उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा छैनन् माओवादीका उम्मेदवार

हिमाल प्रेस १९ चैत २०७९ २०:०९
70
SHARES
उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा छैनन् माओवादीका उम्मेदवार

काठमाडौँ- सत्ता नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले वैशाख १०मा हुने उपनिर्वाचनमा उम्मेदवार नै नउठाउने भएको छ। तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनमा माओवादी अन्य दलका उम्मेदवार जिताउन भर्‍याङ मात्रै बन्ने भएको हो।

सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्ने समय छ। यो समयमा माओवादीका नेता कार्यकर्ता नेपाली कांग्रेस र जसपाका उम्मेदवारको पछिपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।

नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, राप्रपा, जसपालगायतले उम्मेदवारको टुंगो लगाएर मनोनयनको तयारी गरिरहेका छन्।

कांग्रेसले तनहुँ-२ मा नेविसंघका पूर्वअध्यक्षसमेत रहेका पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ। यहाँ माओवादी, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन दलले उम्मेदवार उठाएनन् भट्टराईलाई समर्थन गरे।

चितवन-२ मा पनि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ। यहाँ पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार छन्। यहाँ पनि माओवादी, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन दलले आफ्ना उम्मेदवार उठाएका छैनन्।

त्यस्तै बारा-२ मा पनि माओवादीको उम्मेदवार छैनन्। बारा-२ मा मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी-२ मा जनमतका अध्यक्षसमेत रहेका सिके राउतसँग पराजित जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार बने।

एमालेले तनहुँमा नेपाल प्रहरीका पूर्वआइजी सर्वेन्द्र खनाल, चितवनमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, बारामा भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन। यहाँ एमालेले उपेन्द्र यादवलाई समर्थन गर्नसक्ने सम्भावना छ।

त्यस्तै रास्वपाले तनहुँमा नेपाली कांग्रेस परित्याग गरेर आएका अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। त्यस्तै चितवनमा पार्टी सभापति तथा मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित रवि लामिछानेलाई नै उम्मेदवार बनाएको छ। उता बारामा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल उम्मेदवार बनेका छन्।

राप्रपाले पनि उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाएको छ। राप्रपाले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनालाल साहलाई उम्मेदवार बनाएको छ।

माओवादीका प्रमुख सचेतकसमेत रहेका पार्टी सचिव हितराज पाण्डेले उपनिर्वाचन हुने तीनमध्ये एक निर्वाचन क्षेत्रमा पार्टीले दाबी गरे पनि सत्तागठबन्धनको समीकरण मिलाउन अन्य दलका उम्मेदवारलाई समर्थन गरिएको बताउँछन्।

‘विभिन्न कारणले उपनिर्वाचनमा माओवादीको आफ्नै उम्मेदवार नहुने भयो,’ उनले भने, ‘गठबन्धनमा रहेका दललाई मिलाउनका लागि पनि माओवादीले अन्य दलकै उम्मेदवारलाई सहयोग गर्नेछ।’

प्रकाशित: १९ चैत २०७९ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =