मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनी विकास कोषबीच सम्झौता

विनोद परियार २२ चैत २०७९ १८:०५
68
SHARES
मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनी विकास कोषबीच सम्झौता

लुम्बिनी– लुम्बिनीमा दानवपात संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ।

बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

राष्ट्र बैंकको परिवर्त्य सूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सीआइएमबी बैंक सिंगापुर पठाउने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

नेपाल राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन। दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ।

लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दानवापतको रकम राष्ट्र बैंकको परिवर्त्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।

१ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दानवापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवर्त्य सूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्ने गरी सम्झौता हुनु ठूलो उपलब्धि भएको उनले जानकारी दिए।

पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुसलगायत २० देशका करिब ७४ लाख नेपाली रुपैयाँ सटही हुने कोषले जनाएको छ।

परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारीक रूपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए। कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौता पत्रमा लेखिएको छ।
अमेरिकी डलरमा सटही प्रदान गर्ने भएता पनि अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ।

यो पनि:

लुम्बिनीमा भेटियो सय देशको सम्झना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =