सरकारले बन्द गरेको फार्मेसीबाट खुल्लेआम औषधि बिक्री

हिमाल प्रेस ५ वैशाख २०८० २२:१३
2
SHARE
सरकारले बन्द गरेको फार्मेसीबाट खुल्लेआम औषधि बिक्री

सोलुखुम्बु- औषधि व्यवस्था विभागको विराटनगर कार्यालयले ताला लगाएको सोलुखुम्बुको फार्मेसीले खुल्लेआम औषधि बिक्री गरिरहेको छ। सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलमा विभागको विराटनगर कार्यालयले गत चैत २३ गते तालाबन्दी गरेको थियो।

अनुगमनका क्रममा विभिन्न कमजोरी औँल्याई तत्काललाई औषधि बिक्री गर्न रोक लगाउँदै ताला लगाइएको थियो। तर उक्त फार्मेसीले अहिले निर्वाधरूपमा औषधि बिक्री गरिरहेको छ।

अनुगमनका क्रममा करिब चार वर्षदेखि फार्मेसी नवीकरण नगरेको तथा औषधि पसलबाटै निर्माण सामग्रीदेखि किराना सामान राखेर बिक्री गरेको पाइएकाले औषधि पसलमा विभागले ताला लगाएको थियो।

सबै सामग्री एकै ठाउँमा राखेर बिक्री गर्न नपाउने प्रावधान भए पनि सल्लेरी मेडिकल हलले त्यसको अवज्ञा गर्दै एकै स्थानबाट सबै सामग्री बिक्री गरिरहेको पाइएको विभागको विराटनगर कार्यालयले जानकारी दिएको छ।

उक्त कमजोरी सुधार गर्न पटकपटक समय दिँदासमेत अटेर गरेकाले कार्यालयमा नै उपस्थित हुन सात दिने अल्टिमेटमसहित चैत २६ गते औषधि पसलतर्फको द्वारमा ताला लगाइएको फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले बताए।

उक्त फार्मेसीले २०७५ पछि दर्ता नवीकरण नगरेको पाइएको थियो। औषधि पसलतर्फको ढोकामा ताला लगाए पनि अर्कोतर्फको ढोका प्रयोग गरी उक्त फार्मेसीले औषधि बिक्री गरिरहेको छ।

विभागले भने उक्त फार्मेसी सम्पर्कमा नआएको बताएको छ। फार्मेसीको नवीकरण फेल भइसकेको र आफूले पसल सञ्चालक भगवती गुरुङ (बज्राचार्य) लाई पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको औषधि व्यवस्था कार्यालयका प्रमुख टेकेन्द्र मिश्रले बताए।

नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको भन्दै प्रहरीको सहायता लिएर सञ्चालकलाई नै पक्राउ गर्न लगाउनुको विकल्प नरहेको उनको भनाइ छ। रासस

प्रकाशित: ५ वैशाख २०८० २२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =