मनाङ अझै अपराजित, जावलाखेलकाे चाैथाे जित

हिमाल प्रेस २४ चैत २०७९ २१:५४
24
SHARES
मनाङ अझै अपराजित, जावलाखेलकाे चाैथाे जित

काठमाडौँ- मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। अपराजित शृंखलालाई बलियो बनाउने क्रममा मनाङले शुक्रबार फ्रेन्ड्स क्लबलाई २-० ले पराजित गरेको हो। यो जितले मनाङलाई शीर्षस्थानमा पुर्‍याएको छ।

शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले खुमलटार युवा क्लबसँग २-२ को बराबरी खेल्यो। जावलाखेललाई हारबाट जोगाउन फोडे फोफानाले ८५ औँ मिनेटमा बराबरी गोल गरेका थिए।

शुक्रबारका खेलअघि जावलाखेल शीर्षस्थानमा थियो। तर जावलाखेल नवौँ स्थानको खुमलटारसँग अंक बाँड्न बाध्य भएपछि मनाङले पहिलो स्थानमाथि कब्जा गरेको हो। यद्यपि मनाङ र जावलाखेलको अंक समान १४-१४ छ। गोल अन्तरमा मनाङले जावलाखेललाई पछि पारेको हो। फेरि मनाङले जावलाखेलको भन्दा एक खेल कम खेलेको छ।

तेस्रो र चौथो स्थानमा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लब छन्। दुवैले ६-६ खेल खेल्दै १२-१२ अंक जम्मा गरेका छन्। छैटौँ स्थानमा नेपाल एपीएफ क्लब छ। एपीएफले १० अंक बटुलेको। १० अंक नै भएको थ्रीस्टार छैटौँ स्थानमा छ।

पराजित फ्रेन्ड्स भने १२ औँ स्थानमा छ। फ्रेन्ड्सले ६ खेल खेलिसक्दा चार अंक मात्र बटुलेको छ। जुन १३ औँ स्थानको एनआरटीको भन्दा एक अंक मात्र बढी हो। जावलाखेललाई पराजित गरेको फ्रेन्ड्सले हारेको खेल संख्या चार पुगिसकेको छ।

च्यासल रंगशालामा मनाङलाई विजयी बनाउन कोफी टिमोथी कौडोले दुई गोल गरे। अफ्रिकी देश टोगोका कौडो ३४ र ५२ औँ मिनेटमा गोल गरेका थिए। जारी लिगमा कौडोको गोल संख्या तीन पुगेको छ। उनले यसअघि न्युरोड टिम एनआरटी विरुद्ध गोल गरेका थिए। त्यो खेलमा मनाङ ३-१ ले विजयी भएको थियो।

यो सिजन लिग जित्ने दबाबबिना खेलिरहेको दाबी गर्ने मनाङ अपराजित छ। जारी लिगमा एकै खेल नहार्ने मनाङबाहेक अर्को टिम चर्च ब्वाइज हो।

घरेलु फुटबलमा स्थापित नभइसकेका खेलाडीको बाहुल्य भएको मनाङ पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा संकटा क्दबलाई पराजित गरेको मनाङले च्याम्पियन मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछिका सबै खेलमा मनाङ विजयी भएको छ।

यसबीचमा मनाङले नौ गोल गरेको छ भने तीन गोल खाएको छ। मनाङका लागि कौडेबाहेक अर्का विदेशी खेलाडी सायिदजामोल डाभ्लाट्जोनोभले पनि तीन गोल गरिसकेका छन्। मनाङबाट गोल गर्ने नेपाली खेलाडी जम्मा दुई जना छन्। ती हुन्, रोशन राना मगर र कमल थापा। रोशनको नाममा दुई गोल छ।

जावलाखेलमा निर्णायक विदेशी खेलाडी नै

एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले ३३ औँ मिनेटमा अग्रता लिएको थियो। अफ्रिकी देश लेसोथोका सेन्ट्रल फरवार्ड एन्कोटो मासोअबीले जावलाखेललाई अघि बढाएका थिए।

तर गोल खाएको दुई मिनेटपछि नै खुमलटार अभिषेक लिम्बुको गोलमार्फत खेलमा फर्किएको थियो। दोस्रो हाफको ६३ औँ मिनेटमा मेसौके ओलौमौउले खुमलटारको अग्रता दोब्बर बनाए। क्यामरुनका ओलौमौउले लिगमा तेस्रो गोल गरेका हुन्।

जारी लिगमा तेस्रो जितको नजिक पुगेको खुमलटार ८५ औँ मिनेटमा स्तब्ध बन्यो। फोफानाले जावलाखेलका लागि बराबरी गोल गरेका थिए।

लिगमा सबैभन्दा बढी गोल गरेको टिम हो, जावलाखेल। जावलाखेलले नौ गोल गरिसकेको छ। जसमध्ये मासोअबीले चार र फोफानाले तीन गोल गरेका छन्। रोचक त के छ भने, यी दुईले जावलाखेलले आफ्नो पछिल्लो खेलमा सातदोबाटोलाई २-१ ले हराउँदा पनि गोल गरेका थिए। मासोअबीले त लगातार तीन खेलमा गोल गरेका छन्।

अग्रपंक्तिका दुई विदेशी खेलाडी चम्किँदा जावलाखेलको रक्षापंक्ति भने तुलानात्मक रुपमा कमजोर देखिएको छ। जावलाखेलले सात खेलमा सात गोल नै खाएको छ।

प्रकाशित: २४ चैत २०७९ २१:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =