सत्तागठबन्धन पाँच वर्षसम्म कायम रहन्छ : माधव नेपाल

हिमाल प्रेस २२ चैत २०७९ १५:४१
6
SHARES
सत्तागठबन्धन पाँच वर्षसम्म कायम रहन्छ : माधव नेपाल

काठमाडौँ– सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्। बुधबार पार्टी केन्द्रीय प्रचार विभागले काठमाडौँमा आयोजना गरेको सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

वर्तमान सरकार र सत्तारूढ गठबन्धन कहिलेसम्म रहन्छ भनेर कसैले आशंका गरेको उल्लेख गर्दै सत्तागठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन उनले जवाफ दिए।

मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारूढ गठबन्धन अगाडि बढेको र सोहीअनुरूप काम गरिरहेको उनले जिकिर गरे।

‘यो कति दिनसम्म रहन्छ भन्ने आशंका छ। यसको लामो आयु छैन। कसैकसैले मिति पनि तोकेर त्यसभन्दा बढी चल्न सक्दैन भन्ने गरेका छन्। त्यसलाई पत्याउने अवस्था छैन। तपाईंहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ,’ उनले भने।

सत्तागठबन्धन लामो समयसम्म रहने हुँदा देशमा राजनीतिक स्थायित्वको नेतृत्व पनि यही गठबन्धनले गर्ने उनले बताए। ‘देशको राजनीतिक स्थायित्व ध्यानमा राखेर हामीले सत्तागठबन्धनलाई अगाडि बढाएका छौं। मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिबद्धता गरेका छौं,’ नेपालले भने।

सत्तागठबन्धन जनताको जनादेशअनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने उनले बताए।

प्रकाशित: २२ चैत २०७९ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =