होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन पोखरामा हुने

हिमाल प्रेस २३ चैत २०७९ २०:४१
10
SHARES
होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन पोखरामा हुने

पोखरा– होटल व्यवसायी महासंघको गण्डकीको पहिलो महाधिवेशन पोखरामा हुने भएको छ। यही २५ र २६ चैतमा पोखरामा हुने महाधिवेशनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बिहीबार पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष अर्जुन चोख्यालले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा आर्थिक संकटमा परेका व्यवसायीको हकहितमा छलफल गर्नुका साथै आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ।

महाधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र स्थानीय तह इकाइका १ सय २० प्रतिनिधि र पर्यवेक्षकले भाग लिने छन्। महासंघमा होटल, रेष्टुँरा तथा पर्यटन व्यवसायीसँग सम्बन्धित १५ संस्था आबद्ध छन्।

महासंघको तथ्यांकअनुसार गण्डकीमा हाल ६ हजार ५० होटल सञ्चालनमा छ। त्यसमा ५४ हजार ५ सय जना बढीले रोजगारी पाएको अनुमान छ। देशभर ८० हजार होटल सञ्‍चालित रहेको महासंघ अध्यक्ष चोख्यालले बताए।

पोखरा होटल संघ नेपालमा समेटिन नसेकेका साना ठूला सबै प्रकारका होटलहरू यहाँ आबद्ध छन्। महासंघ अध्यक्ष चोख्यालका अनुसार मुलुकको संघीय संरचनाअनुसार गठित संस्थाको मूल उद्देश्य व्यवसायीहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गरी पर्यटन व्यवसायलाई गुणस्तरीय एवम् मर्यादित बनाउनु हो। ‘हान होस् वा अरू संस्था हुन् हाम्रो सरोकारको विषय भएन, यो विशुद्ध रूपमा व्यवसायीको हकहितको लागि जन्मिएको संस्था हो,’उनले भने।

२ वर्षअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा महासंघ गण्डकी दर्ता भएको हो। पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष चोख्यालले छोटो अवधिमै जिल्ला हुँदै स्थानीय तहसम्म संगठन विस्तार गर्न सफल भएको उल्लेख गरे।

‘प्रदेश सरकार, स्थानीय तहसहित सम्बद्ध संघसंस्था निकायसँग सहकार्य गर्दै होटल तथा रेष्टुराँ व्यवसायको प्रवर्द्धनमा महासंघले पहल लिँदै आएको छ,’ उनले भने।

कोरोनाको बेला महासंघले समस्यामा परेका व्यवसायीलाई गण्डकी प्रदेश सरकारबाट वितरण गरिएको बिनाव्याज कर्जासहितको आर्थिक सहुलियत प्रदान गर्न तथा विविध कार्यमा समन्वय गरेको महासंघको दाबी छ।

साइमान पार्टी प्यालेसमा हुने महाधिवेशनको २५ चैतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्ने तयारी छ। महाधिवेशनमा गण्डकी प्रदेशको कला, संस्कृति र पहिचान झल्किने सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने महासंघ महासचिव देवेन्द्र लम्सालले बताए।

महाधिवेशनका लागि आर्थिक एवम् खाजा/खाना व्यवस्थापनमा दुर्गाविलास भट्टराई, प्रभातफेरी, झाँकी तथा आवास व्यवस्थापनमा कमलप्रसाद न्यौपाने, अतिथि सत्कार, सञ्‍चार समन्वयमा गौरीश्वर न्यौपाने, सचिवालय व्यवस्थापनमा गोपाल पौडेल संयोजक तोकिएका छन्।

प्रकाशित: २३ चैत २०७९ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =