दै भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =