ओलीको आरोप- सोझा मतदाता देखेर उपेन्द्र बारा आएका हुन्

हिमाल प्रेस २२ चैत २०७९ १७:४१
12
SHARES
ओलीको आरोप- सोझा मतदाता देखेर उपेन्द्र बारा आएका हुन् फाइल तस्बिर।

बारा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव यसअघि सबै क्षेत्रबाट पराजित भएपछि यसपटक बारा- २ मा उपनिर्वाचन लड्न आएको आरोप लगाएका छन्।

बुधबार बारास्थित गढीमाईमा आयोजित क्षेत्रीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘उहाँ पहिला मोरङबाट चुनाव लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटा सोझा मतदाता छन् भनेर अहिले बारा आइपुग्नु भएको छ,’ ओलीले भने, ‘उहाँले जितेपछि फुलमाल र अबिर लगाउनुबाहेक केही गर्नु हुन्न। उहाँले विकास गर्नुहुन्न।’

बारा २ मा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल यहाँको विकास र समृद्धिका लागि योग्य उम्मेदवार भएको उनको भनाइ छ। ‘मलाई पुरुषोतम पौडेलले जितिसकेको महसुस भएको छ,’ उनले भने,’खाली वैशाख १० गतेको मतदानको दिन मात्रै पर्खिनुपर्ने छ।’

उनले एमालेका सबै कमिटीका कार्यकर्तालाई पौडेलको पक्षमा समर्थन जनाउँदै चुनावी अभियानमा लाग्न निर्देशन दिए।

‘हाम्रो पार्टी एकजुट भएर जनताको बिचमा जाँदैछ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,’तपाईंहरू जनताबीच संगठित भएर योजनाबद्ध ढंगले जानुहुनेछ भन्ने मैले ठानेको छु। जातिविरोधी, सांप्रदायिक कुराहरूप्रति चनाखो रहनुहोला।’

प्रकाशित: २२ चैत २०७९ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =