नौ खेलाडीमा सीमित संकटासँग हार्‍यो एपीएफ

हिमाल प्रेस ३ वैशाख २०८० १९:५३
8
SHARES
नौ खेलाडीमा सीमित संकटासँग हार्‍यो एपीएफ

काठमाडौँ- एपीएफ फुटबल क्लबले नौ खेलाडीमा सीमित संकटा क्लबसँग आइतबार १-० को पराजय व्यहोरेको छ। सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणको खेलमा संकटालाई जित दिलाउन जुनियर ओन्गुएने एन्केंगेले निर्णायक गोल गरे। च्यासल रंगशालामा हात पारेको यो जितले संकटालाई चौथो स्थानमा पुर्‍याएको छ।

लगातार दोस्रो जित दर्ता गरेको संकटासँग नौ खेलबाट १५ अंक छ। उता एपीएफ भने नवौँ स्थानमा यथावत् छ। गत बुधबार हिमालयन शेर्पा क्लबसँग ५-३ ले हारेको एपीएफ पछिल्लो समय खस्किएको प्रदर्शन गरिरहेको छ। दुई विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै थ्रीस्टार क्लबलाई पराजित गरेको एपीएफले चार खेलमा पराजय भोगिसकेको छ।

संकटाका गोलरक्षक र एपीएफका गोलरक्षकबाहेकका खेलाडीको जर्सी रंग जुधेपछि खेल आधा घण्टा ढिलो सुरु भएको थियो। संकटाका गोलरक्षक टिकेन्द्र थापा सेतो टिसर्ट लगाएर मैदान ओर्लन तयार भएपछि खेल सुरु भएको थियो।

संकटाले एक मात्र गोल पेनाल्टीमा गरेको थियो। एपीएफका एडामा डौम्बियाले आयुष घलानलाई लडाएपछि संकटाले पेनाल्टी पाएको थियो। जसमा एन्केंगे असफल भएनन्।

दोस्रो हाफको ६८ औँ मिनेटमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। पहिल्यै पहेलो कार्ड पाइसकेका मनिष डाँगी र दीपेश धिमालबीच घम्साघम्सी परेपछि दुवैलाई रातो कार्ड देखाइएको थियो। आन्द्रे थिएरी बियिकले ७६ औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि संकटा नौ खेलाडीमा सीमित भयो।

प्रकाशित: ३ वैशाख २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =