पोखरामा फेवा नववर्ष महोत्सव सुरु

हिमाल प्रेस २९ चैत २०७९ १९:३२
10
SHARES
पोखरामा फेवा नववर्ष महोत्सव सुरु

पोखरा– पोखराको पर्यटन व्यवसाय चलायमान बनाउन यहाँका पर्यटन व्यवसायीले लेकसाइडमा फेवा नववर्ष महोत्सव आयोजना गरेका छन्। नयाँ वर्ष ०८० अवसरमा होटल संघ पोखरा नेपालले १८ औं फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु गरेको हो। ३ दिनसम्म चल्ने महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षकका रूपमा रहने छन्।

खानाका विविध परिकार र सांस्कृतिक प्रस्तुति तथा पञ्चेबाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने आयोजकले जनाएको छ। खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भएको महोत्सवमा होटलले २० प्रतिशत छुट प्रदान गरेको आयोजक संघका अध्यक्ष एवम् महोत्सव संयोजक लक्ष्मण सुवेदीले बताए।

कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन हुँदा र हजारौंको रोजगारी गुम्दा नकारात्मक रूपमा प्रभावित पर्यटन व्यवसाय पुनरुत्थान गर्न महोत्सवले भूमिका खेल्ने उनको भनाइ छ।

बुधबार हल्लनचोकदेखि विभिन्न झाँकीसहित र्‍याली निकालेर सुरु गरिएको महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय सहर घोषणा गर्ने प्रस्तावको फाइल मुख्य सचिवको टेबलमा पुगेर रोकिएको बताए।

संघीय सरकारले घोषणा नगरे प्रदेश सरकार र महानगर मिलेर सो घोषणा गरिने उनले स्पष्ट पारे। यो घोषणसँगै रत्न मन्दिर र हिमागृह पनि सर्वसाधरणका लागि खोल्ने विषय जोडिएको उनले सुनाए। पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने विषयमा सरकारसँग संवाद गरिएको बताउँदै उनले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यस विषयमा गम्भीर बन्नुपर्ने उल्लेख गरे।

नक्सा पास नभएका पोखराका घरहरूले अतिरिक्त कर नतिरे भत्काइने उनले बताए।

होटल संघ नेपाल प्रथम उपाध्यक्ष विनायक शाहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशसम्म उडानका लागि सरकार र निजी क्षेत्र सबै मिलेर पहल अगाडि बढाउनुपर्ने भनाइ राखे। कोभिडपछि देश अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले मार्गदर्शन प्रदान गर्नुपर्ने उनले बताए। अबको राष्ट्रिय कार्यनीतिबारे स्पष्ट हुनुपर्ने उनले जनाए।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले कुटनीतिक प्रयास गरेर भए पनि पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान यथाशीघ्र सञ्‍चालन गर्न माग राखे। पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्र्राष्ट्रिय उडान छिटोभन्दा छिटो सञ्‍चालन गर्न प्रधानमन्त्रीलाई नै भेटेर कुरा राखिएको स्मरण गराए।

प्रकाशित: २९ चैत २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =